‘काँठको क्लर्क’को ‘अन्तिम पात’ बजारमा


साहित्यकार नारायण ढकालको नवीन निबन्धसंग्रह ‘अन्तिम पात’ पाठकमाझ आएको छ । ढकालको उन्नाइसौं किताब हो । ‘यात्रा’, ‘पठन’ र ‘पूर्वपीठिका’ गरी तीन खण्डमा विभक्त निबन्धसंग्रहमा उनका संवत् २०५७ देखि ०७९ सम्मका निबन्ध समेटिएका छन् ।

‘२२ वर्षभित्र लेखिएका २२ वटै निबन्ध संग्रहमा परेका छन्,’ साहित्यकार ढकालले भने । पत्रपत्रिकामा पूर्वप्रकाशित र केही नयाँ निबन्ध संगृहीत ‘अन्तिम पात’ले आफ्नो निबन्ध लेखनको ‘ट्राजेक्टरी’लाई नक्सांकन गरेको उनले बताए ।

बेला पब्लिकेसन्सद्वारा प्रकाशित संग्रहमा ‘दर्शनशास्त्र चपाइरहेको ढाडेमुसो’, ‘प्रज्ञा : पञ्चायतको जुठो टपरी’, ‘हजुरबाको रेड बुक’, ‘शीतांग सहरमा लंगडो घोडा’लगायत पाठकद्वारा अत्यधिक रुचाइएका निबन्ध संकलित छन् ।

आफूलाई ‘काँठको क्लर्क’ भन्ने साहित्यकार ढकालका थुप्रै सिर्जना काँठको परिवेश, मनोविज्ञान र राजनीतिक–सामाजिक आयामले भरिपूर्ण छन् । मूलपानी, काठमाडौंमा २०१० मा जन्मेका उनी ०२८ देखि निरन्तर लेखनमा सक्रिय छन् ।

उपन्यास, कथा र निबन्धमा तेजस्वी उपस्थिति रहेको उनका सात कथासंग्र्रह सहरयन्त्र (२०५०), इरफान अली (२०५१), बहिर्गमन (२०६१), आत्महन्ता (२०६२), इन्द्रजाल (२०७१), नारायण ढकालका कथा (२०७३), तमस (२०७६); पाँच उपन्यास— पीत संवाद (२०५५), दुर्भिक्ष (२०६१), प्रेतकल्प (२०६५), वृषभ वध (२०७१), हजार माइलको बाटो (२०७४); तीन निबन्धसंग्रह तीन संवत्सर (२०५२), शोकमग्न यात्री (२०६९), अन्तिम पात (२०८०), दुई बालकथासंग्रह— मुसेकान्छाको करामत, गोमाको यार्लिङ; कवितासंग्रह नरकको ढोका प्रकाशित छन् । उनका दुई अनुवाद किताबसमेत प्रकाशित छन् ।

०२७ देखि ०३२ सम्म हंगी जेनरेसनको ‘समर्पित कार्यकर्ता’ रहेका ढकाल माक्र्सवादबाट प्रभावित भएदेखि नेपाली वामराजनीतिमा कहिले प्रच्छन्न र कहिले प्रखर रूपमा अविच्छिन्न सक्रिय छन् । माक्र्सवादी धाराभित्र सिर्जन–स्वतन्त्रताका पक्षमा दृढ उनी कम्युनिस्ट आन्दोलनभित्रका जडताविरुद्ध जीवन–व्यवहारमा र रचनामा पनि प्रतिबद्ध लेखक हुन् ।

‘अन्तिम पात’का निबन्धमा ढकालका निजात्मक अनुभूतिदेखि नेपाली समाज तथा जनजीवनका विभिन्न आयामका कलात्मक बान्कीमा प्रस्तुत भएका छन् । यो उनको तेस्रो निबन्धसंग्रह हो ।

प्रतिक्रिया दिनुहोस्