
हलेसी (खोटाङ) । नेपाल कम्युनिस्ट पार्टी (एमाले) पोलिटब्युरो सदस्य विशाल भट्टराईले त्रिधाम हलेसीलाई प्रदेशअन्तर्गत राखिनु गलत भएको जिकिर गरेका छन् ।
हलेसी महादेवस्थान विकास समितिले हलेसीमा गरेको स्वागत कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य भट्टराईले पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ र लुम्बिनीसरहकै महत्वपूर्ण मानिने हलेसीलाई प्रदेशअन्तर्गत राखिनु सरासर गलत भएको जिकिर गरेका हुन् ।
‘त्रिधाम हलेसी धार्मिक महत्वको सम्पदा हो,’ संविधानसभा सदस्यसमेत रहेका भट्टराईको भनाइ छ, ‘त्यतिमात्रै होइन, हलेसी अन्तर्राष्ट्रिय धार्मिक गन्तव्यका रूपमा परिचित भइसकेको छ । यसलाई अझै परिचित गराउन आवश्यक छ ।’

एमाले पूर्वप्रमुख सचेतक भट्टराईले हलेसी संघीय सरकारअन्तर्गतै राखिनुपर्ने असाध्यै महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल भएको दाबी गरेका छन् । ‘हलेसीलाई सघअन्तर्गतै राखिनुपर्छ,’ उनले खुलासा गरे, ‘यसलाई स्थानीय तहअन्तर्गत राखिन खोजिँदा मैैले प्रतिवाद गरेकै हो ।’
हलेसीको धार्मिक महत्व विस्तार गर्न हलेसी महादेवस्थान विकास समितिको भूमिका उल्लेखनीय रहने नेता भट्टराईले सुझाए । ‘हलेसीलाई व्यवस्थित र सुदृढ गर्न बनेको गुरुयोजना कार्यान्वयन गर्न आवश्यक छ,’ उनले भने, ‘हलेसी बजारमा बसोवास गरेका जोकोहीलाई मर्का नपर्नेगरी सम्मानित ढंगले मुआब्जा दिएर गुरुयोजना कार्यान्वयन गर्नुपर्छ । उनीहरूलाई विस्थापन होइन, व्यवस्थापन गर्नैपर्छ ।’

‘प्रतिनिधिसभा निर्वाचनताका हलेसीमा पानी ल्याउन नदिने विशाल भट्टराई हुन् भनेर अफवाह फैलाइएको थियो,’ उनले प्रतिप्रश्न गरे, ‘त्यसो भनेर भोट माग्नेले चुनाव जितेको तीन वर्ष भइसकेको छ । तर, हलेसीमा पानी आएको छैन । यहाँ पानी ल्याउन कसले रोकेको हो भनेर हलेसीवासीलाई थाहा भइसकेको छ ।’
हलेसी महादेवस्थान विकास समिति अध्यक्ष डिल्ली चाम्लिङले पूर्वसांसद विशाल भट्टराई, एमाले केन्द्रीय सल्लाहकार हरि पोखरेल, एमाले खोटाङ उपसचिव कविता राई, अनेरास्ववियु केन्द्रीय सदस्य विष्णु उपरकोटीलगायतलाई हलेसीमा न्यानो स्वागत गरेका थिए ।




