
एउटा कविताले गोलीको आवाज जित्न सक्छ ?
सहभागी त्यही प्रश्नको उत्तर खोज्दै थिए । जसको हातमा कलम थियो र मनमा प्रतिरोध । त्यही प्रतिरोधस्वरूप मनोज र झपेन्द्रजस्ता हजारौंले आमूल परिवर्तनको खातिर सहिद बने ।
२०४८ साउन १६ गते ।
फरक ठाउँ । तर, एकै समयमा खोटाङ र कास्कीमा राज्यद्वारा पड्काइएको बन्दुकले दुई युवाको चिच्याउने आवाजको हत्या गर्यो । तर, त्यो आवाज बिलाएन । झन् घन्किँदै गयो । आजसम्म घन्किरहेकै छ ।
तीन दशकपछि पनि ती दुईका नाममा कविता लेखिन्छन् । किताब बन्छन् र कार्यक्रम चलिरहन्छन् । स्मृतिको चिहान होइन, चेतनाको चुलो सहिद मनोज–झपेन्द्र स्मृति प्रतिष्ठान र एकीकृत कर्मचारी संगठनको संयुक्त आयोजनामा काठमाडौंमा कविता प्रतियोगिता भयो । प्रतियोगिताको मूल सन्देश थियो, ‘स्मृति केवल गमको छाप थिएन, त्यो चेतनाको ननिभ्ने दियो थियो । जहाँ समाजले उज्यालो अनुभूति गरिरहन्छन् ।’
सहिदलाई सम्झन एकथरीले फूल चढाउँछन्, अर्काथरीले कविता लेख्छन् । सहिद स्मारिकाको विमोचन गर्नु भनेको इतिहास दस्तावेजीकरण गर्नु हो । प्रतियोगितामा प्रमुख अतिथि एवम् नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भुपाल राईले ‘सहिद स्मारिका’ नामक पुस्तक विमोचन गरे । स्मारिकामा २०८१ को मनोज र झपेन्द्रको सम्झनामा छनोटमा परेका २० प्रतियोगीका कवितासहित सहिदका योगदान, आन्दोलन र त्यो कालखण्डको अवस्थाबारे चर्चा गरिएको आयोजकले जानकारी गराए ।
कुलपति राईले भने, ‘विरोध गर्नेहरू सधैं सजायका पात्र बनाइएका छन् । अन्ततः तिनै पात्रले इतिहास रच्ने गर्छन् ।’ र, त्यसैको साहित्यिक रूप थियो– कविता प्रतियोगिता । प्रतियोगिताले प्रतिरोधको नयाँ आवाज जन्माउने र आगामी दिनमा उनीहरूले भ्रष्टाचारविरुद्ध कविता लेखन सुरु गरेर एक जनाबाट भ्रष्टाचार गर्न रोक्न सकियो भने त्यो उल्लेख्य उपलब्धि हुने उनको धारणा थियो ।
प्रतियोगिताका लागि देशभरिबाट १३९ कविता प्राप्त भएको थियो । त्यो नेपाली देवनागरी लिपिको मात्रै । यसै सन्दर्भलाई जोडेर आयोजकले मातृभाषाको सम्मानार्थ मातृभाषी अनुवाद नेपाली भाषाको प्रतियोगिता गराउन सुझाए ।
त्यो केवल कविता प्रतियोगितामात्रै होइन, त्यसले मनोजको विचारको पुनर्जन्म र झपेन्द्रले सास फेरिरहनु हो ।
उत्कृष्ट २० कवितामध्ये विनेश राई (प्रथम), अस्मिता वादी (द्वितीय), लक्ष्मी पौडेल (तृतीय) र सन्जु थापा (सान्त्वना) लाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियोे । पुरस्कारले केही नगरे पनि एउटा सन्देश भने टाँसिएको देखिन्छ ।
कविता केवल मनोरञ्जनको वस्तु होइन; यो शस्त्र पनि हो, जब न्यायको भाषा बन्द गरिन्छ । ती दुई सहिदका नामम हामी बोल्दै छौं । कसैले तिनलाई भ्रष्टाचारविरुद्धको क्रान्तिकारी भन्छन्, कसैले अनाहकका सहिद ।
मनोज र झपेन्द्र भुलेर बस्ने नाम होइनन् भन्नेमा सबैको एकमत छ । उनीहरू कवितामार्फत पुनः जन्मँदै जानेछन् । कहिलेकाहीँ लाग्छ, ‘कविता लेख्ने र बन्दुक पड्काउने हातबीचको लडाइँ अझै बाँकी छ ।’



