किरात प्रदेश नामाकरणसाथै उच्च कोसी बाँध निर्माणबारे विमर्श



काठमाडौं । किरात स्वायत्त जनअभियानले तेस्रो स्थापना दिवस मनाएको छ । काठमाडौंको रिपोर्टर्स क्लबमा अभियानले हालै मनाएको स्थापना दिवसका अवसरमा पहिचान, स्वायत्तता र किरात प्रदेश नामांकनसहित उच्च कोसी बाँध निर्माणबारे बुद्धिजीवीसँग बसेर सशक्त बहस चलाएको अभियान संयोजक नगेन्द्र किरातीले बताए ।

‘कोसी उच्च बाँध निर्माणले नेपालको मात्रै होइन, एसियाकै वातावरणमा जोखिम निम्त्याउँछ,’ किरातीले भने, ‘बाँध निर्माणले पाँच जिल्लाका २४ पालिकामा रहेका ८६ वडा पालिकावासीले पूर्णतया वासस्थान परिवर्तन गर्नुपर्छ ।’ त्यहाँका सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक स्थल ग्लेसियरका कारण नष्ट हुने र हिमपहिरोको समेत उच्च खतरा रहेको उनको बुझाइ छ । कोसी उच्च बाँध निर्माणले ठूलो प्राकृतिक प्रकोप निम्तिने उनले जिकिर गरे । किरात प्रदेशमाथि विकासका नाममा स्रोत साधन हडप्ने र आफ्नो स्वार्थ पूरा गर्न चाहने शक्तिविरुद्ध आजैबाट संघर्षको चेतावनी दिन ढिलाइ गर्न नहुने उनको जिकिर छ ।

कार्यक्रममा सहभागी बुद्धिजीवीले बोल्नेक्रममा किरात आवाज न भूगोलभित्र सीमित छ, न अस्तित्वमा मात्रै । यो सभ्यता, आत्मबोध र ऐतिहासिक साक्ष्यमा आधारित आन्दोलन हो । किरात प्रदेश नामांकनमा संकुचित दृष्टिकोण पलाएको बताइयो ।

किरात प्रदेश नामाकरणको पहल हुँदाहँुदै त्यसलाई लतारेर जबर्जस्त कोसी प्रदेश लादिएको बताइयो । अब गन्तव्य छाड्न मिल्दैन, उद्देश्य प्राप्तिका लागि निरन्तर संघर्षरत रहनुको विकल्प नरहेको वक्ताहरूको एकमत थियो ।

आमकिरात, भूगोल, समुदायको साथमा हामी यात्रारत रहेकाले पहिचानमा आधारित किरात प्रदेश स्थापना हुनुपर्ने धारणा राखिएको थियो । किरात स्वायत्तता जनअभियान सल्लाहकार सदस्य एवम् अधिवक्ता चण्डीराज राई ‘प्रवासी’, नेपाल प्रज्ञाप्रतिष्ठान सदस्यसचिव डा. धनप्रसाद सुवेदी, किरात राई यायोक्खाका केन्द्रीय महासचिव भीम राई र पहिचानसहित प्रदेश नम्बर १ पुनः नामांकन अभियान समितिका उपाध्यक्ष दंगध्वज खायोहाङ लिम्बूलगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्