
मंगलटार (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले जनश्रम आधारभूत विद्यालय घुर्चु मंगलटारलाई अक्षय कोष स्थापनाका लागि नगर कार्यपालिकाबाट ५० हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छन् ।
हलेसी तुवाचुङ नगरपालिकाकी मेयर राईले जनश्रम आधारभूत विद्यालयले विजयादशमी र शुभदीपावलीको पूर्वसन्ध्यामा गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा यस्तो प्रतिबद्धता जनाएकी हुन् ।
वैदेशिक रोजगारीका लागि कोरियामा रहेका मंगलटारसहितका नेपालीबाट प्राप्त ६५ हजार रुपैयाँमध्ये ४३ हजारबराबरको शैक्षिक र खेलकुद सामग्री खरिद गरी वितरण गरिएको थियो ।
जनश्रम आधारभूत विद्यालयका प्रधानाध्यापक शिवकुमार अधिकारीले ‘उत्पादनसँग अभिभावक, उत्पादनसँग विद्यार्थी’ शीर्षाकृत अभियान अघि सारेको जानकारी गराए । जनश्रम आधारभूत विद्यालयका प्रधानाध्यापक अधिकारीले विद्यार्थी र अभिभावकलाई उत्पादनसँग जोड्न एक लाख ५० हजारको अक्षयकोष स्थापना गरिने बताए ।

अक्षय कोष स्थापना लागि हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार वडाध्यक्ष गण राई १० हजार सहयोग गरेका छन् । वडाध्यक्ष राईले वडा कार्यालयबाट अक्षयकोष निर्माणका लागि सहयोग गर्ने वचन दिएका छन् ।
जनश्रम आधारभूत विद्यालयका प्रधानाध्यापक शिवकुमार अधिकारी पाँच हजार, शिक्षक शरणकुमार राई दुई हजार पाँच सय, विद्यालय व्यवस्थापन समिति सदस्य अञ्जु राई दुई हजार पाँच सय र विद्यालय अभिभावक संघ अध्यक्ष भलमान राईबाट दुई हजार रुपैयाँ प्राप्त भएको छ ।
वैददेशिक रोजगारीका लागि कोरियामा रहेका राजिष्मा राई, मिलन राई, छविराज राई, विजय राई (मंगलटार)सहित नेपाली र थाइल्यान्डका नागरिकबाट आर्थिक सहयोग प्राप्त भएको थियो । शैक्षिक तथा खेलकुद सागम्री खरिदका लागि पठाइएको सहयोगबाट बचेको २२ हजार रुपैयाँ अक्षय कोषमा जम्मा गरिएको प्रअ अधिकारीले बताए ।



