‘हाम्रो दुर्छिम, हरियो दुर्छिम’ बनाउन प्रदीप राई ‘माइला’को वडाध्यक्षमा उम्मेदवारी



साल्तेम्मा (दुर्छिम) । ‘हाम्रो दुर्छिम, हरियो दुर्छिम’लाई मूल मुद्दा बनाउँदै हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम वडाध्यक्षमा उम्मेदवारी दिएका प्रदीप राई ‘माइला’ले चुनावी अभियानलाई तीव्र बनाएका छन् ।

वडाध्यक्षका उम्मेदवार राईले आसन्न स्थानीय तह निर्वाचनमा ‘एक पालिका, एक वडा, एक विशेष पहिचान, माओवादी केन्द्रको अभियान’लाई आत्मसात् गर्दै सातवटा चुनावी प्रतिबद्धतालाई मुखरित गर्दै आएका छन् ।

आफू निर्वाचित हुँदा कृषि/उद्योग, सडक/विद्युत्, खेलकुद/प्रविधि, शिक्षा/स्वास्थ्य, संस्कृति/पर्यटन, वन–जंगल/वातावरण र सामाजिक सुरक्षा/एकीकृत बस्ती निर्माण अर्थपूर्ण काम गर्ने नेता प्रदीप राई ‘माइला’ले वडावासीसमक्ष प्रतिबद्धता जनाएका छन् ।

युवा नेता प्रदीप राई ‘माइला’को राजनीतिक यात्रा

युवा नेता प्रदीप राई ‘माइला’को राजनीतिक पृष्ठभूमि कलाकारिताबाट सुरु भएको हो । युवा नेता राईले ‘कम्युनिस्टको झन्डा फरर’ शीर्षाकृत गीतमा गरेको मनै लोभ्याउने नृत्यको हिजोआज पनि चर्चा चल्छ ।

दुर्छिम माध्यमिक विद्यालय छापडाँडामा ९ कक्षामा अध्ययन गर्दैगर्दा उनी नेकपा (एमाले)को अनेरास्ववियु ६ नम्बर इलाका अध्यक्ष भए । समय बदलिँदै गयो । मुलुकमा दसवर्षे जनयुद्ध सुरु भइसकेको थियो । जनयुद्ध सशक्त बनाउन माओवादी नेता गाउँ–गाउँ पसे । माओवादीले दुर्छिम माविमा कार्यक्रम राखेको थियो । तात्कालिक नेकपा माओवादी नेता पुण्यबहादुर आले ‘हिरण्य’सँग माइलाको त्यहीं भेट भयो । यो संवत् ०५७ को कुरा हो । हिरण्यले ‘कन्भिस’ गरेपछि पार्टीको ‘होलटाइमर’ बन्ने निधो गरे । तर, उनलाई परिवारलेस्वीकृति दिएन ।

‘होलटाइमर’ नबने पनि माओवादीसँग नजिकिए । ०५८ मा ६ नम्बर एरियाको मिलिसिया इन्चार्जको भूमिका पाए । ०५९ देखि गतिविधि व्यापक बनाइयो ।

०६१ देखि अर्धभूमिगत भए । अर्धभूमिगत शैलीमा पदीय भूमिका निर्वाह गरे । उनले तीन वर्ष प्लाटुन कमान्डरको भूमिका निर्वाह गरे । यो कलाकारपट्टिको भूमिका हो । कलाकारितामा पनि सैन्य कमान्ड हुन्थ्यो । सेक्सन, प्लाटुन, कम्पनी, ब्रिगेड कमान्ड हुन्थ्यो । तीन सेक्सनको एउटा प्लाटुन हुन्छ । हो, उनी त्यसका कमान्डर ।

त्यसपछि ?

कलाकारको सैन्य कमान्ड सम्हालेको तीन वर्षपछि पुनः कलाकारितामै फर्के । त्यतिबेलाको चोमोलोङ्मा जनसांस्कृतिक परिवारको नामै काफी थियो । पछि लालकिरात जनसांस्कृतिक परिवारमा परिणत भयो । त्यसैमा आबद्ध उनी लालकिरात जनसांस्कृतिक परिवार खोटाङको पूर्वउपाध्यक्ष हुन् ।

माओवादी शान्ति प्रक्रियामा आएको दुई वर्षपछि ६ नम्बर एरिया खोटाङका सचिव भए । यो ०६५ को कुरा हो । त्यतिबेलै उनी पार्टीको जिल्ला कमिटी सदस्य थिए । पार्टी एकतापछि बनेको नेकपा दुर्छिमको अध्यक्ष उनी माओवादीको आठौं महाधिवेशनदेखि हलेसी तुवाचुङ नगरपालिका नगर कमिटी वरिष्ठ उपाध्यक्षको भूमिका छन् ।

विभिन्न भूमिकामा रहेर जनताका सेवामा समर्पित युवा नेता प्रदीप राई ‘माइला’ले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । यत्तिको योगदान पु¥याउने युवा नेतालाई वडावासीले ‘हाम्रो दुर्छिम, हरियो दुर्छिम’ बनाउने अवसर दिनेछन् भन्ने उनी ढुक्क छन् ।

वडाध्यक्षका उम्मेदवार प्रदीप राई ‘माइला’को प्रतिबद्धतापत्र

१. कृषि/उद्योग

(क) एक घर, एक पोखरी, एक करेसाबारी बनाइनेछ ।

(ख) एक टोल, एक उत्पादन क्षेत्र बनाइनेछ ।

(ग) ‘कृषि प्रोत्साहन पुरस्कार’ व्यवस्था गरिनेछ ।

(घ) माछापालन क्षेत्र र अन्नबालीको उत्पादन बिक्री केन्द्र बनाइनेछ ।

(ङ) बंगुर, बाख्रापालनका लागि ‘एक टोल, एक पशु फार्म’ निर्माण गरिनेछ ।

(च) साना उद्योगलाई प्रोत्साहन गर्दै रोजगारी सिर्जना गरिनेछ ।

(छ) ‘हाम्रो दुर्छिम, हरियो दुर्छिम’का लागि सुनकोसी–रावाचुङ (चन्डीडाँडा), हैदे, मयाङ्खु लिफ्टिङ सिँचाइ योजना र साना–साना सिँचाइ लिफ्टिङ गरेर हरियो दुर्छिम बनाइनेछ ।

२. सडक/विद्युत्

(क) होलेसुङ–जनकराज राई मार्गलाई स्तरोन्नति गरी कालोपत्रे गर्नु केन्द्रसम्म पहल गरिनेछ ।

(ख) हाल खनिएको वडाभरिका सम्पूर्ण सडकलाई स्तरोन्नति गरिनेछ ।

(ग) वडामा सडक पुग्न बाँकी सम्पूर्ण टोलमा ‘ग्रामीण कृषि सडक’ निर्माण गर्दै दुर्छिम रिङरोड बनाइनेछ ।

(घ) वडामा बिजुली पुग्न बाँकी टोलमा कम्तीमा एक वर्षभित्र विद्युत् पु¥याएर उज्यालो दुर्छिम बनाइनेछ ।

३. खेलकुद/प्रविधि

(क) एक टोल, एक खेलमैदान निर्माण गरिनेछ ।

(ख) वडास्तरीय एक व्यवस्थित खेलमैदान बनाइनेछ ।

(ग) प्रत्येक वर्ष ‘वडाध्यक्ष कप’ खेलकुद प्रतियोगिता गरिनेछ ।

(घ) विद्यालय, चोक तथा पार्कमा क्रमशः ‘फ्रि वाइफाई’ व्यवस्था गरिनेछ ।

४. शिक्षा/स्वास्थ्य

(क) दुर्छिम माविलाई बहुमुखी क्याम्पस बनाइनेछ ।

(ख) सबै सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर विकासका लागि दक्ष शिक्षक तथा भौतिक पूर्वाधार विकास गरिनेछ ।

(ग) प्रत्येक टोल–टोलमा बालशिक्षा कक्षा सञ्चालन गर्दै व्यवसायी तथा प्राविधिक शिक्षामा जोड दिइनेछ ।

(घ) वडामा रहेको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी २५ शय्याको आधुनिक अस्पताल बनाउन प्रदेश र केन्द्रमा पहल गरिनेछ ।

(ङ) कृषि, पशु, स्वास्थ्य, इन्जिनियरिङलगायतका प्राविधिक विषयमा अध्ययन गर्ने गरिब, जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति व्यवस्थाका

लागि पहल गरिनेछ ।

५. संस्कृति/पर्यटन

(क) डीपीआरअनुसार होलेसुङगढी क्षेत्रको सम्पूर्ण काम गरिनेछ ।

(ख) जुरेथुम, कालिका मन्दिर, ताराखसे, काचुपात्ला चमेरेगुफालाई धार्मिक पर्यटकीय स्थल बनाइनेछ ।

(ग) बतासेमा सुनकोसी जिपलाइन, स्वीमिङपुल बनाइनेछ ।

(घ) महादेवबेंसी–बतासे र्याफ्टिङ सञ्चालन गर्न सम्बन्धित निकायमा पहल गरिनेछ ।

(ङ) हरेक धर्म, भाषा, संस्कार, संस्कृतिको खोज अनुसन्धान तथा संरक्षण गरिनेछ ।

(च) सांस्कृतिक होमस्टे बनाइनेछ ।

(छ) हलेसीगढीमा हलेसीका प्रथम शासक होलेसुङको विशाल प्रतिमा राखेर होलेसुङकोे खिम्ले दरबारलाई पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गर्न गुरुयोजना निर्माण गरिनेछ ।

६. वन–जंगल/वातावरण

(क) वडास्तरको सामुदायिक वनको प्रभावकारी ढंगले संरक्षण सम्बद्र्धन गरिनेछ ।

(ख) उपयुक्त थलो छानेर ‘जडीबुटी क्षेत्र’ बनाइनेछ ।

(ग) सिँचाइसहित स्तरीय नर्सरी निर्माण गरिनेछ ।

७. सामाजिक सुरक्षा/एकीकृत बस्ती

(क) छिटो र सजिलो सार्वजनिक सेवा प्रवाह गर्दै सामाजिक सुरक्षा भत्ता घर–घरमा पुर्याइनेछ ।

(ख) कम्तीमा एक हजार घरधुरी संख्या अटाउने भूगोल हेरेर वडास्तरीय ‘एकीकृत बस्ती’ निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्