
हङकङ । इतिहासका विविध क्षेत्रमा कलम चलाउँदै आएका लेखक राजकुमार दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’को दोस्रो संस्करण बजारमा आएको छ । मञ्जरी पब्लिकेसन, काठमाडौंले प्रकाशनमा ल्याएको यो पुस्तकको यसै साता हङकङमा विमोचन गरियो ।
११ वर्षदेखि हङकङमा सञ्चालन हुँदै आएको हङकङ साहित्यिक साझा शृंखलाको १२०औं संस्करणक्रममा गत आइतबार आयोजित समारोहमा हङकङका अगुवा नेपाली लेखक अरुणा शर्मा, जुनु राना, दाजु गुरुङ, प्रदीप कन्दङ्वा र अशोक चाम्लिङले उक्त पुस्तकको विमोचन गरेका थिए । सोही समारोहमा सुनीता राई कन्दङ्वाको कथासङ्ग्रह ‘म युग बगिरहेछु’’र टीएन सुवेदीको ‘गीता ज्ञान गंगा’को पनि विमोचन गरिएको थियो ।

जोर्डनमा रहेको बगैंचा रेस्टुरेन्टमा आयोजित उक्त साहित्यिक शृंखलामा कवि अशोक चाम्लिङ, प्रदीप कन्दङ्वा, नवीन सुहाङ, जुनु राना, सुनीता गिरी, शिवकुमार राई, नरेन्द्र गुरुङ, टीबी याक्खा, देवराज राई, नरेश सुनुवार, नारायण भण्डारी, लीला निरौला ढुंगानालगायतले आ–आफ्नो रचना वाचन गरेका थिए । वाचित रचनामाथि शृंखलाका संरक्षक दाजु गुरुङले समीक्षात्मक टिप्पणी गरेका थिए ।



