बाँसुरीको धुनसँगै बगेको त्यो दिन


खोटाङ, ओखलढुंगा, उदयपुरमात्रै होइन, काठमाडौं उपत्यकामा बसोवास गर्ने वाम्बुले राई समुदायको गौरवशाली दिन । त्यो दिन काठमाडौं उपत्यकाको आकाश विशेष लाग्थ्यो । न घामको ताप, न त आकाशमा बादल । मानौं बाँसुरीको धुनले मौसम बाँधिएको थियोे । उपत्यकामा बसेर वाम्बुले राई समाज नेपाल (वाम्रास) ले गरेको ‘बाँसुरी दिवस तथा खीर खाने कार्यक्रम’ साँच्चैको लोभलाग्दो सांस्कृतिक उत्सवमात्र होइन, पहिचान, परम्परा र सामाजिक एकताको विशेष आवाज थियो ।

बाँसुरीको मीठो धुनबाट कार्यक्रम आरम्भ भयो । त्यो केवल धुन थिएन, विगतको सम्झना, वर्तमानको गर्व र वाम्बुलेले भविष्यको प्रतिबद्धतासमेत जाहेर गरिरहेका थिए । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति गायक शम्भु राई प्रमुख अतिथि, राष्ट्रगान लेखक प्रदीपकुमार राई (ब्याकुल माइला) विशेष अतिथिलगायत उपस्थित सबैले बाँसुरी बजाएर संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरे । सबैले एकै सासमा एउटै सन्देश प्रवाह गरे, ‘हामीले गर्दा हाम्रो संस्कृति जीवित छ ।’

कार्यक्रममा उभिएकाहरू शब्द र संवेदनाको उत्सवमा देखिन्थे । कार्यक्रमका प्रमुख अतिथि राईले सम्बोधनका क्रममा बोलेका शब्द केवल औपचारिकता थिएनन्, ती शब्द बाँसुरीको प्रतिध्वनिजस्तै लाग्थ्यो । ‘आधुनिकताका नाममा अरूको बाजागाजा बजाएर नक्कल पार्छाैं । युरोपतिर हाम्रै बाँसरी, मादल, बिनायो र मुर्चुङ्गाको आवाजले अर्गानिक संगीत प्रतिनिधित्व गरिन्छ । जसले आधुनिकताभन्दा लोकसंस्कृति र परम्परा बोक्छ,’ उनले भने, ‘हामीले यसलाई स्थापित गर्न अर्थोपार्जनसँग जोड्नुपर्छ । यसले जीवनलाई सुन्दर ढंगले चलाउन सक्ने हैसियतमा समाजभित्र उभिने क्षमता विकास गराउँछ ।’

‘भाषा केवल माध्यम होइन, अस्तित्व हो,’ विशेष अतिथि व्याकुल माइलाको भनाइ थियो, ‘संगीत त झन् विश्वभाषै हो ।’

‘हाम्रा बाजा केवल धुन होइनन्,’ कार्यक्रमका सभाध्यक्ष गजुरधन राईले दृढ अठोटसहित बोले, ‘यो हाम्रो आत्मा हो ।’

कार्यक्रममा वाम्रास उपाध्यक्ष गणेश वाम्बुले राई, सचिव रामकुमार राई, केन्द्रीय सदस्य सोनाम सज्जन किराती, सल्लाहकार पुष्पहरि क्यापा राई, सविता प्रयास, वाम्रास पूर्वकेन्द्रीय सदस्य मिलन कान्छा किराती, वाम्रास खोटाङ अध्यक्ष प्रेमसुन्दर राई, साबिक डिकुवा गाउँ विकास समिति पूर्वअध्यक्ष धनसुन्दर राई र किरात सांस्कृतिक कलाकार संघ केन्द्रीय सदस्य भद्रगोल किरातीलगायतको उपस्थिति थियोे । उनीहरू आपसी सद्भाव र पहिचानको लोकल वाम्बुले रैथाने संगीतमा रमाएका थिए ।

बिनायो, बाँसुरी र पारम्परिक नृत्यले विशाल सांस्कृतिक क्यानभास तयार भएको प्रस्टै देखिन्थ्यो । जसमा एक चेलीको हाउभाउले आफ्नो मातृभूमि सम्झेकी थिइन् । एक किशोरको नृत्यले विगतसँग वर्तमानको पुल बाँधेको थियो । युवा सुवास वाम्बुले बाँसुरीवादकको सासले परम्परालाई जीवन्त जीवन दिएको थियो ।

जब बाजा, नृत्य र स्वरमा संस्कृति प्रकट हुन्छ, त्यो केवल शोभामात्र हुँदैन, संघर्षको प्रतीक सावित हुन्छ ।

खीरको स्वादमा आत्मीयता झनै गज्जबको देखिन्थ्यो । कार्यक्रमको अन्त्यमा सबै सहभागी एउटै वृत्तमा बसे । जात, उमेर, पद, परिचय मतलब थिएन । सबैले खीर खाए । त्यसमा स्वादभन्दा बढी अर्थ मिसिएको थियो । हामी एक हौं, हाम्रो जरा एउटै हो, हामी बाँच्नेछौं संस्कृति बचाएर भन्ने सन्देश प्रवाहित भइरहेको थियो ।

कार्यक्रममा युवाको सहभागिता बाक्लै थियो । ओविका राई, बुद्ध राई, बुद्धिबहादुर राई, कोपिला राई, टार्जन राईहरू केवल व्यक्ति होइनन्, क्षमता हुन् ।

जसले बाँसुरी फुक्छ, भाषा बोल्छ, उसले संस्कृति जोगाउनेछ । बाँसुरी दिवस केवल उत्सव होइन, संस्कृति निर्माणको उत्तराधिकारी हो । वाम्बुले राई समाज नेपालद्वारा आयोजित कार्यक्रमले प्रस्ट पार्यो, ‘संस्कृति केवल संग्रहालयमा राख्ने वस्तु होइन, यो बाँच्ने अभ्यास हो ।’

बाँसुरी केवल आवाज होइन, सम्पूर्ण सभ्यताको लय हो । खीर केवल परिकार होइन, यो सम्बन्धको स्वादसमेत हो । वाम्रास उपाध्यक्ष एवम् संस्कृति विभाग प्रमुख गणेश वाम्बुले राईले स्वागत मन्तव्यमा भनेझैं साउन १५ ले हामीलाई सम्झायो । परम्परा बोझ होइन, गौरव हो । त्यो गौरव नयाँ पुस्तामा हस्तान्तरण गर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्