
खोटाङ । कांग्रेस १ नम्बर प्रदेश महामन्त्री भूपेन्द्र राई प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी रामप्रसाद दंगाललाई पछि पार्दै राई खोटाङ प्रदेशसभा (ख) सदस्यमा निर्वाचित भएका हुन् ।
नवनिर्वाचित प्रदेशसभा सदस्य राईले १६ हजार ४९६ मत प्राप्त गरेका थिए । एमाले जिल्ला कमिटी खोटाङ अध्यक्षसमेत रहेका दंगालले १४ हजार ३५६ मत पाएर दोस्रो बने । राईभन्दा दंगालले २ हजार १४० मत कम पाएका हुन् ।
‘आमयुवा पुस्ताका प्रेरणा अनि सशक्त प्रतिभा,’ हलेसी तुवाचुङ नगरपालिका उपमेयर रमेश राउतले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘भूपेन्द्र राई आज खोटाङको भोलि मुलुककै उज्ज्वल राजनीतिक भविष्य हुनुहुन्छ ।’
काठमाडौंको भृकुटीमण्डपमा रहेको आरआर क्याम्पसबाट विद्यार्थी राजनीति थालेका नवनिर्वाचित प्रदेशसभा सदस्य राई दिप्रुङ चुइचुम्मा गाउँपालिका पूर्वअध्यक्षसमेत हुन् । उनले आरआर क्याम्पस नेविसंघ इकाइ समिति उपसभापतिदेखि थालेको राजनीतिक यात्रा काँग्रेस १ नम्बर प्रदेश महामन्त्री, गाउँपालिका अध्यक्ष हुँदै प्रदेशसभा सदस्यमा बाजी मार्न सफल भएका हुन् ।
पालिका अध्यक्ष रहँदा उनले उदाहरणीय, सराहनीय र अनुकरणीय काम गरेको खोटाङमा चर्चा गरिन्छ ।
संवत् २०३५ असार १५ गते जन्मेका भूपेन्द्र राईले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका छन् । राई इतिहासका ‘गोल मडालिस्ट’ पनि हुन् ।
प्रदेशसभा (ख)का उम्मेदवार प्रेमकुमार राई (जसपा), सुवास राई (खम्बुवान राष्ट्रिय मोर्चा), ध्यानप्रसाद ढकाल (नेमकिपा) र बिमला राई (मंगोल नेसनल अर्गनाइजेसन)ले क्रमशः ९३५, ३१३, १०९ र १०१ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय खोटाङले जनाएको छ ।



