डढेलोले १० घर भसक्कै



डिकुवा (खोटाङ) । संवत् २०८१ चैत ४ गते दाम्ली (डिकुवा) पुगेको थिएँ । आफ्नै गाउँको कार्जेमा सहभागी हुनुपर्ने थियो । साबिक डिकुवा गाउँ विकास समिति पूर्वउपाध्यक्ष धनसुन्दर राईको घरमा वाम्बुले रीतअनुसारको कुयामो खाउमो अर्थात् पितृ (सप्ताहजस्तै खस भाषामा भोज) मा सहभागी भएँ ।

पितृ कार्जे सम्पन्न गर्न तीन दिन लाग्छ । पहिलो दिनलाई थालनी भनिन्छ । दोस्रो दिन माले गोरुको ठाउँमा राँगा र माउ सुँगुर सुरिम र खासीमा बाँधेर नाक्सो (ङाबुचो) ले रीतपूर्वक स्वाम्डी गरेर अग्रज पुर्खा (काका, बाउहरू) ले पितृ फलाक्छन् । र, मुलदानीले ब्लो लिखीले हानेर राँगा र सुँगुर ढालिन्छ । आँगनमा मुलदानी माइलादानीलगायत बिहे गरेका सबै छोरीचेली पाहुना हुन्छन् । उनीहरूले नाचेर पितृ खुसी बनाएपछि दानीले सुँगुर, राँगा पोलपाल र चाहिने भित्र–बाहिरका थुप्रै रीत एवम् रीतले छुट्याएर पकाउने गरिन्छ । घरभित्र र बाहिर रीत राखिसकेपछि स्वाम्डी खाडुले फेरि फलाक्छन् । अनि प्रसाद बाँडिखाने चलन छ ।

प्रसाद खाने बेला डढेलो लागेको खबर पाएकाले घरबाहिर निस्किहालें । डढेलो देखिने ठाउँमा पुग्दा मभन्दा पहिले सुरेन्द्रकुमार राई, सम्मरबहादुर भुजेल, भेषमणि राई, हीरासेर राई, हरिकुमार राई, खड्गबहादुर राई, खेलुना, शिरिमाया र सन्तोषलगायत थुप्रैले डढेलो लागेको हेरिरहेका थिए । हीरासेर राई, पर्शुराम राई र भेषमणि राईले पाँचभैयाटारतिर फैलिएको डढेलोबारे फोनबाट पारि घरमा रहेका आफन्तलाई सचेत र सजग गराइरहेका थिए ।

यति देखेपछि र सुनेपछि वारि दाम्लीपट्टि डढेलो कता फैलँदै छ भन्ने चिन्ता पर्ने नै भयो । अलि तल ढाँडमा पंक्तिकारको खरबारी भएकाले त्यता फैलिसकेको हो कि ? भन्ने डर थियो । म पाँच मिनेटमै दौडेर जग्गा देखिने फुर्केथोबे डाँडा ओर्लिएँ । त्यहाँ पुग्दा पारि बाल्चुङ, लाङ्मा, बाकखोर, डाँडागाउँभरि डढेलो फैलिसकेको थियो । धन्न वारि भने त्यति फैलिएको थिएन ।

श्री बालकन्या आधारभूत विद्यालयसहित १० घर डढेलोले पूर्ण रूपमा क्षति पुर्यायो । चैत ३ गते राति हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवाको नामेल्खा क्षेत्रका एक विद्यालय भवनसहित १० घरमा आगलागी भयो । सबैभन्दा पहिले लाङमाका कृष्णबहादुर राईको घर र गोठ जले । त्यसपछि साबिक डिकुवा गाविस पूर्ववडाध्यक्ष कमल राईको घर र गोठ अनि टंकबहादुर राईको गोठ आगोले भ्याएर मेघबहादुर राईको पुरानो मूलघर पनि जल्यो । त्यो जल्नुअघि पाँचभैयाटारस्थित सम्बर राई र नगेन्द्र राईको घर हेर्दाहेर्दै जल्यो । बाकखोरमा रणबहादुर राईको गोठ र घर आधा सल्किएपछि स्थानीयले डढेलो निभाउन सफल भए ।

बालकन्या आविको अवस्था पनि त्यस्तै थियो । स्कुलको आधा भागा जोगाउन शिक्षक तथा अभिभावक सफल भए । तल डाँडागाउँमा पविन्द्र राई र हीराधन राईका घर जले । हीराधनको दुईतले घर थियो । उतिखेरै छोम्पाङमा अद्दम राईको घर र मतान भसक्कै भए । कृष्णबहादुर राईको गाई र बाछा जले । राईका २२ बाख्रा जलेर नष्ट भएको घनश्याम राईले जानकारी दिए । धनमाल र लत्ताकपडा कति जले कति हिसाबकिताब गर्न नसकेका डढेलोपीडितले बेहोर्नुसम्म क्षति बेहोर्नुपर्यो ।

जिल्लाबाट ठूलो संख्यामा आएका नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासले राति अबेरसम्म डढेलो निभाउन सफल भए । खाउमो (पितृ कार्य) सकी काठमाडौं फर्कंदा असाध्यै पीडामा थिएँ ।

प्रतिक्रिया दिनुहोस्