
बाटो । घरदेश जाने बाटो । परदेश फर्कने बाटो । बाटो उही । र, उस्तै । घरदेश र परदेश लाग्ने चिरपरिचित बाटो । अर्थात् पुष्पलाल मध्यपहाडी लोकमार्ग ।
कोसी प्रदेशअन्तर्गत खोटाङ, ओखलढुंगा र सोलुम्बुवासीको ओहोरदोहोर गर्ने मुख्य बाटो । भोजपुरका अधिकांश पालिकावासी र उदयपुरका पहाडी क्षेत्रमा पर्ने पालिकावासी यही बाटो भएर गन्तव्य पहिल्याउँछन् ।
पंक्तिकार घर (हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम साल्तेम्मा) जाने बाटो पनि यही हो । काठमाडौं उपत्यकाबाट घर जाँदा र फर्कंदा सवारीसाधन फरक पर्लान् तर एउटै विषयले झस्काउन छाडेको छैन ।
यो बाटो खुलेको धेरै भएको छैन । सवारीसाधन गुड्ने बाटो नखुले पनि हिँडेर काठमाडौं आउजाउ गर्ने पहिल्यैदेखि यही बाटोसँग परिचित छन् । दुर्छिम, खोटाङबाट हिँडेको सात दिनमा काठमाडौं पुगेको सुनाउनेहरू जीवितै छन् । यो बाटो पैदल ओहोरदोहोर गर्ने पंक्तिकारका पुर्खाले के–कस्ता सपना देखे होलान् ? पुर्खाले कहिल्यै भनेनन् । केही लेखनन् ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई धनकुटा कारागार (जेल) बाट स्थान्तरणक्रममा यही बाटो हिँडाइएको थियो । हत्कडी लगाएर यो बाटो हिँड्दा उनले के सोचे होलान् ? के सपना देखे होलान् ? जेहोस् प्रथम जननिर्वाचित प्रधानमन्त्री हिँडेको बाटो ।
त्यतिमात्रै होइन, १४–१४ पटक कार्यवहाक प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका बलबहादुर राई अर्थात् साइँला राईले पैदल हिँडेका बाटो । पुष्पलाल श्रेष्ठ र अशोक राईहरूले हिँडेको बाटो ।
संवत् २०८० मंसिरमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यही बाटो हिँडे । एमालेले मध्यपहाडी लोकमार्गकेन्द्रित झुलाघाट–चिवाभन्ज्याङ : समृद्धिका लागि संकल्प यात्रा अभियान पूरा गरेको थियो । दार्चुलाको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्म पूर्वप्रधानमन्त्री ओलीले समृद्धिका लागि संकल्प यात्रा गरे । यात्रामा रहँदा सुन्दर सपना देखाए । अनि सुन्दर सपना बाँडे ।
रातको ९ बजिसकेको छ । दुर्छिम, खोटाङ पुग्न हतारिएको छु । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत खाङसाङ (सिन्धुली) मा छु । भोजपुर जाने यात्रुवाहक बसमा यात्रारत छु । पंक्तिकारका पुर्खाले पैदल हिँडेको बाटो सवारीसाधन गुड्ने भएको छ । पैदल हिँड्ने अवसर नपाए पनि घरदेश र परदेश गर्दा सवारीसाधनमा गुड्न पाउनु पनि संयोग मानेको छु ।
‘सपना देख्नुपर्ने रहेछ,’ आफैंले आफैंलाई भन्दै छु, ‘सपना त लेख्नुपर्ने रहेछ । अनि सपनाप्रति आशा र भरोसा गर्नुपर्ने रहेछ ।’



