आठ वर्षदेखि सडक नबनेपछि सडकबाटै वडा कार्यालय सञ्चालन


भक्तपुर । चाँगुनारायण नगरपालिका–६ कार्यालयले सोमबार बिहान १० बजेदेखि नगरकोट सडकमै सेवाग्राहीलाई सेवा दिएको छ । वडाध्यक्ष धनबहादुर लामाले सडकमै मेच, टेबुल र वडाका कागजपत्र लिएर सडकमै बसेर जनतालाई सेवा दिँदै कमलविनायक–नगरकोट सडक निर्माण अलपत्र पार्ने निर्माण व्यवसायी र सरकारप्रति व्यंग्य गरे ।

आठ वर्षदेखि सडक निर्माण अलपत्र पारेर जनतालाई सास्ती दिने निर्माण व्यवसायी शारदा अधिकारीसँगको ठेक्का रद्द गरेर सडक निर्माण छिटो सम्पन्न गर्न माग गर्दै वडाध्यक्ष लामाले सडकबाटै वडाको सेवा दिएको बताए । उनले भने, ‘भक्तपुर–नगरकोट सडक नबन्दा स्थानीयले कति दुःख पाएका छन् । सिंहदरबारमा हुइँकिने मन्त्री, ठेक्का लिएर सडक अलपत्र पार्ने शारदाप्रसाद अधिकारीलाई के थाहा ! स्थानीयले वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर काटेको सास्ती सहन नसकेर त्यसको विरोधमा सडकमै बसेर सेवा दिएको हुँ ।’

‘आफ्नो सांकेतिक विरोधले सरकारलाई सडक निर्माण छिटो सम्पन्न गर्न झकझकाओस्,’ उनले थपे, ‘नौ वर्षसम्म सडक निर्माण अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेर विकल्प खोजोस् ।’

‘सरकारले दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी २०७१ जेठ २२ गते भक्तपुर–नगरकोट सडक निर्माण गर्न शैलुङ कन्स्ट्रक्सनसँग सम्झौता गरेको अहिले आठ वर्ष पूरा भएर नौ वर्ष लागिसक्दा पनि सडक निर्माण सम्पन्न गर्न सकेको छैन,’ उनले सुनाए, ‘जनताले पटक–पटक विरोध गर्दा पनि सरकार यो सडकको म्याद थपिरहने र निर्माण कम्पनी त्यही आडमा लागत बढाइरहने । जनतालाई सास्ती दिइरहने । अब हामी चुप लागेर बस्दैनौं । यो सन्देश दिन चाहन्छौं ।’

सडक अलपत्र पार्ने ठेकेदारलाई सरकारले पुरस्कार दिइरहने प्रवृत्ति हाबी भएको भन्दै उनले आफू वडाध्यक्ष भएपछि सम्बन्धित निकायमा पटक–पटक धाउँदा पनि सडक निर्माणमा चासो नदिएपछि बाध्य भएर सरकारलाई दबाब दिन सडकबाटै सेवा चलाएको उनले प्रस्ट्याए । सरकारले योे सडकखण्ड बन्ने निश्चित नगरेसम्म सडकबाटै वडा कार्यालय चलाएर विरोध गर्ने भन्दै उनले शारदाप्रसाद अधिकारीलाई कारबाही गर्नुपर्ने बताए ।

यसअघि भक्तपुर–नगरकोट सडकखण्डमा स्थानीयले ठेकेदार अधिकारीको फोटो गाडी र भित्ताभित्तामा टाँसेर विरोध जनाएका थिए भने मन्त्रीको गाडी सडकमै रोकेर अवरोध गरेका थिए । सडक नबन्दा वर्षामा सडकबाटै खोला बगेझैं पानी बग्ने, सडक बीचबीचमा भत्किएर पहिरो जाने, स्थानीयको घरभित्रै सडकको पानी पस्ने, सडक हिलाम्मे हुँदा ओहोरदोहोरमा सास्ती हुने र दुर्घटना बढेको स्थानीयले दुःखेसो पोखे ।

प्रतिक्रिया दिनुहोस्