
‘शिक्षकले राजनीति गर्न हुन्छ,’ २० वर्षदेखि अध्यापन पेसामा रहेका डिल्लीराम राई ‘नाकारा’को बुझाइ छ, ‘समाज रूपान्तरणको मियो शिक्षक हुन् । शिक्षा हो । समाज परिवर्तनको उज्यालो दियो बाल्ने आधारभूतकर्ता शिक्षक हुन् ।’
शिक्षालाई राजनीतिबाट टाढा राख्नु भनेको बुर्जुवा चिन्तनको उपज हो भनेर लेनिनले भनेका छन् । ‘मुलुकमा बुर्जुवा चिन्तन व्याप्त पाउँछौं,’ ऐंसेलुखर्क गाउँपालिका–२, बाकाचोल, खोटाङनिवासी लेखक, साहित्यकार र पत्रकारको परिचयसमेत बनाएका नाकारा दाबी गर्छन्, ‘राजनीतिक चेतनाको विगुल फुक्ने हतियार शिक्षक हुन् । उनीहरूको हतियार खोसिनु अपराध हो ।’
शिक्षक र कवि दुवै परिचय हटाइएको डिल्लीराम राईको मात्रै कल्पना गर्दा कस्तो लाग्ला ?
यस्तो कल्पनै नगरौं कि ! दुवै परिचय हुँदा म हुने हो । म हुँदा दुवै परिचय ममा भेटिने हुन् । दुवै भएरै समाज रूपान्तरणको आवाज बुलन्द गर्न सकेको छु । सफा ढंगले भन्दा म मुक्तिकामी आवाज सप्रेम अँगालो हालेर साथ दिने मानिस । त्यसैले दुवै परिचय नहुनु भनेको मेरो आवाज हट्नु हो । म केही नहुनु हो । केही नहुनुको सार मरेतुल्य हो । बाँचेर पनि किन मरेतुल्य हुनु ?
बजार साहित्य कि साहित्यको बजार ? त्यसमा पनि रातो, नीलो प्रकाशन पनि देखिन्छन् । आममानिसको रुचि केमा पाउनुभयो ?
बजार साहित्य कि साहित्यको बजार ? गम्भीर प्रश्न हो यो । दुवै गलत लाग्छन् । दुवै कुरा पछिल्लो समय नेपाली साहित्यमा स्थापित हुँदै गएको देखिन्छ । अन्ततः दुवैको सार पुँजीवादी उपभोक्तावादी संस्कृतिलाई टेवा दिने नै हुन् । एक अर्को प्रत्यक्ष अप्रत्यक्ष जेसुकै, जुनसुकै माध्यमबाट किन नहोस्, पछिल्लो समय यस्ता उदाहरण प्रशस्तै देखिन्छन् । प्रगतिशील साहित्य पनि साहित्य बिक्ने, प्रचार हुने र स्थापित हुने होडबाजीमा लागेको देखिन्छ । जुन ‘सेल्फी साहित्य’को जन्म भइरहेको पाइन्छ ।

रातो, नीलो प्रकाशन भन्ने प्रश्नले प्रगतिशील र पश्चगामी भन्न खोज्नुभएको हो भने तपाईंंले भनेको बजार साहित्य कि साहित्यको बजार भन्ने सवालमा अहिले दुवैको स्थापित हुने भनेर प्रतिस्पर्धा गरिरहेका छन् । तसर्थ रातो, नीलो भनेर छुट्टिएकोभन्दा पनि दुवै गाँजिएका साहित्य बढी आउन थालेको पाउँछु । रुचिको सन्दर्भलाई हेर्दा त बहुमत मानिस, साहित्यलाई उपभोग्य वस्तु र बजारको परिधिले घेर्न थालिएको हुँदा दुवैमा रुचि देखिन्छ । यहाँँ त गायक दुर्गेश थापाको साहित्यमा जीवन शर्माको साहित्य पूरै नामेट हुन लागिसक्यो । अबको पुस्ताले खुसीराम, पारिजातहरू चिन्दैनन् । दुर्गेश थापा, सुविन भट्टराईहरू खुबै चिन्छन् ।
शिक्षण सेवामा समर्पित अनुभवले नेपाली शिक्षणको गुणस्तर परीक्षामा चिट चोराएरै पास गराउनुपर्ने समस्या कसरी हल गर्ने होला ? यो राज्य, अभिभावक वा विद्यालय व्यवस्थापन समितिको बाध्यता ?
खै ! यो समस्या (चिट चोराएरै पास गराउनुपर्ने समस्यै) त छ भन्ने मलाई लागेको छैन । छ र हो भने गलत । त्यसलाई कसैले कसैको पनि बाध्यता नसम्झी सरासर विरोध गरौं । निर्मूल गरौं । शिक्षण गुणस्तरबारे भने व्यापक बहस गर्न जरुरी छ । म तयार छु । तर, फरक चस्मा लगाएरमात्रै प्रश्न आएपछि गर्न उपयुक्त लागेको छ मलाई ।
नेपालमा शैक्षिक प्रणाली बिग्रेकाले राजनीतिक अवस्थामा खास प्रभावकारी हुन नसकेकोजस्तो लाग्छ ?
लाग्दैन । यो त उल्टो भयो । शैक्षिक प्रणाली बिग्रेकोले राजनीतिक अवस्थामा खास प्रभावकारी काम हुन नसकेको भन्ने कुरा त सोह्रैआना गलत हो । यसको ठीक उल्टो राजनीतिक अवस्था पो चौपट्टै बिग्रेकाले शैक्षिक अवस्था लथालिंगै भइराखेको हो ।
शिक्षकले राजनीति गर्न हुन्छ ?
गज्जबले हुन्छ । समाज रूपान्तरणको मियो शिक्षक हुन् । शिक्षा हो । समाजमा परिवर्तनको उज्यालो दियो बाल्ने आधारभूतकर्ता शिक्षक हुन् । राजनीति पनि समाज रूपान्तरणको अस्त्र होइन ? अनि शिक्षकले राजनीति गर्न किन हुँदैन ? यहाँँ राजनीति फोहोरी खेल हो भन्ने भाष्य निर्माण भएकै छ । यसको कारक राजनीति होइन, राजनीतिक दलसम्बद्ध नेता हुन् । न त शिक्षकै हुन् । यदि यो सन्दर्भमा हो भने त शिक्षकले राजनीति गर्नहुन्न । किनभने शिक्षक एउटा सफेद सफा सेवाप्रदायक पेसा हो, जसमा कुनै फोहोरी दाग लागेको हुँदैन ।
राजनीति भन्नाले दलीय राजनीति भन्नेमात्रै बुझाइ छ । र त, राजनीति भन्नसाथ त्यही नेताका कारणले विद्रुप पारिएको राजनीतिको अनुहार आइहाल्छ । झट्ट सुन्दा त हो नि ठीक हो, शिक्षकले राजनीति गर्न हुँदैन भन्ने लाग्छ । तर, यो बिल्कुल गलत हो । लेनिनले शिक्षालाई राजनीतिबाट टाढा राख्नु भनेको बुर्जुवा चिन्तनको उपज भनेका छन् । मुलुकमा यस्तै बुर्जुवा चिन्तन व्याप्त रहेको पाउँछौं । तर, कुरा त्यसो होइन । राजनीतिक चेतनाको विगुल फुक्ने हतियार शिक्षक हुन् । उनीहरूको हतियार खोसिनु अपराध हो ।
तपाईंंको देश हुनुपर्ने कुनै अरूसँग तुलना गर्दा के भन्नुहुन्छ ?
म मेरो देशलाई अरूसँग तुलना गरेर यो वा त्यो देश किन भनुँ ? म मेरै देशमा न्यायिक, समतामूलक समाजका निम्ति डटिरहने मानिस हुँ । यो देशमा यिनै कुरा स्थापित हुनुपर्छ । मलाई मेरो देश मेरैजस्तै हुनुपर्छ । अरूजस्तो होइन ।
एआईको पछिल्लो चमत्कार कस्तो लागिरहेको छ ?
विज्ञानको वरदानै भन्दा हुन्छ । तर, एआईले बिस्तारै मानव अस्तित्वै संकटमा पार्ने खतरा देख्छु । विश्वमा बिस्तारै डिजिटल तानाशाह जन्मनेमा कतिपय विद्वान्ले दाबी गरेका छन् । र, त्यो देखिन्छ पनि ।
प्रस्तुति : सोनाम सज्जन किराती



