
काठमाडौंको भीडभाड र धुवाँ, धुलो छाडेर पंक्तिकार र वाम्बुले राई समाज (वाम्रास) खोटाङ अध्यक्ष प्रेमसुन्दर राई साउन १९ गते खोटाङ प्रस्थान गर्यौं । दुवैको मनमा एउटै सोचाइ थियो, ‘दाम्लीमा ढ्वाङ्कुम सफल होला कि नहोला ? यसैगरी भुम्जुमा २५० वर्षपछिको पुनर्जागरण पूजा सफल हुन्छ कि हुँदैन होला नि ।’
गाउँ (दाम्ली) पुगेपछि इतिहासलाई नयाँ मोड दिने निर्णय तत्कालै लिनुपर्यो । साउन २० गते साँझ वाम्बुले वंशजजति सबै भेला भयौं । छलफलको निष्कर्ष स्पष्ट थियो, ‘दाम्लीमा ढ्वाङ्कुम मनाउने स्थान र भुम्जु पूजा स्थलको टुंगो लगाउने जिम्मा पंक्तिकार र वाम्रास खोटाङ अध्यक्ष प्रेमसुन्दर राईले लिनुपर्छ ।’
भुम्जुको पुनर्जन्म :
साउन २१ गते बिहानै भुम्जुतर्फ लाग्यौं । त्यहाँ पुग्दा वाम्बुले राईको पुख्र्यौली थातथलोमा नेपाल टेलिकमको टावर ठडिएको थियो । स्थानीय सिमलचौरवासीको सहयोगमा इतिहासको धुलो उकास्न खोज्दा जग्गाधनी सुदीप अधिकारीले पुष्टि गरे, ‘यही हो, वाम्बुले राईको पूजा स्थल ।’

टावरको उत्तरतर्फ पुरानो देवस्थलबाट केही मिटरभित्र नयाँ देवस्थल निर्माण गर्ने सहमति भयो । दुई मिटर जग्गामा दुई देवालय कायम गरियो । यसलाई संस्थागत गर्न वाम्रास खोटाङले मिलन कान्छा किरातीको संयोजकत्वमा तीन सदस्यीय ‘जग्गा प्राप्ति समिति’ गठन गरियो ।
दाम्लीमा पहिलो ढ्वाङ्कुम स्थल :
दाम्लीमा ढ्वाङ्कुमका लागि निश्चित स्थान थिएन । तर, देवीथान जंगलको उत्तर–पूर्वीखण्डमा पर्ने सुरिम पार्कमा लालीगुराँस सामुदायिक वन उपभोक्ता समितिबाट मौखिक अनुमति मिल्यो । साउन २४ गतेको ऐतिहासिक दिनका लागि बाटो खुल्यो ।
२५० वर्षपछिको भव्य क्षण :
साउन २४ गते वाम्रास खोटाङको आयोजनामा २५० वर्षपछि भुम्जु आराध्यदेव उपोको भव्य पूजा गरियो । चिन्डोमा चिख्राम जिर्मा, फूल, अछेता, पाती राखी दियो बालेर, सालको धुप र भेटी चढाउँदै पूजा गरियो । पुजारीका रूपमा सिसी नाक्सो टंकबहादुर राई थिए ।

विशेष अतिथिमा वाम्रास पूर्वकेन्द्रीय सदस्य मिलन कान्छा किराती र वर्तमान केन्द्रीय सदस्य कवि सोनाम सज्जन किरातीका साथै लालकेशर राई (डिकुवा गाविस पूर्वअध्यक्ष), धनसुन्दर राई (डिकुवा गाविस पूर्वउपाध्यक्ष), घनश्याम राई (पूर्व वडासदस्य), वाम्रास खोटाङ अध्यक्ष प्रेमसुन्दर राईलगायत स्थानीय लब्धप्रतिष्ठितको उपस्थिति थियो ।
भुम्जु पूजा सकेर, दाम्लीमा पुगी ढ्वाङ्कुम पूजा गर्यौं । पुर्खाको आत्मा र धर्तीको ऊर्जा एकैसाथ उज्यालो भएको अनुभूति गर्यौं ।
पूर्वजको चेतना :
हाम्रो सांस्कृतिक यात्राको मूल प्रेरणा स्व. आइबहादुर राई (८५) थिए । जीवित हुँदा राईले भन्थे, ‘मान्छे हुन आफ्नै भाषा हुनुपर्छ । संस्कार त अनिवार्य भइगयो । भाषा र संस्कार बिर्सने मानिस मासिन्छन् ।’ माटोको सम्मान गर्नु, प्रकृतिसँग सन्तुलित रहनु र खानपिनमा पुर्खालाई सम्झनु राईको मान्यता थियो ।

लालकेशर राईको अनुसन्धानले पुष्टि गर्यौं, ‘राभ्वाङ्चा, द्वार्वाङ्चा र बिर्वाङ्चा सबैको मूल पुर्खा ‘सादाम्चो’ हो । यसले हाम्रो वंशको एकताको ऐतिहासिक प्रमाण प्रस्तुत गर्छ ।’
कथाले बुनेको वंश :
वाम्बुले मुन्दुमले वाम्बुले पाछाको उत्पत्ति कथा सुनाउँछ–
भ्वौउवा (अरिंगाल पाल्ने) बाट भावाचाचा
नाक्सो (संस्कार/चुला फलाक्ने) बाट नाक्सचाचा
सादाम्चो वंशका तीन खलक (द्वार्वाङ्चा, राभ्वाङ्चा, बिर्वाङ्चा)

उल्लिखित कथा केवल अतीतका स्मृति होइनन्, पहिचानका मेरुदण्ड हुन् ।
निष्कर्ष :
आइबहादुर राईले भनेझैं संस्कार र भाषा बचाउन सके पराई धर्म संस्कार हराउन सकिन्छ । अन्ततः २५० वर्षपछि दाम्ली ढ्वाङ्कुम र भुम्जु पूजाले दिएको सन्देश यही हो, ‘संस्था, नेतृत्व र समुदाय एक भएर लागे हाम्रो सांस्कृतिक पुनर्जागरण सम्भवमात्र होइन, अवश्यम्भावी छ ।’




