
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान प्राज्ञसभा सदस्य एवम् रावासावा प्राज्ञिक समाज नेपाल उपाध्यक्षसमेत रहेका चन्द्र रानाहँछा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका खोटाङका अर्गानिक कवि हुन् । रानाहँछाको कविताले स्थानीयताको रहस्यमा हुर्केको किरात मुन्दुमको शब्द विम्बमा खेलाएर कविता लेख्न सिपालु छन् । उनको मुख्य पेसा चित्रकलासाथै लेखन पनि हो ।
नेपाल प्रज्ञाप्रतिष्ठानको ६०औं वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रिय कविता प्रतियोगिता–२०७४ प्रथम उनी युवा वर्ष मोती पुरस्कार–२०७५ र किरात बहुआयामिक युवा पुरस्कार–२०७५ अनि खोटाङ प्रतिभा पुरस्कार–२०८१ लगायत दुई दर्जन बढी पुरस्कारले सम्मानित प्राज्ञ चन्द्र रानाहँछासँग तुवाचुङ डटकमका लागि सोनाम सज्जन किरातीले गरेको कुराकानीको सम्पादित अंश :
तपाईं ललितकला प्रज्ञाप्रतिष्ठान प्राज्ञ हुनुहुन्छ । ललितकलाको अवस्था कस्तो छ ?
नेपालमा ‘ललितकला प्रज्ञाप्रतिष्ठान पनि छ है’ भन्ने देशैभरिका कलाकारलाई ज्ञात हुने गरी काम भइरहेको छ । कलाको परम्परागत मूल्य–मान्यता र परिभाषालाई सकेसम्म परिवर्तन गरिनुका अलावा त्यसका संकीर्णता, सीमा र आयाम फराकिलो बनाउँदै देशैभरिका कलाकारको पहुँचसँग प्रतिष्ठानलाई जोड्ने लक्ष्य रहेकोे छ । सोही लक्ष्यअनुसार काठमाडौंको नक्सालमा मात्रै खुम्चिएको प्रतिष्ठानलाई सातै प्रदेश तथा स्थानीय तहसम्म पुर्याइरहेका छौं । प्रत्येक जाति, समुदायको इतिहास, पहिचान, संस्कृति र ज्ञानलाई कलाको मूल विषय बनाएर संरक्षण गर्दै स–सम्मान आर्थिक विकाससँग जोड्ने उद्देश्यसाथ प्रतिष्ठानले काम गरिरहेको छ ।
तपाईंको लेखनमा मुन्दुमको प्रभाव धेरै देखिन्छ । संकीर्ण दृष्टिबाट हेर्नेले कत्तिको गाली गर्छन् ? या यसको बजारीकरण सस्तो भएन र ?
जुन समुदायको आफ्नै मौलिक भाषा, धर्म, संस्कार, संस्कृति र दर्शन हुन्छ, त्यो उसको पहिचानमात्रै नभएर मूल धार पनि हो । जहाँ ऊ सम्मानपूर्वक उभिएको हुन्छ । मुन्दुम मेरो जीवन दर्शन हो । जसको जगमा निर्मित जुनसुकै कला या साहित्यलाई म आफ्नो मूलधार मान्छु । यसर्थ, प्रभावको कुरै रहेन । जसले लेखकको जीवन दर्शन बुझ्दैन या सिर्जनाको भावभूमि अथवा सौन्दर्य पत्तो लगाउने ल्याकत राख्दैन, ऊ दृष्टिकोणमा चुक्छ । गालीगलौजमा उत्रन्छ । त्यस्तै सस्तो र महँगो बजारीकरण देख्ने मनोविज्ञान पनि उसको अर्धचेतनकै उपज हो भन्ठान्छु ।

तपाईंको मुख्य पेसा ‘आर्ट’ हो । अहिलेको प्रविधिले जीविकोपार्जनका लागि समस्या पारेको छ कि छैन ?
तीव्र विकास र प्रविधिलाई रोक्न सकिँदैन । त्यसविरुद्ध लाग्ने कुरै भएन । पछाडि फर्कन छुट छैन । तर, हाम्रो परम्परागत पेसालाई समयानुकूल प्रविधिसँग ‘अपडेट’ गर्न नसक्ने हो भने जीविकोपार्जनमात्रै नभएर आर्थिक, सामाजिक जीवनमा समेत अपूरणीय क्षति पुग्छ । जहाँसम्म मेरो कुरा छ, जसोतसो समय पछ्याउने यत्न गरिरहेको छु ।
प्राज्ञले पहिचानको आन्दोलनलाई कसरी लिएका होलान् ? आन्दोलनमा लेखकहरू कमजोर भए कि ?
पहिचानको आन्दोलन अर्थहीन भएको छ । हामी पनि सेलायौं । र पनि, हामीलाई ग्लानि छैन । ग्लानि नहुनु सबैभन्दा ठूलो कमजोरी हो । पहिचानविरोधी अझ भनांै राज्य सत्ताले हाम्रो खास कमजोरी के हो ? भन्ने राम्रोसँग भेउ पाएका छन् । जुन बेला हाम्रो आवाज एकठाउँ हुनुपथ्र्यो तर दुर्भाग्य हामी विभक्त भयौं । आफू–आफू दगुर्यौं । हो, त्यसबेला हामीले एकतामा शक्ति हुन्छ भनेर स्वीकारेनौं । यहींनेर चुक्यौं । तर, फेरि पनि सिंगो पुस्ता त अझै बाँचेको छ भन्ने हेक्का राख्नैपर्छ । यसलाई पुष्टि गर्ने दायित्व अब हामी लेखकको हो ।
नेपालको राजनीतिले नश्लीय रूप लिएको टिप्पणी गरिन्छन्, ललितकलामा के देख्नुहुन्छ ?
हिजोको मनोवैज्ञानिक संरचना र दृष्टिकोणबाट ललितकला निकै माथि उठिसकेको छ । उसले नश्लीयताको व्याख्या गरेको अनुभूति गरेको छैन ।

तपाईंलाई मन पर्ने पाँच साहित्यकारको नाम लिनुपर्दा ?
मन पर्ने साहित्यकार धेरै छन् । पाँचजनाको मात्रै नाम लिन अप्ठ्यारो छ । नाम लिनैपर्दा लक्ष्मीप्रसाद देवकोटा, इन्द्रबहादुर राई, ईश्वर वल्लभ, पारिजात र श्रवण मुकारुङ ।
व्यस्तताको बाबजुद पनि आफूलाई समाज सेवामा जोड्नुभएको छ । समय कसरी व्यवस्थापन गर्नुहुन्छ ?
आफू सुरक्षित रहन आफ्नो कर्मलाई प्राथमिकतामा राखेरमात्रै दाँयाबाँया सोच्नुपर्छ । मलाई मेरो कर्मसित जोड्न समाजको पनि उत्तिकै महत्वपूर्ण भूमिका छ । मेरो कर्मको लय र प्रकृति पनि आफ्नो नियन्त्रण र अनुकूलमा रहने भएकाले कर्मसँगसँगै समाजप्रतिको भूमिकामा सकेसम्म सहजतापूर्वक आफूलाई उभ्याउन सकेको छु ।



