
घनेन्द्र वाम्वुले राई पूर्वी पहाडको सानो गाउँबाट जीवनको गोरेटो पहिल्याउँदै गरेका प्रतिनिधि उज्यालो पात्र हुन् । हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा, खोटाङनिवासी राईले ग्रामीण जीवनको कठिनभन्दा कठिन आरोह अवरोह पार गर्दै शिक्षाको उज्यालो खोज्न लागिपरे । संवत् २०६६ मा भगवती उच्च माध्यमिक विद्यालय मानेभन्ज्याङ ओखलढुंगाबाट कक्षा १२ सम्मको अध्ययन पार लगाए ।
आम्बासिंह राई र लाछीमाया राईको आठ सन्तानमध्ये अन्तरे छोरा उनले रोजगारीक्रममा लामो समयसम्म देशका विभिन्न ठाउँमा संघर्षको पापड बेल्नसम्म बेले । अन्ततः जीविकोपार्जनको गतिलो शीर्षक यातायात क्षेत्र बनाए । उनले यातायातसम्बद्ध मजदुरको जीवन कति अस्थिर र चुनौतीपूर्ण छ भन्ने प्रत्यक्ष अनुभव गरे । ‘दिनचर्या विडम्बनापूर्ण छ । तलब–भत्ता सुनिश्चित छैन,’ उनले दुःखेसो पोखे, ‘अनि गाडीमालिकसँग गरिएको मौखिक सम्झौतामै सीमित हुनुपर्ने बाध्यता छ ।’ तर, घनेन्द्र वाम्बुले राईजस्ता यातायात मजदुरले गाउँदेखि सहर, सहरदेखि गाउँ जोड्ने काम निरन्तर गर्दै आएका छन् ।
‘पहिलो कुरा बाटो सहज छैन । भाडा महँगो छ,’ उनले वास्तविकता सुनाए, ‘लामो दुरीमा चल्ने गाडीमा निश्चित तालिका छैन । यात्रु प्रतीक्षामा बस्न बाध्य छन् ।’ यातायातमात्र भौतिक साधनको नाम होइन, जनताको जीवनशैलीसँग गाँसिएको गहिरो सामाजिक संरचना भएको उनको मान्यता छ ।

‘गाडीसम्बद्ध मजदुर अलि कम शिक्षित छन्, त्यसको असर गुणस्तरीय सेवामा पर्छ,’ यस क्षेत्रमा देखिएको अर्को गम्भीर पक्ष उजागर गर्दै उनले थपे, ‘अधिकांश मजदुर व्यवसायीसँग असमान सर्तमा आबद्ध हुन बाध्य छन् । श्रमिकका समस्या, असुरक्षा र अधिकारहीनता छँदै छ ।’ नेपालमा सार्वजनिक यातायातको अवस्था उनका लागि मात्र समस्या होइन । सम्पूर्ण यात्रुको साझा पीडा बनेको छ ।
सडक अनुशासन नहुँदा टाढाबाट गन्तव्यसम्म पुग्नुपर्ने यात्रु घन्टौं ढिला पुग्न बाध्य छन् । गन्तव्यमा समयमै पुग्न नसक्ने यात्रुको निराशा र आर्थिक क्षतिको व्यथा निकै नजिकबाट नियालेका उनले यस क्षेत्रमा भोगेका तीता–मीठा अनुभव खुलेरै भन्न सक्छन् ।
‘तर, समस्या समाधान दुवै पक्षको ऐक्यबद्धताबिना सम्भव छैन । यातायात व्यवसायी र मजदुरले अनुशासन, पारदर्शिता र नीतिगत मार्गदर्शनमा भरोसा गर्न आवश्यक छ,’ उनको विश्वास छ, ‘बीमा नभएका गाडी, अव्यवस्थित पार्किङ, टाइम टेबल अभाव, ट्राफिक अनुशासनको कमजोरी यातायात क्षेत्रको दीर्घकालीन समस्या हुन् ।’

सस्तो लोकप्रियताभन्दा सुशासन र मजदुर–व्यवसायीको सहकार्यले मात्र यातायात सेवा जनमैत्री बन्न सक्ने उनको बुझाइ छ । यतिखेर घनेन्द्र वाम्बुले राई कुनै प्रसिद्ध सार्वजनिक नेतृत्वकर्ता होइनन् । न त सञ्चारमाध्यममा छाइरहने अनुहार । तर, उनी त्यस्ता प्रतिनिधि पात्र हुन्, जसको अथक प्रयासले नेपालका सडक सडकजस्तै बन्छन् । उनी त्यस्ता आवाज हुन्, जसले चुपचाप यात्रुलाई गन्तव्यसम्म पुर्याउँछन् । आफू भने गन्तव्यमा पु¥याइरहने पुल बन्दा पनि त्यत्तिकै सन्तुष्ट छन् ।
घनेन्द्र वाम्बुले राईजस्ताले मुलुकको विकासको एक हिस्सा काँध हालेका छन् । तर, राईहरूका कथा–व्यथा कागजमा कम, चस्मा पछाडिका आँखा र चिल्लो सडकभित्रको धुलोमा लुकेर बसेको छ । उनीजस्ता कर्मशील र विवेकी मजदुरको साँचो परिश्रमबारे राज्यले आँखा च्यातेरै हेर्न आवश्यक छ ।



