वाग्द्वारतिर बरालिँदा



काठमाडौंको जोरपाटीबाट व्यस्त र कालोपत्रे सडकलाई ११ः१५ मा छाडेपछि नागबेली बाटो जगडोल (सहिद पार्क) हुँदै कौडोबाट वाग्द्वारका लागि दुई मोटरसाइकल धुलो र कच्ची बाटो उकालियो । उकालिएको मोटरसाइल १२ः३० बजे तारेभीर पुग्यो ।

तारेभीर आफैंमा सफा र सुन्दर । होम स्टे, केही होटल र गुम्बा उस्तै लोभलाग्दा । काठमाडौं उपत्यका चियाउने उरत्तर–पूर्वोत्तरको टुप्पो । केही समय तारेभीरमा विश्राम गरियो । स्थानीय जनजीवनबारे जनकारी लिएपछि बाटो लाग्यौं । जंगलको कच्ची बाटो, शिवपुरी राष्ट्रिय निकुञ्जको यात्राले रोमाञ्चक बनाएकै थियो । नागी गुम्बा पुगेपछि मोटरसाइकल रोकिए । त्यसपछि हामी तीन फिरन्तेको वाग्द्वार यात्रा सुरु भयो ।

दिउँसो १ः०० बजे नागी गुम्बाबाट सुरु भएको यात्रा उकालो र तेर्सो घुम्ती पछ्याउँदै, फोटो खिच्दै त कहिले जीवन र जगत्बारे गफिँदै उकालो चढियो । गुराँस, फलाट, काफल, चुत्रो र अंगेरीले सजिएको जंगलमा पाखाभरि बँदेलले खनेर मकै छर्न ठिक्क पारेको बारीझैं देखिन्थ्यो ।

शिवपुरी राष्ट्रिय निकुञ्ज आफैंमा इतिहास बोकेर लमतन्न फैलिएको उपत्यकाको जीवनरेखा थियो । सहरलाई वातानुकूलित बनाउँदै पानी खुवाउने सुन्दर प्रकृतिको जगत् थियो ।

यो पदमार्ग बूढानीलकण्ठबाट मुलाबारी, देउराली, वाग्द्वार, चिसापानी, धाप ड्याम, मणिचुड हुँदै साँखुसम्म पछ्याउने तन्नेरीहरू बाक्लै भेटिन्थे । चराचुरुङ्गीको चिरबिर र फक्रिनै लागेको गुराँसले यात्रालाई थप रोमाञ्चक बनाउने नै भयो । हामी दिउँसो ३ः२० बजे वाग्द्वार पुग्यौं ।

बाघको आकृतिबाट झरेको चिसो पानी । २ः३० घन्टाको पैदल हिँडाइपछि चिसो पानी पिउँदा अमृतसमान लाग्यो । कलकल झरेको धारो । कलात्मक प्रस्तर मूर्ति । शान्त र रमणीय वातावरण । वाग्द्वार (बागमती नदीको मुहान) जगत्प्रतिको अनुबोध गराउने प्राकृतिक सौन्दर्य आफैंमा अनुपम लाग्छ । केही समयको विश्रामपछि फोटोमा कैद गर्दै ४ः१५ बजे वाग्द्वारलाई मनभरि सजाएर फक्र्यौं ।

तेर्सो र ओरालो बाटो । जाँदाभन्दा फर्कंदा सहज । वाग्द्वारबाट एक घण्टामा नागी गुम्बा आइपुग्यौं । भोक असाध्यै लागेको थियो । गुम्बाको पसलमा बिस्कुट, चटपटे र नुनचिया पियौं । घाम घर फर्कंदै थियो । उसको लालिमा देख्दा साँझको संकेतमा बिदा मागेझैं लाग्थ्यो । गुम्बाबाट देखिएको उपत्यकाको सुन्दर दृश्यले त्यत्तिकै मोहित बनायो ।

प्रतिक्रिया दिनुहोस्