
काठमाडौं । पछिल्लो समय इतिहास अनुसन्धानमा रहेका पत्रकार तथा लेखक राजकुमार दिक्पालको नयाँ पुस्तक ‘पृथ्वीनारायण शाह : आलोचनात्मक इतिहास’ बजारमा आएको छ ।
मञ्जरी पब्लिकेसन्सले उक्त पुस्तकको प्रकाशन गरेको हो । लेखक दिक्पालको यो पाँचौं कृति हो । यसअघि उनको एक कथासंग्रह र इतिहाससम्बन्धी तीन पुस्तक प्रकाशित छन् ।
राजा पृथ्वीनारायण शाहका योगदानसम्बन्धी अनेकौं पुस्तक र गाथा प्रकाशित भइसकेका छन् । तर, उनका कमजोरी र आलोचनात्मक ऐतिहासिक पक्षलाई समेटेर लेखिएको यो पहिलो पुस्तक हो ।
‘नेपाली इतिहासमा पृथ्वीनारायण शाहबारे धेरै पुस्तक लेखिए पनि उनकाबारे नलेखिएका वा नअटाएका पक्षलाई यो पुस्तकमा समेट्न पाएकोमा गौरव गर्न पाएका छौं,’ पुस्तक प्रकाशक मञ्जरी प्रकाशनले उल्लेख गरेको छ ।



