
काठमाडौं । हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा र २ डिकुवाबाट काठमाडौंमा बसोवास गर्ने युवाले एकै ठाउँमा बसेर गरेको छोटो छलफलले संगठित रूप लियो । त्यो होे– डिकुवा बाहुनीडाँडा सेवा समाज तदर्थ समिति गठन ।
संवत् २०८० भदौ १६ गते देवराज राई (सोनाम सज्जन किराती) को नेतृत्वमा बनेको तदर्थ समितिले गतिविधि निरन्तर गर्दै गयो । समाजले ०८२ भदौ ११ गते पहिलो साधारणसभा गर्यो ।
साधारणसभाले तदर्थ समिति विघटन गर्दै पुनः देवराज राईकै अध्यक्षतामा नयाँ कार्यसमिति पुनःगठन गर्यो । समितिका उपाध्यक्ष रोमिका राई, सचिव टार्जन राई, कोषाध्यक्ष पवित्रा राई, सदस्य मनरती राई, यामबहादुर मगर र संगीत राई रहेका छन् ।
मिलन कान्छा किराती संरक्षक रहेको समितिका सल्लाहकारमा समेन्द्र राई, घनेन्द्र राई र निश्मा चाम्लिङ रहेका छन् ।
जिउँदाको जन्ती, मर्दाको मलामी
समाज स्थापनाको मूल मन्त्रै हो, ‘आपतविपतमा एकैठाउँ उभिनु ।’ संरक्षक मिलन कान्छा किरातीका अनुसार, आपत–विपत, सुख–दुःखमा होस्टेमा हैंसे गर्दै उभिने संस्कृति जोगाइराख्न समाजले महत्वपूर्ण भूमिका खेलेको छ ।
काठमाडौंमा बसोवास गर्दै आएका बाहुनीडाँडा र छरिएका डिकुवावासीलाई एकै ठाउँ उभ्याउँदै, आपसी सम्बन्ध मजबुत पार्दै, सहयोगी हात फैलाउँदै समाज अघि बढिरहेको छ । आपतविपतमा सहयोग जुटाउनेमात्र नभई, समाजले विगतमा सामाजिक तथा सांस्कृतिक गतिविधिसमेत गर्दै आएको छ ।
भविष्यको दृष्टि
साधारणसभामा विगतका गतिविधि समीक्षामात्रै गरिएन, नयाँ संकल्प गरिएको छ । समाजले युवालाई खेलकुदमार्फत प्रोत्साहन गर्ने, दुवै वडाका समुदायलाई अझ सशक्त सामाजिक कार्यमा उपस्थित गराउने निर्णय गरेको छ ।
काठमाडौंको भीडभाडमा हराइरहेका गाउँघरका अनुहार फेरि एक ठाउँमा ल्याउने समाज ‘एकतामै शक्ति छ’ भन्ने धारणाको सशक्त उदाहरण बनेको छ ।



