बाटो बाजेको बिदाइ


पासाङ शेर्पाले ७० वर्षसम्म आर्थिक सहयोग मागिरहे । पाएको आर्थिक सहयोगले सडक खनिरहे । संवत् २०१५ देखि ०८० वैशाखसम्म शेर्पाले सडक खने । सगरमाथा आरोहणमा निस्केकाको आवतजावत सहज बनाउने लोभमा बाटो खन्न छाडेनन् ।

‘मैले सबै–सबै त्यागेर बाटो खनिरहेको छु । मानवीय धर्म मेरो सुन्दर संसार हो । पर्यटकलाई आवतजावत गर्न सजिलो हुन्छ भने मैले बाटो किन नखन्ने ?,’ १० वर्षअघि पंक्तिकारसँग उनले भनेका थिए, ‘बाटो बनाउँदाबनाउँदै मर्न पाऊँ ।’

‘पासाङ शेर्पाले २० देखि २२ किलोमिटरजति बाटो खने,’ खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाले भने, ‘पाँच मिटर चौडाइ रहेकाले यो बाटो आवतजावत गर्नेलाई सहज भएको हो । उनले सगरमाथाको प्रवेशद्वार नाम्चेदेखि केङ्जो, फुंगिथाँगा, तेङ्बोचे, दिबुचे र पाङ्बोचे हुँदै समारेसम्म बाटो खन्न भ्याए ।’

सगरमाथा ओहोरदोहोर गर्ने बाटो निर्माण दिङ्बोचे नाम्चेबाट सुरु गरिएको थियो । खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीका अनुसार उनले दिङ्बोचेबाट फेरिचे, पाङ्बोचे, तेङ्बोचे हुँदै नाम्चेको खोङ्माडाँडासम्म बाटो खने । एक्लो प्रयासले करोडौंको काम भएको भन्दै स्थानीय तथा पर्यटन व्यवसायीले उनको सराहना गरेको वडाध्यक्ष अधिकारी सुनाउँछन् ।

बाटो खन्नुका कारण त्यत्तिकै रोचक छ । पर्यटक भरिया भएर कालापत्थर जाँदा बाटो बिग्रेका, भत्केका थिए । त्यस्तो बाटो हिँड्दा लडेर पर्यटकको खुट्टा मर्किने, भाँच्चिने भइरहेपछि उनलाई बाटो बनाउने इच्छा जाग्यो । उनले जुक्ति निकाले, ‘यो बाटो हिँड्ने पर्यटकसँग पैसा माग्छु । अनि बाटो खन्छु ।’ त्यसका लागि सगरमाथा राष्ट्रिय निकुञ्जसँग अनुमति मागे । स्वीकृति पाएपछि बाटो खन्न थाले ।

खुम्जुङका ६३ वर्षीय ङिमा शेर्पाका अनुसार पासाङ शेर्पाले साँघुरो बाटोलाई फराकिलो बनाउन हरियो टिनको बोर्डमा चन्दा माग्नुका कारण र गरिने कामबारे अंग्रेजीमा लेखेर राखेका थिए । बोर्डछेउमा खुत्रुकेजस्तो माथि पैसा खसाल्ने मिल्नेगरी सानो प्वालसहितको बाकस राखेका थिए । बाकससँगै एउटा रजिस्टरमा चन्दादाताको नाम, ठेगाना, सम्पर्क माध्यम र सहयोग रकमको कोलम कोरे । त्यही हेरेर पर्यटकले सहयोग गरे । पाखुराले हम्मर उचाल्न सकिन्जेल आफैंले काम गरे । काम गर्न नसक्ने भएपछि कामदार राखे । उठेको सहयोगबाटै कामदारलाई पारिश्रमिक दिन्थे ।

पर्यटक र प्रशंसकको स्याबासीले बाटो खनिरहन प्रेरित गर्यो । बाटो खन्नेमोहका कारण सहयोग निरन्तर मागिरहे । त्यही सहयोगले बटुवाको पैताला राख्न सजिलोका लागि ढुंगा बिछ्याइरहे । बाटो खन्न थालेको ४० वर्षपछि भने ‘यही काम गरेर जीवन बिताउँछु भनेर प्रतीज्ञा गरेको पंक्तिकारलाई १० वर्षअघिको भेटमा सुनाएका थिए । उनको काम देखेपछि सहयोग गर्नेको विश्वास बढ्दै गयो । एउटै पर्यटकले ६/७ पटकसम्म सहयोग गरेका थिए भने उनीहरूले सहयोग रकमसमेत बढाउँदै लगे ।

सुरुका दिनमा शेर्पालाई देख्नेहरू आफ्नो देश फर्केर पुनः पाँच/सातपटक नेपाल आउँदासमेत उनको कामको निरन्तरता देखेर आश्चर्य मान्थे । ट्रेकिङ जान छाडेर उनले बाटो खन्न थाले । एकताका उनीसँगै ट्रेकिङ गएकाहरू लामो समय पर्यटकका भारी बोके । बुढ्यौली लागेपछि उनीहरू सबैले पर्यटकका भारी बोक्न छाडिसके । तर, उनले बाटो खन्न छाडेनन् ।

७० वर्षसम्म खुम्बमा बाटो खन्दा आर्थिक सहयोग गर्नेको नाम, रकम, सम्पर्क नम्बर र कुन देशका नागरिक हुन् भनेर लिखत राखे । गाउँपालिकाले सबै सहयोगीको अभिलेखीकरण थालेको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष अधिकारीका अनुसार पासाङले कति किलोमिटर बाटो खने ? कति लागतबराबरको खने ? आधिकारिक तथ्यांक कतै नभएको हुँदा गाउँपालिकाले सबै तथ्यांक संकलन थालेको हो । शेर्पाको काम सबैलाई थाहा छ । तसर्थ, किटानसाथ भन्न स्थानीय र उनका परिवारको सहयोगमा तथ्यांक संकलन थालिएको हो । उनको सम्मानमा के गर्न सकिन्छ भनेर स्थानीय र जनप्रनिधिको सल्लाह र पालिका बैठकले निर्णय गर्ने खुम्बु पासाङल्हामु गाउँपालिकाले जनाएको छ ।

बाटो बाजे अर्थात् पासाङ शेर्पाको ०८० वैशाख ३ गते निधन भएको थियो । शेर्पाको निधनले ७० वर्षदेखि बाटो खन्ने काम रोकिएको छ । अब सहयोग संकलन गरेर बाटो बनाउने काम हुने छैन । आर्थिक सहयोग गर्छु भनेर आफ्नै देशबाट योजना बनाएर खुम्बु आउने पर्यटकले चन्दा बाकस देख्ने छैनन् । खुम्बुको सरकार उपनामले परिचित पासाङ सधैंका लागि ढलेका छन् ।

संवत् १९९९ मा माप्य दूधकोसी गाउँपालिका–४ काँकु, सोलुखुम्बुमा जन्मेका उनको ८१ वर्षमा खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चेमा निधन भएको हो । बाटो खन्दाखन्दै अन्तिम सास फेर्ने पाऊँ भन्ने उनको अभिव्यक्तिजस्तै इम्च्छा प्ररन भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले उनको अन्तिम संस्कार गरेको थियो । खुम्बु पासाङल्हामु गाउँपालिकाले जनप्रतिनिधि, नाम्चे गुम्बा, नाम्चे युवा समूह र नेपाल प्रहरीसहितको सहभागितामा नाम्चेमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । गाउँपालिका अध्यक्ष शेर्पाका अनुसार ‘खुम्बुको सरकार’ अर्थात् पासाङ शेर्पाको अन्त्येष्टिमा १ लाख १४ हजार रुपैयाँ खर्च भएको थियो ।

प्रतिक्रिया दिनुहोस्