नारीप्रधान ‘अस्मिता’ पुनः प्रकाशन



काठमाडौं । नारीप्रधान पत्रिका ‘अस्मिता’ पुनः प्रकाशन भएको छ । नेपाली पत्रकारिताको इतिहासमा लामो समय प्रकाशन भएर स्थगित अस्मिताको संस्थापक सम्पादक अञ्जु क्षेत्री र सुसन मास्के हुन् ।
अस्मिताको प्रेरक साहित्यकार पारिजात थिइन् । पारिजात अस्मिताको स्तम्भकारसमेत थिइन् ।

समयानुकूल अनलाइन र छापा संस्करणमा उपलब्ध अस्मिता प्रकाशनको जिम्मेवारी डा. महेश मास्केले लिएका छन् । अस्मिताले पुनःप्रकाशनको आफ्नो सम्पादकीय नीतिमा ‘विचारशील महिलाको विशिष्ट पत्रिका’ नारा लिएको छ ।

संवत् २०४५ वैशाखमा अस्मिताको पहिलो प्रकाशन भएको थियो । अस्मिताको पछिल्लो सम्पादकीय समूहको नेतृत्व कुमारी लामा, गीता त्रिपाठी र लक्ष्मी रुम्बाले गरेका छन् ।

यसैगरी, निनु चापागाईं, अरुणा उप्रेती र सुधा त्रिपाठीले सल्लाहकारको भूमिका निर्वाह गरेका छन् ।

अस्मिताको पुनः प्रकाशनको पहिलो अंकमा डा. महेश मास्के, धनकुमारी सुनार, रीता शाह, कैलाश राई, लक्ष्मी रुम्बा, अभय श्रेष्ठ, राजकुमार दिक्पाललगायतका लेख समेटिएका छन् । ‘पितृसत्ता र भुँइमान्छेहरू’ अस्मिताको आवरण शीर्षक रहेको छ भने डा. मीना आचार्यको व्यक्तित्वलाई प्रकाशमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्