
सालिन्दा डढेलो लाग्नेक्रम बढ्दै गएको छ । वर्षैपिच्छेको डढेलो घटना हेर्ने हो भने कहिल्यै घटेको छैन । डढेलो आफैं लाग्दैन । मानवीय क्रियाकलाप र प्राकृतिक प्रकोपका कारण डढेलो लाग्छ ।
जानकारहरूका अनुसार ९६ प्रतिशत डढेलो मानवीय कारणले लाग्छ । ३ प्रतिशत डढेलो लाग्नुका कारण आजसम्म पत्ता लागेको छैन । तर, १ प्रतिशत कारण भने प्राकृतिक प्रकोपका कारणले लाग्छ ।
अपवादबाहेक फागुन दोस्रो सातादेखि वैशाख दोस्रो सातासम्मै धेरैभन्दा धेरै डढेलो लाग्ने गरेको वन तथा भूसंरक्षण विभागले जनाएको छ । जेठमा पनि डढेलो लागेकै छ । विभागका अनुसार अत्यधिक गर्मी, लामो खडेरी र उच्च वेगको हावाहुरी चल्नाले उल्लिखित दुई महिनामा सबैभन्दा धेरै डढेलो लाग्छ ।
यो दुई महिनामा सबै–सबैले उच्च सतर्कता अपनाउन आवश्यक छ । हुन त अन्य समयमा पनि डढेलो नलाग्ने होइन तर तुलनात्मक रूपमा कमै हुन्छ । मानवीय जीवनशैलीमा आएको व्यापक परिवर्तनले डढेलो लाग्नेक्रममा बढोत्तरी भएको प्रस्ट छ । ‘गाउँ नछाडौं, सहर जोडौं’ भनिए पनि गाउँबाट सहर पस्नेको ‘क्याराभान’ देख्दा उल्लिखित भनाइले कसैलाई छोएको छैन । गाउँबाट सहर पस्न लोभिएपछि खेतबारी बाँझिनु अस्वाभाविक होइन । बाँझिएका खेतबारीमा रहेका पातपतिंगरमा आगो छिट्टै सल्कन्छ । सुक्खायाममा छिटोभन्दा छिटो आगो सल्कने नै भयो । तसर्थ, सालिन्दा डढेलो लाग्नेक्रम बढ्दै गएको हो ।
सालिन्दा लाग्ने डढेलोले राज्यमात्रै होइन, व्यक्ति–व्यक्तिले हानि–नोक्सानी बेहोर्नुपरेको छ । डढेलो निभाउन अत्याधुनिक औजार नहुनुको पीडा चर्को छ । डढेलो निभाउने दक्ष जनशक्तिसमेत छैनन् । अग्निरेखा कोरेर स्याउलाको भरमा डढेलो निभाउनु पुरानै परम्परा हो ।
लागेको डढेला निभाउन स्थानविशेषका मानिससँग कम्तीमा हेल्मेट, पन्जा, मास्क, फायर प्रुफ ज्याकेट, ब्यागप्याक र रेक वे हुनैपर्छ । डढेलो निभाउन छुट्याइएको बजेट ‘कर्मकान्डी’ मात्रै हुनुहुँदैन ।
डढेलो कसले र कसरी निभाउने भन्नेबारे जिम्मेवारी तोकिनैपर्छ । आजसम्मको अभ्यास हेर्दा सुरक्षाकर्मी, हेरालु र सामुदायिक वन उपभोक्तामात्रै डढेलो निभाउन अग्रसर देखिन्छन् । त्यस्तो अवस्था कम गर्न डढेलो निभाउन पर्याप्त सचेतना फैलाउन ढिला गर्न हुँदैन । आइपरेको आपतविपतमा सबै एकजुट भएर लागेमा डढेलो डरबाट बच्न र बचाउन सकिन्छ । त्यसैमा सबैको भलो हुन्छ ।



