
दुर्छिम (खोटाङ) । प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार जयन्द्रकुमार राईले ६० गाई पाल्दै आएका छन् । खोटाङबाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार राईले ताथलीछाप भक्तपुरमा गाई पाल्दै आएका हुन् ।
पालिएकामध्ये २२ वटा गाईले दूध दिइरहेका छन् भने कतिपय ब्याउन लागेका छन् । ‘तपाईंसँग कुराकानी गरिरहँदा दैनिक २२० लिटर दूध उत्पादन भइरहेको छ,’ नेता राईले थपे, ‘प्रतिलिटर ११० ले दूध बेचिरहेको छु । दैनिक दूध बेच्दा २४ हजार २०० हुन्छ । तर, गाईका लागि दैनिकजसो २५ हजारभन्दा बढी खर्च भइरहेको छ ।’
तत्कालका लागि फाइदा नभए पनि गाईपालन विस्तार गर्दै लैजाने उनको भनाइ छ । ‘फाइदा गर्न गाई थप्नुपर्ने हुन्छ,’ उनले सुनाए, ‘अब ५० वटा गाई थप्दै छु । त्यति गर्न सकें भने धेर–थोर फाइदा हुनेछ ।’
ताथलीछापको गाई फार्ममा उत्पादित दूध काठमाडौं, ललितपुर र भक्तपुरसम्म पुर्याइन्छ । बजारको माग धान्न सकिएको छैन । ‘हाम्रो फार्मको दूधमा एक थोपा पानी हालिँदैन । बाल्टी पखाल्दा पर्यो भनेमात्रै,’ उनले गर्व गरे, ‘दूध खानेले थाहा पाइहाल्छन् । एकपटक खाएपछि महँगो पर्यो भनेर छोडेकाले पुनः हाम्रै फार्मको दूध माग गरिहाल्छन् ।’

गाई फार्ममा नौजनाले रोजगारी पाएका छन् । साढे तीन करोड रुपैयाँ लगानी भइसकेको छ । तीन परिवार त गाई फार्ममा ढुक्कै बस्छन् । गाई थप्ने भएकाले कामदार राखिराखेको नेता राईले बताए ।
हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमनिवासी नेता राईले गाईसँगै भैंसी पनि पालेका छन् । ‘अहिले एक माउ दूध दिने भैंसी र चार पाडापाडी छन्,’ उनले जानकारी गराए, ‘पाँच माउ भैंसी बेचिदिएँ ।’
गाईभन्दा भैंसीको दूध महँगो पर्छ । ‘प्रतिलिटर १२० रुपैयाँमा भैंसीको दूध बेचिरहेको छु,’ उनले भने, ‘गाईको दूध सबैले खाँदैनन् । तर, भैंसीको दूध सबैले खान मिल्छ ।’
प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार जयन्द्रकुमार राईले निकट भविष्यमा तराई र पहाडमा दुईवटा पेट्रोलपम्प र सिमेन्ट फ्याक्ट्री सञ्चालन गर्दै छन् ।



