एनआरएनए एनसीसी कतार कार्यसमिति सदस्यमा हलेसीका राईको उम्मेदवारी



दोहा (कतार) । गैरआवासीय नेपाल संघ, राष्ट्रिय समन्वय परिषद् कतार कार्यसमिति सदस्यका जीवन राईले उम्मेदवारी दिएका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रे खोटाङनिवासी राईले गैरआवासीय नेपाल संघ, राष्ट्रिय समन्वय परिषद् कतार कार्यसमिति कतारको २०२३–२०२५ कार्यकालका लागि कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका हुन् ।

वैदेशिक रोजगारीका लागि कतारमा रहेका उनले कार्यसमिति सदस्यमा निर्वाचित भए कतारमा रहेका श्रमजीवी नेपालीले भोग्नुपरेको विविध समस्या अर्थपूर्ण ढंगले ‘फास्ट ट्र्याक’बाट समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘नेपालीका लागि नेपाली’ भन्ने मूल मान्यतालाई आत्मसात् गर्दै विभिन्न शीर्षकमा कतारमा रहेका संसारभरिकालाई नेपाल घुम्न प्रेरित गर्ने उनको भनाइ छ ।

सामाजिक संघ संस्थाको विभिन्न भूमिका रहेर काम गरिसकेका खोटाङ सेवा समाज कतार उपमहासचिव जीवन राईले आफूलाई कार्यसमिति सदस्यमा निर्वाचित गराउन एनआरएनए कतार कार्यसमितिसम्बद्ध पदाधिकारी तथा सदस्य, अग्रज, व्यवसायी, परिषद् सदस्य, बुद्धिजीवी, सामाजिक अभियन्ता, सञ्चारकर्मी र कतारमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीसमक्ष आग्रह गरेका छन् ।

‘नेतृत्वका लागि कार्यदक्षता र अनुभवको आधार, युवा श्रमिकहरूको पहुँचयुक्त एनसीसी कतार’ भन्ने मूल नारासहित बिहीबार र शुक्रबार कतारमा हुने अधिवेशनका लागि ८ हजार ९५१ जनाले मतदान गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्