
दुर्छिम (खोटाङ) । प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार जयन्द्रकुमार राईले खोटाङमा जडीबुटीसम्बन्धी विश्वविद्यालय स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् । नेता राईले आफूलाई मतदाताले निर्वाचित गरे जिल्लामा जडीबुटीसम्बन्धी विश्वविद्यालय स्थापना गर्ने प्रतिबद्धता जनाएका हुन् ।
नेपाल जडीबुटीका खानी मानिन्छ । ‘मुलुकका ७७ जिल्लामध्ये खोटाङमा सबैभन्दा धेरै जडीबुटी पाइन्छन्,’ उनको भनाइ छ, ‘आफू निर्वाचित भए जडीबुटीसम्बन्धी अध्ययन, अनुसन्धान गर्ने विश्वविद्यालय स्थापना गर्नेछु । जहाँ संसारभरिका विद्यार्थीले सरल र सहज तरिकाले अध्ययन तथा अनुसन्धान गर्न सघाउ पुग्छ ।’
हलेसी प्राकृतिक रूपमा सुन्दर र अद्भुत छ । प्राकृतिक रूपमा मात्रै नभएर, धार्मिक र सांस्कृतिक सहअस्तित्वका हिसाबले पनि उत्तिकै उदाहरणीय छ । हलेसीमा तीन धर्मावलम्बीले एकले अर्कोको सम्मान गर्दै साझा रूपमा पूजापाठ र श्रद्धा गर्छन् । यो त्रिधार्मिक तपोभूमि हलेसी खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ७ मा रहेको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई हलेसी पुग्न सहजताका लागि उनले हलेसीमा एयरपोर्ट निर्माण गर्ने तुवाचुङ डटकमसँग वाचा गरे ।‘पदयात्री लागि पनि विशेष महत्व दिनेछु । हलेसीबाट तुवाचुङ, महुरेगढी, रूपाकोट, टेम्के, मैयुङ हुँदै साल्पापोखरीसम्मको पदयात्राका लागि प्रोत्साहित गर्नेछु,’ उनले थपे, ‘यो त प्रतिनिधिमूलक रुटमात्रै हो, समग्र जिल्लाका सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक स्थानलाई समेटेर पदयात्राका लागि नयाँ विशेष रुट खोल्नेछु ।’
जिल्लावासीलाई कृषिमा आत्मनिर्भर बनाउन लागिपर्नेछु । त्यसका लागि इन्द्रेणी सपना देखाइरहनुपर्दैन । आफूसँग प्रस्ट ‘भिजन’ भएको उनले सुनाए ।
प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार जयन्द्रकुमार राईको चुनाव चिह्न सूर्यमुखी फूल हो ।



