
च्यास्मिटार (खोटाङ) । मानव जीवनलाई यात्राहरूको संग्रह ठान्ने हो भने बाँचुन्जेलको यात्रामा अनेकानेक भूमिकामा बाँधिनुपर्छ । एउटै व्यक्तिले जीवनमा विभिन्न प्रकृतिका भूमिकामा अनुहारिनु अस्वाभाविक होइन । जोकोहीले गरेजस्तो पंक्तिकारले पनि भूमिका निर्वाह गरे । कहिले यो, कहिले त्यो ।
वैदेशिक रोजगारीका लागि कतार पुग्नुलाई त्यत्तिकै मीठो संयोग मानेको छु । त्यहाँ रहँदा किरात राई यायोक्खा शाखामार्फत गरिएका सामाजिक काम कहिल्यै बिर्सन सक्दिनँ । किरात राई यायोक्खा कतारको मुखपत्र ‘साकेला’ सम्पादन गर्दाको अनुभूति त झन् सम्झनयोगमध्येकै एक हो । कतारबाट फर्केपछि शिक्षण पेसामा जोडिनु अर्को मीठो संयोग ठानेको छु ।
वैदेशिक रोजगारीमा कतार जानुअघि पशु स्वास्थ्य कार्यकर्ताको तालिम लिइसकेको थिएँ । गरिबी निवारण कार्यक्रम र डीएलजीएसपीको सहयोगमा क्षेत्रीय पशु सेवा निर्देशनालय दुहबी, सुनसरीबाट ३५ दिने ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तालिम लिएको थिएँ । यो २०५९ को कुरा हो ।
यसैगरी, पशु सेवा कार्यालय खोटाङको सहयोगमा लिएको १० दिने ल्याब तालिमपछि कामसमेत थालिसकेको थिएँ । पशु स्वास्थ्य कार्यकर्ताको भूमिका निर्वाह गर्दै आएको सबैलाई थाहा नहुन सक्छ ।
घटना २०७७ असोज ९ गतेको हो । बाख्राले बच्चा जन्माउन नसकेपछि अर्धदक्ष पशु स्वास्थ्य कार्यकर्ताले हात हालेर निकाल्ने प्रयास गरेछन् । बाख्राधनीलाई माउ जसरी नि बचाउनु थियो । अर्धदक्षले जबरजस्ती गर्दा पाठाको एउटा खुट्टा शरीरबाट चुँडाएछन् । त्यसपछि बाख्राधनी गणेश अधिकारी च्यास्मिटार स्वास्थ्यचौकी पुगे । स्वास्थ्यचौकीका अहेब राजकिशोर शाहले पंक्तिकारको नाम लिएछन् । अधिकारीले पंक्तिकारसँग गुहार मागे ।
म शिक्षण पेसामा जोडिइसकेको थिएँ । सिकेको सीप सदुपयोग गर्न जाँगर चलाएँ । सीप सदुपयोग गर्नेक्रममा दृश्य अद्भुत देखियो । पशु स्वास्थ्य कार्यकर्ताको भूमिका निर्वाह गर्दा त्यस्तो अद्भुत दृश्य कहिल्यै देखेको थिइनँ । बच्चा जन्माउन नसकेको बाख्राको पेटबाट एउटा टाउको, दुईवटा शरीर र आठवटा खुट्टा भएको पाठा निकालें । मृत पाठा निकालेपछि माउको ज्यान जोगियो । अर्धदक्षले हात हालेर जबरजस्ती निकाल्न खोज्दा बाख्राको पेटमै मरेको पाठा निकाल्दा माउको ज्यान जोगियो । यो प्रसंग हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार, खोटाङको हो ।
अलिकति शिक्षक । अलिकति पत्रकार । अलिकति पशु स्वास्थ्य कार्यकर्ता । त्यतिमात्रै होइन, एकताका वैदेशिक रोजगारीका लागि कतार पुग्दाका दिनहरू सम्झँदा जिन्दगीका यात्रारूपी एल्बम पल्टाउँदा कम्ती आनन्द लागेन ।



