वैदेशिक रोजगारीमा जानुभन्दा लोकसेवा तयारी गरौं


‘राजनीतिक अस्थिरता, नातावाद, कृपावाद झाँगिदै गएको छ,’ उनको भनाइ छ, ‘व्याप्त भ्रष्टाचार, सीमित अवसरले युवा उदासीन हुनु स्वाभाविकै हो ।’ त्यतिमात्रै होइन, पहुँचवालाको बोलवाला भएको मुलुकमा भुइँमान्छेले अवसर पाउन सम्भव छैन ।

वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै देशमा केही गरौं भन्ने उनको मान्यता छ । विदेशमा दुःख गर्नुभन्दा लोकसेवा तयारी गरेर सरकारी सेवा प्रवेश गरेर देशको सेवा गर्न लाखौं गुणा फलदायी हुन्छ । भलै सबैले जागिर गर्न सम्भव नहोला । त्यसो भए सकेको इलम गरौं । उद्यमी बनौं भन्ने नेपाल विद्युत् प्राधिकरणका कार्यरत प्रशासकीय अधिकृत रोमिका राईसँग तुवाचुङ डटकमका लागि सोनाम सज्जन किरातीले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं नेपाल विद्युत् प्राधिकरणमा कार्यरत हुनुहुन्छ । कहिले र कहाँ नियुक्ति भई हिजोआज कुन तहको जिम्मेवारी सम्हालिरहनुभएको छ ?

संवत् २०७३ मा प्रतिस्पर्धात्मक परीक्षा पार गरी सहायक कर्मचारीका रूपमा नियुक्त भई तीन वर्ष सेवा गरेपश्चात् ०७६ बाट नेपाल सरकार स्थानीय सेवामा लेखा अधिकृतका रूपमा महाभारत गाउँ कार्यापालिकाको कार्यालयमा सिफारिस भएँ । नयाँ अभ्यास, केही न केही सिक्नेक्रम पुग नपुग दुई वर्ष हुँदै थियो फेरि नेपाल विद्युत् प्राधिकरणमा तह ७ प्रशासकीय अधिकृतमा सिफारिस भएँ । प्राधिकरणको संस्थागत योजना तथा अनुगमन विभागमा प्रशासन प्रमुखको जिम्मेवारी सम्हाल्दै आइरहेकी छु ।

पढेलेखेका युवा बिदेसिनुपर्ने कारण बेरोजगार भएरै हो कि नेपालबाहिरको कमाइ धेरै हुने भएकाले स्वदेशमा टिक्न नसकेका ?

दुवै हुन् । त्यतिमात्र नभएर देशमा राजनीतिक अस्थिरता, नातावाद, कृपावाद झाँगिदै जानु, व्याप्त भ्रष्टाचार, सीमित अवसरले युवा उदासीन हुनु स्वाभाविकै हो । सही कार्यसम्पादन र मूल्यांकन नहुनु र पहुँचवालाको बोलवालालगायतका शीर्षक त्यत्तिकै जिम्मेवार देखिन्छ ।

युवा पुस्तालाई वैदेशिक रोजगार कि लोकसेवा तयारी गर्न सुझाउनुहुन्छ ?

वैदेशिक रोजगारीमा जानुभन्दा युवा पुस्तालाई आफ्नै देशमा केही गरौं भन्ने आह्वान गर्छु । विदेशमा न परिवार, न समाज, न त आत्मसम्मानै हुन्छ । विदेशमा दुःख गर्नुभन्दा लोकसेवा तयारी गरेर सरकारी सेवा प्रवेश गरेर देशको सेवा गर्न लाखौं गुणा फलदायी हुन्छ । भलै सबैले जागिर गर्न सम्भव नहोला । त्यसो भए सकेको इलम गरौं । उद्यमी बनौं ।

तपाईंको जीवनमा दुःख त्यो थियो, जसले प्रेरणा दियो । त्यो क्षण सम्झन सकिन्छ ?

सकिन्छ नि । तर, दुःख भन्ने कि अनुभूति । म त्यतिबेला सानै थिएँ । आमाको पछि लागेर बेंसीको खेतीमा जाँदै थियौं । बाटोमा भारतको कोइलाखानीबाट फर्किनुभएको दाजुसँग भेट भयो । बुवाले दाजुको साथमा चिठ्ठी पठाउनुभएको रहेछ । दाजुलाई समेत पढ्न नआउने भएपछि आमाले पोल्टामा बाँधेर ओह्रालो झर्नुभयो । म पछि लागें । दाजुहरू घरमा हुनुहुन्नथ्यो । नेपाली अक्षर नचिन्नाले बुवाको खबर पढ्न सकिएन । दसैंमा बुवा आउने नआउने थाहा पाउन सकिएन । जो पायो त्यसलाई चिठ्ठी देखाउनु हँुदैनथ्यो । आफ्नो घरको कुरा अरूले थाहा पाउलान् भन्ने लाग्थ्यो । मन मिल्ने, दुःख बुझ्ने, अक्षर चिन्ने आफन्त गुहार्नुपथ्र्यो ।

आमाले पीर मानेर सम्झाउनुभयो, ‘पढेनौं भने मैलेजस्तै दुःख पाउँछौ ।’ त्यतिबेला दुःख अनुभूति गरें । म पढ्छु । केही गर्छु भन्ने अठोट गरें । पीडाबोध गराउने आमाको अभिव्यक्ति सम्झँदा आज पनि जाँगर चल्छ । आमाले भन्नुभएजस्तै नेपाली अक्षर चिन्नकै लागि यहाँसम्म आइपुगें । हाम्रो भूगोलमा मेरीमात्रै होइन, अधिकांश आमा अक्षर चिन्नुहुन्न । तर, समाज जान्नुभएको छ । आमाहरूले नै व्यवहार धान्नुभएको छ ।

तपाईंले हासिल गरेको शैक्षिक योग्यता र समाजसेवाका कठिनाइबारे केही बताइदिनुहोस् न ?

समाजसेवा त गर्नै बाँकी छ । समाज सेवा गर्नै पाएकी छैन । त्यसैले कठिनाइ हुने कुरै भएन । तर, शैक्षिक योग्यता हासिल गर्नेक्रममा संघर्ष गर्नसम्म गरियो । जिल्लाकै दुर्गम मानिने साबिकको डिकुवा गाउँ विकास समिति–४, दाम्ली, आर्थिक, सामाजिक, शैक्षिक, सञ्चार, यातायात, बिजुली र खानेपानीजस्ता आधारभूत पूर्वाधारबाट वञ्चित छँदै छ । चेतना स्तर झनै कमजोर थियो । हिजोआज पनि दाम्लीले अर्थपूर्ण मुहार फेर्न सकेको छैन । त्यहीं जन्मेकी मैले उच्च शिक्षा (व्यवस्थापन र जनप्रशासन) बाट स्नातकोत्तर र कानुनमा स्नातक गरेकी छु । हेर्दा दुई संकायमा स्नातकोत्तर र स्नातक तह छिचोलेको देखिन्छ तर यसभित्रको कथा चर्को छ ।

संवत् ०६४ तिर दाम्ली निम्नमाध्यमिक विद्यालयमा कक्षा ८ सम्ममात्रै पढाइ हुन्थ्यो । माध्यमिक शिक्षा अध्ययनका लागि कि त तीन घन्टा हिँडेर च्यास्मिटार मावि धाउनुपथ्र्यो कि पढाइ बिट मार्नुपर्थ्यो । मैले पढाइलाई निरन्तरता दिएँ । ०६५ मा च्यास्मिटार माविबाट एसएलस परीक्षा दिएर काठमाडौं पसें । काडमाडौंमा दाजु–भाउजू र दिदी हुनुहुन्थ्यो । दाजुको आफ्नै व्यापार थियो । ‘कम्फोर्ट जोन’ मा बसेरभन्दा आफ्नो भविष्य आफैं बनाउन लागिपरें । एसएलसीको नतिजालगत्तै दिदीमार्फत मार्केटिङ जागिर सुरु गरें । झन्डै आठ वर्ष मार्केटिङ गरें । त्यही जागिरले स्नातकोत्तर तहको पढाइ मध्यान्तरमा पुर्याउँदा सरकारी जागिरमा सिफारिस भएँ । त्यतिबेला बोटलर्स नेपालमा आउट सोर्सिङबाट जागिर गर्थें । नेपाल विद्युत् प्राधिकरणमा सिफारिस भएपछि पढाइका लागि सहज भयो । तर, त्यसअघि दुःख–दुःखैले काठमाडौंमा टिकें । काठमाडौंका उपत्यकाको आधाउधी ठाउँ हिँडेरै पुगें । जागिरसँगै पढाइ गरें ।

काठमाडौं बसोवास गर्ने तपाईं–हामी व्यस्त रहनु स्वाभाविकै हो । तपाईं डिकुवा–बाहुनीडाँडा सेवा समाजको उपाध्यक्षसमेत रहनुभएकाले समाज सेवामा चाहिँ समय व्यवस्थापन कसरी गर्नुहुन्छ ?

व्यस्त त भइन्छ । तर, आफ्नो भूगोलका लागि केही गर्नुपर्छ भन्ने भावना जागृत भयो भने सम्भव हुने रहेछ । कार्यालयीयबाहिरको समय मिलाएर व्यवस्थापन गर्छु ।

तपाईंको रोजाइमा कस्ता पुस्तक पर्छन् । अध्ययनशील पाठकले पढ्नैपर्ने पाँच पुस्तक र लेखकको नाम बताइदिनुस् न ?

रोजाइभन्दा पनि पाठ्यक्रम र कानुनका पुस्तक करले पढ्नुपर्छ । त्योबाहेक संघर्षका विम्बहरू र परिवर्तनका विषय समेटिएका साहित्यिक पुस्तक पढ्ने गर्छु ।

(१) सेतो धरती, अमर न्यौपाने

(२) सूर्य गिरफ्तार, प्राडा विष्णु राई

(३) फूलको विज्ञप्ति, मिलनकान्छा किराती

(४) जनयुद्धमा बितेका पल, सोनाम सज्जन किराती

(५) भुइँया, यज्ञश

 

प्रतिक्रिया दिनुहोस्