नर्वेमा आङ्देम्बेको फोटो प्रदर्शनी



नर्वे । साहित्यकार तथा फोटोग्राफर प्रकाश आङ्देम्बेले खिचेको फोटाको नर्वेमा प्रदर्शन भइरहेको छ । गुल्सेट सामुदायिक केन्द्र, सियन–नर्वेले ‘मन्थ अफ दी आर्टिस्टका’ रूपमा आङदेम्बेलाई मेभरिका लागि चुनेको हो ।

यसअन्तर्गत उनको एकल फोटोग्राफी प्रदर्शनी गरिएको हो । नर्वेको सियनमा अवस्थित यो केन्द्र कला, साहित्य, भाषा, सँस्कृति, सृजनशील, सामाजिक गतिविधिमा सक्रिय कम्युनकै एक केन्द्र हो । केन्द्रले संसारभरबाट आएका मानिसलाई संस्कृति, भाषिक, सृजनशील, सौन्दर्य निःशुल्क आदान–प्रदान गराउँदै हितैषी भावना जगाउने काम गर्नुका साथै मानिसलाई क्षमता अभिवृद्धि तालिम निःशुल्क प्रदान गर्छ । उसले आफ्नो प्रदर्शनी कक्षमा मासिक रूपमा एक कलाकारको सृजना समावेश गर्ने गर्छ ।

प्रदर्शनीमा पोट्रेट, ल्यान्डस्केप, क्रिएटिभ, सूक्ष्म र वाइल्ड फोटो समावेश छन् । जहाँ नेपालको परिचयन दिने तस्बिर बढी छन् । आङ्देम्बे फोटोग्राफीमा पनि अढाई दशकदेखि निरन्तर साधनारत छन् । हरेक प्रकारका फोटोग्राफीमा पोख्त उनी आफू स्वयम्चाहिँ पोट्रेट, ल्यान्डस्केप र कलात्मक फोटोमा काम गर्न मन पराउँछन् । जीवन र जगत्को अज्ञात सौन्दर्य खोजीको एक मार्ग फोटोग्राफी पनि हो भन्ने उनी ‘शब्द र भाषामा मात्र होइन, फोटोमा पनि कविता भेटिन्छ ।’ त्यस्तो फोटोग्राफीलाई उनी ‘पोइटिक फोटोग्राफी’ भन्न रुचाउँछन् ।

‘सियन’ नर्वेको प्राचीन र ऐतिहासिक सहर हुनका साथै विश्वप्रसिद्ध कवि/नाटककार हेनरिक इब्सेनको जन्मभूमि पनि हो । यस्तो स्थानमा महिनाभर एउटा कलाकर्मीका रूपमा स्थान पाउने आङ्देम्बे पहिलो नेपाली हुन् ।

सँगसँगै बाम्ले कम्युनको ब्रातोभेतमा पनि उनको अर्को फोटो प्रदर्शनी चलिरहेको छ । दक्षिण नर्वेका लोकप्रिय फोटोग्राफरको साझा क्लब ‘ग्रेन्डल्यान्ड फोटो क्लब’को व्यानरमा १२ फोटोग्राफरको ४५ वटा फोटोग्राफी सहभागी छन् । जहाँ आङदेम्बेको ‘प्रेमको आकाश’ ‘रंगहरूको जंगल’ र ‘ईश्वरको रंग’ शीर्षकका तीन फोटो सहभागी छन् । यो प्रदर्शनी मे पहिलो साताबाट सुरु भएर जुनभरि रहनेछ । नर्वेजियन फोटोग्राफरबाहेक आङदेम्बे विदेशीमूलका एकमात्र सहभागी फोटोग्राफर हुन् । नर्वे संसारभरका ल्यान्डस्केप फोटोग्राफरको स्वप्नदेश हो । त्यसमाथि फोटोग्राफी विधालाई नर्वेमा कलाको उत्कृष्ट विधामध्ये एकमा हेर्ने गरिन्छ । आङ्देम्बे भन्छन्, ‘हरेक कुराको भाष्य र मूल्य निर्माण गर्न आवश्यक हुने रहेछ । भाष्य र मूल्य निर्माण गर्न संस्कार र संस्कृति निर्माण गुर्नपर्ने रहेछ । यहाँ मैले फोटोग्राफीको महत्व बुझ्न पाएँ । सिक्न पाएँ ।’ उनलाई यो अभियानमा ‘द नेसन्स फ्यालेङ्स’ नामक संस्थाले पनि साथ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्