
जनयुद्धताकाका आवश्यकता असीमित थिए । राज्यसत्ताविरुद्ध लड्न बन्दुक र गोली किन्न सक्नेलाई आर्थिक सहयोग माग्थ्यौं । त्यसनिम्ति माओवादी नेता तथा कार्यकर्ताले गाउँ–गाउँ, बस्ती–बस्ती पुगेर आर्थिक संकलन तीव्र पारेका थिए । त्यसै सिलसिलामा पुण्यबहादुर मगर ‘हिरण्य’को नेतृत्वमा १३ जना माओवादी साबिक डिकुवा गाउँ विकास समिति–४ दाम्ली आइपुगेका थिए । त्यतिबेला गाविस अध्यक्ष लालकेशर राई थिए ।
माओवादीले देशैभरिका गाउँ विकास समिति अध्यक्षलाई सहयोग मागेका थिए । साबिक डिकुवा गाविस अध्यक्ष लालकेशर राई थिए । अध्यक्ष राई असाध्यै पारदर्शी । कार्यकाल सकिएपछि खोटाङका ७६ गाविसकै कार्यमूल्यांकन हुँदा डिकुवा गाविस आर्थिक पारदर्शितामा पहिलो भएको थियो ।
तात्कालिक जिल्ला विकास समिति खोटाङबाट त्यसरी सम्मानित लालकेशर राई उस्तै कर्मठ र इमानदार पनि । त्यसको ज्वलन्त उदाहरण माओवादीलाई दिएको चन्दालाई लिन सकिन्छ । माओवादीले उनलाई ५० हजार रुपैयाँ चन्दा माग्यो । उनले गाविसबाट होइन, ऋण काढेर माओवादी जनयुद्धलाई सहयोगस्वरूप ५० हजार सहयोग गरे । त्यही ऋणका कारण उनी मलेसिया पुगे । पाँच वर्ष मलेसिया बसेर साहुको ऋण चुक्ता गर्ने डिकुवा गाविसका भूपू अध्यक्ष लालकेशर राईजत्तिका इमान–जमान भएका जनप्रतिनिधि भए देश उँभो लाग्न कत्ति लाग्दैनथ्यो । हिजोआज त वडाध्यक्षलाई मासिक तलब व्यवस्था छ । त्यतिबेला थिएन ।
हिरण्य हाम्रै डिकुवाली
हिरण्यको वास्तविक नाम धेरै पछि मात्रै थाहा भयो । उनी जनताको मनसाय बुझ्न निकै सिपालु । डिकुवामा माओवादीको प्रभाव थिएन । माओवादीलाई हाम्रोतिर वाम्बुले भाषामा
(क्वरोतिच्व) मामाहरू भन्थ्यौं । उनै मामाहरू एक साँझ बन्दुकैबन्दुक भिरेर दाम्ली आइपुगे । हिरण्य डिकुवा बलुइको मगर भइदिए । आफ्नै गाउँका मान्छे माओवादीको जिल्ला कमान्डर बनेको थाहा पाउँदा स्थानीय मख्ख परे । गरिब, शोषित, पीडितले न्याय पाउने लोभमा गाउँलेहरू उनीसँग नजिकिन थाले । बलुइको हिरण्य मगर भनेर दाम्लीमा चर्चाको विषय बन्यो । त्यसपछि माओवादीप्रति डिकुवालीको आकर्षण ह्वात्तै बढ्यो ।

यो संवत् २०५८ तिरको कुरा हो । जतिबेला माओवादीबारे राज्यले सबैभन्दा खराब प्रचार प्रसार गर्थे । माओवादी गाउँमा आए बस्न नदिनू, लखेट्नू वा सुरक्षाकर्मीलाई जानकारी दिनू भन्दै सञ्चारमाध्यममार्फत सूचना प्रवाह गरिन्थ्यो । माओवादीहरू जनतासँग सेल्टर लिन सजिलो होस् भनेर जुन ठाउँ पुग्यो, आफूहरू त्यही आसपासका हौं भन्थे ।
माओवादीको रात्रिकालीन कार्यक्रम
दाम्ली माध्यमिक विद्यालय दाम्लीका प्रधानाध्यापक सत्यकुमार राईको घरमा माओवादीले बेलुकाको खाना खाए । बास पनि त्यहीं बसे । प्रअ राई बुइपाली हुन् । राजनीतिक आस्थाका हिसाबले एमालेनिकट मानिन्थे । प्रअनिवासमा एमाले नेता तथा कार्यकर्ताको जमघट भइरहन्थ्यो । साह्रोगाह्रो पर्दा समस्या समाधान गर्न वा सोधपुछका लागि उनी रोजाइमा परेका थिए । उनी आफूलाई समाजसेवीसमेत भन्थे । अध्यापन अलावा सामाजिक काममा सरिक हुन्थे ।
दाम्ली आइपुगेका १३ जना कमरेडलाई पहिलो रात बास दिने प्रधानाध्यापक राई थिए । राईकी श्रीमती शशीकला राईचाहिँ दाम्ली उपस्वास्थ्य चौकीका मासिका थिइन् । माओवादीले दाम्ली भञ्ज्याङ, नामेल्खा, ड्वाडे, खानीगाँउवासीलाई विद्यालय भवनको पूर्वमा रहेको बरपीपलमा भेला हुन उर्दी गरिसकेको थियो । उल्लिखित गाउँका प्रत्येक घरबाट एकजना अनिवार्य उपस्थितिका लागि आह्वान गरिएको थियो । राति ९ बजिसक्दा तोकिएको ठाउँमा गाउँले भेला भइसकेका थिए ।
‘कार्यक्रम अवधिभरि कतै जान पाइँदैन । कोही कतै जानुपरे मञ्चमा खबर गर्नुहोला,’ उद्घोषकले आह्वान गरे, ‘हामी माओवादी जनसेनाको सुरक्षा घेरामा छौं । दुस्मन आउन सक्छ भनेर हाम्रा सेनाले सेन्ट्री गरिरहेका छन् । तपाईंलाई दुस्मन (शाही सेना) ठानेर गोली हान्न सक्छन् । दिसा–पिसाब लागेमा भनेरमात्रै जानुहोला ।’ कार्यक्रम अवधिभर गाउँले अनुशासित भएर बसे । मानौं उनीहरूले वक्तालाई सुनेरै रातको २ बजाए ।
माओवादीले मार्छ, काट्छ, खान्छ भन्ने आतंक फैलाइएको थियो । तर, सत्य होइन रहेछ । माओवादी जहाँ पुग्छन्, त्यहाँका स्थानीयलाई कुटानीपिसानी गर्न सघाउने, जुठो भाँडो माझिदिने र घरवरिपरि सरसफाइमा सहयोग गरिदिने कामले चर्चा पायो । उसले गरेको सानातिना कामले माओवादीप्रति आकर्षण झन् बढायो ।



