माओवादीमा लाग्यो भनेर घरपरिवारमा रुवाबासी



संवत् २०६० माघ ५ । जीवन राई ‘संगीन’ले तविन राई (दुर्छिम)सँग दाम्लीमै चिनजान गराए । म र ग्याविन्द्र राई दामली थियौं । ०५८ मंसिरमा डिकुवा र बाहुनीडाँडाबाट अस्मिता र प्रतिभालगायत माओवादीमा हिँडेका थिए । त्यसअघि युवराम राई ‘सन्देश’ र लक्षमण राई ‘सागर’ हलेसी क्षेत्रबाट माओवादीका ‘होलटाइमर’ बनिसकेका थिए ।

कमरेड सन्देश दाम्ली माध्यमिक विद्यालयमा आइरहन्थे । सन्देश र सम्बरबहादुर राई ‘सुचन’ घनिष्ठ थिए । त्यसताका माओवादीमा हिँड्न इच्छुक युवा थुप्रै थियौं । विविध कारणवश ग्याविन्द्र र ममात्रै ‘होलटाइमर’ बन्यौं । अरूले आँट गरेनन् । ग्याविन्द्र र म माओवादीमा हिँड्ने पक्कापक्की भयो । ज्वाला, संगीन र निर्मला दाम्ली माविका पूर्वप्रधानाध्यापक हरि खड्काको घरमा भेटिए । खड्कानिवासबाट हामी पार्टीको झोला बोक्छौं भनी पक्कापक्की गरेर घर फर्क्यौं ।

०६० माघ ५ गते गाउँ छाड्यौं । देश र जनताका हितमा बलिदान दिन तयार भएर पार्टीमा हिँडेका हामीलाई घरपरिवार छाड्न कत्ति पनि अप्ठ्यारो लागेन । स्कुलभन्दा अलि तल्तिर खानीगाउँ छ । बलुई, बाइटार हुँदै अघि बढ्दै छौं भन्ने अरूलाई भ्रम होस् भनेर खानीगाउँभन्दा मास्तिर जंगलबाट ड्वाडे पीपलतिर तेर्सियौं । त्यहाँबाट नामेल्खा, मौरे, डिखोला झरेर डिकुवा बास बस्यौं ।

छोरा माओवादीमा मर्न हिँड्यो भनेर घरपरिवारमा रुवाबासी चल्यो । ग्याविन्द्र र मलाई खोज्न बुवा बाईटारपट्टि गएछन् । हामी भने डिकुवा पुगिसकेका थियौं । डिकुवा–बाइटारको दूरी झन्डै १० किलोमिटर फरश रहेको छ । त्यस रात बेलुका हामी नयाँ माओवादी र डिकुवालीबीच संगीनले चिनजान र कुराकानी गराए ।

स्थानीय नरबहादुर खड्काले खानाको प्रबन्ध मिलाएका थिए । खड्का डिकुवा एमालेका पुरानो कार्यकर्ता मानिन्थे । उनले ग्याविन्द्र र मलाई राजनीतिक यात्राको उत्तरोत्तर प्रगतिको शुभकामना दिए । देश र जनतालाई धोका नदिन सुझाए ।

सोनाम सज्जन किराती

खड्काकहाँ खाना खाएर स्थानीय एमाले नेता छत्रबहादुर राईको गोठमा बास बस्ने निधो गर्यौं । राईको गोठमाथि सजिसजाउ कोठा थिए । कोसी गड्तीरको गोठ । गर्मी ठाउँ । गर्मीमा सुत्ने ठाउँ शीतल चाहिने भएकाले बेंसीमा तलामाथि कोठा व्यवस्था गरिएको घर तथा गोठ बनाइन्छन् । हामीले गोठमै आश्रय लियौं ।

कमरेडहरू मस्त निदाए । म निदाउन सकिनँ । मन शान्त थिएन । म बिहान ३ बजेसम्म निदाउन सकिनँ । घर छाडेर माओवादीमा हिँडेको पहिलो रात । विशेषतः दुस्मन (सेना र पुलिस)को डर हुँदोरहेछ । जब–जब निदाउन लागेको हुन्थें, सुरक्षाकर्मी बुट बजार्दै माओवादी खोज्दै आइपुगेजस्तो लाग्थ्यो । त्यस्तो सुनेपछि वरपर हेर्थें । कमरेडहरू सुतिरहेको देख्थें । आफू भने सुत्न सकेको होइन ।

बिहान पाँच बजे उठेर परेड खेल्न निस्क्यौं । जीवनमा पहिलोपटक परेड खेल्दै थिएँ । हामी चारैजनाले सामान्य सैनिक तालिम सिक्यौं । बम बोक्ने र पड्काउने तरिका सिकें । त्यहाँबाट हामी बाखोर, छोम्पाङ, भुम्जुबाट गाउँ छाडेर च्यास्मिटार हुँदै जनयुद्धको लामो यात्रामा निस्क्यौं ।

जनयुद्धबाट प्राप्त ज्ञान मेरानिम्ति महत्वपूर्ण शिक्षा बन्यो । यही व्यावहारिक ज्ञानले म सक्षम र समृद्ध छु । फराकिलो छु । व्यावहारिक छु । मैले माओवादीमा लागेर सिकेको सबैभन्दा ठूलो शिक्षा भनेकै दमनमा हराएको सामाजिक न्याय खोज्नु हो । पीडितलाई अधिकारसम्पन्न र सक्षम बनाउनु हो ।

प्रतिक्रिया दिनुहोस्