
चितवन । जिल्लाको इच्छाकामना गाउँपालिकाले कोरोना भाइरसको संक्रमणबाट बच्न बाहिर जिल्लाबाट आउनेलाई हात धोएपछि मात्रै प्रवेश गर्न दिइएको छ ।
गाउँपालिका भित्रिने नाकामा साबुनपानीसहित स्वास्थ्यकर्मी खटाइएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन् । गुरुङका अनुसार ‘लकडाउन’मा पनि अत्यावश्यक कामविशेषले अन्यन्त्र जिल्लाबाट आउनेलाई हात धुन लगाई कोरोना सचेतनासम्बन्धी परामर्श दिने गरिएको छ ।
ज्वरोलगायत सामान्य स्वास्थ्य परीक्षणसमेत गरिने र शंका लागे अस्पताल पठाइने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले १० श्ययाको क्वारेनटाइन तयार गरिसकेको छ । वडा नम्बर ४ कुरिनटारमा सात श्यया र वडा नम्बर ५ मुग्लिनमा तीन श्ययाको क्वारेनटाइन तयार गरिएको अध्यक्ष गुरुङले जानकारी दिइन् । उनले विदेशबाट आएकाको तथ्यांक सङ्कलन गर्ने काम भइरहेको र आवश्यक परे सबै वडामा क्वारेनटाइन बनाइने सुनाइन् ।



