दुर्छिमको कीर्तिपुरमा मनको मैलो धोइपखाली



दुर्छिम (खोटाङ) । संवत् २०४० मा तत्कालीन सरकारले जग्गा नाप गर्न कर्मचारी खटाए । त्यतिबेला आफ्नो नाममा जग्गा पार्ने लहरै चल्यो । त्यसबेला सबै सस्तो । तर, पैसा पाउन मुस्किल । बस्ती पातलो । आफूले कज्याइरहेको र सक्दा अरू जग्गा पनि पैसा हुँदा नापी गर्ने लोभ जाग्यो । एक्लैले नसकेको खण्डमा सबैले पैसा बराबरी खपेर (हालेर) संयुक्त रूपमा एक जनाको नाममा जग्गा पास हुने गरी काम तमाम गरियो ।

यसैक्रममा हलेसी तुवाचुङ नगरपालिका–५, गैराटोल, दुर्छिमका मनिकेशर राई, कृतिबहादुर राई र रोमबहादुर राई मिलेर संयुक्त रूपमा साबिक दुर्छिम गाउँ विकास समिति १ र ७ को सिमाना चुरीढाँडमा चार रोपनीभन्दा धेरै जग्गा पछि बाँड्ने सर्तमा कृतिहादुरको नाममा जग्गा पास गरियो । यस जग्गाबारे धेरै–धेरै कुरा भए । जुन लेखिसाध्ये छैन । नढाँटी भन्दा मनमुटाव पनि भयो । तर, मनको मैलो धोइपखाली गरियो ।

केही समयअघि कृतिबहादुर राई, रोमबहादुर राईका जेठा छोरा कल्याणविक्रम राई र मनिकेशरको राईका नाति अविन्द्र राईबीच अर्थपूर्ण सरसल्लाह भयो । अन्ततः जग्गा बाँडफाँट गरियो । जग्गा बाँडफाँट गरेको खुसियालीमा वनभातसमेत खाइयो । ‘चुरीढाँड होइन, अब यो जग्गा रहेको ठाउँलाई कीर्तिपुर नामकरण गरौं,’ वनभात खाँदै गर्दा कल्याणविक्रम राईले प्रस्ताव राखे, ‘कृतिबहादुर राईले इमानदारीपूर्वक जग्गा बाँडफाँट गरिदिनुभएकाले अबदेखि यो जग्गालाई कीर्तिपुर भनौं ।’

मानिसले असीमित होइन, सीमित चाहना राख्नुपर्छ । मानिस नाशवान् हुन् भन्ने भुल्नुहुँदैन । मानिस अरूसँग जति खुुसी हुन्छन्, त्यो घरपरिवारभित्रसमेत कायम राख्न सके सम्बन्धितको घरमा पूर्ण शान्ति हुन्छ । हामीले त्यस्तो पुण्य काम किन नगर्ने ?

केही समयअघि कांग्रेस नेता गगन थापाले काठमाडौंको कीर्तिपुर डाँडामा ल्यापटप चलाएर महिनाको चार लाख कमाउन सकिने अभिव्यक्ति दिएका थिए । त्यसपछि कहिल्यै नसुनेकाले समेत व्यंग्य गर्दै कीर्तिपुर डाँडा उच्चारण गरेका थिए । काठमाडौंको कीर्तिपुर डाँडा र दुर्छिमको कीर्तिपुर डाँडाको प्रसंग फरक छ । स्थानीय कृतिबहादुर राईको उदारपनलाई सम्मान गर्दै चुरी ढाँडलाई कीर्तिपुर डाँडा नामकरण गरिएको हो । काठमाडौंको कीर्तिपुरभन्दा कुनै कोणबाट कम छैन दुर्छिमको कीर्तिपुर ।

प्रतिक्रिया दिनुहोस्