सिट संख्या बाँडफाँड एक/दुई दिनभित्रै : खोटाङमा माओवादीको दाबी



दुर्छिम (खोटाङ) । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’ले सिट बाँडफाँड एक/दुई दिनभित्रै टुंगो लाग्ने जिकिर गरेका छन् ।

खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय प्रदेश नम्बर १ विराटनगरका मन्त्री राईले सिट बाँडफाँडका लागि बनेको समितिसम्बद्धले नीतिगत रूपमा अघि बढाएको कामलाई आधार मानेर यस्तो जिकिर गरेका हुन् ।

‘स्थानीय तह निर्वाचनले निकालेको नतिजा, वडादेखि पालिकासम्मको प्राप्त जनमत र ०७४ को प्रतिनिधसभा तथा प्रदेशसभा निर्वाचनलाई मुख्य आधार मानिन्छ,’ उनले थपे, ‘सबैलाई आधार बनाएर न्यायोचित ढंगले सिट बाँडफाँट हुनेछ ।’

मुख्यतः जनमतको मूल्यांकन गरिने उनको बुझाइ छ । ‘कसको जनमत बलियो छ । त्यो हेरिन्छ,’ उनले तुवाचुङ डटकमसँग भने, ‘एउटा पार्टीले टिकट पाउँदै गर्दा उम्मेदवार बलियो भएन भने हार्न नपरोस् भनेर आधार तय गरिनेछ ।’

‘प्रतिनिधसभा सदस्यका लागि खोटाङमा माओवादीले दाबी गरेको छ,’ उनले सुनाए, ‘काँग्रेसले पनि माग्दै आएको छ । अन्य दलले पनि त मागेका होलान् ।’

जिल्लामा चार र संघमा पाँचदलीय गठबन्धन पक्का भएको उनले जानकारी गराए । लोकतन्त्र बचाउन र संविधान सुरक्षार्थ गठबन्धन आवश्यक रहेको उनको ठम्याइ छ ।

प्रतिक्रिया दिनुहोस्