
दुर्छिम (खोटाङ) । जनता समाजवादी पार्टी नेपाल, हलेसी तुवाचुङ नगरपालिका नगर अध्यक्ष मविन्द्र चाम्लिङ राईले ११ वर्षदेखि बोकेको पार्टीको झोला बिसाएका छन् ।
‘समग्र पूर्वी पहाडमा जसपा कमजोर बन्दै गएको छ,’ अध्यक्ष राईको भनाइ छ, ‘जसपाको भविष्य अँध्यारो बन्दै गएपछि पनि पार्टीको झोला बोकिरहनु भनेको काल पर्खाउनीमात्रै भएकाले पार्टी परित्याग गरेको हुँ ।’
‘जसपाका दिग्गज नेता अशोक राई, रकम चेम्जोङ र राजेन्द्र श्रेष्ठ फरक–फरक कित्तामा उभिएका छन् । राई, चेम्जोङ र श्रेष्ठ फरक–फरक कित्तामा उभिएपछि पार्टी कमजोर बन्ने नै भयो,’ उनले थपे, ‘यसरी पार्टी बन्दैन । मधेसमा समेत पार्टी कमजोर बन्दै गएको छ । एकातिर सीके राउत र अर्कातिर रेशम चौधरीले पेल्दै ल्याएपछि जसपा कमजोर बन्ने नै भयो । कमजोर पार्टीको कमजोर कार्यकर्ता बन्न उचित लागेन ।’
तीन नेता तीनतिर । उनीहरूले सक्षम कार्यकर्तासमेत नचिन्ने भएपछि पार्टीमा रहनुको औचित्य नरहेको उनको ठम्याइ छ ।

जसपा खोटाङमा १ हजार २०० सय क्रियाशील सदस्य थिए । जसपा खोटाङमा समेत पहिरो गएको गयै छ । ‘टंक थापासँगै ४२ जनाले पार्टी परित्याग गरे । रवीन खम्बूसहित ३७ जना पार्टीमा अडिन सकेनन्,’ उनले यथार्थ सुनाए, ‘ जसपा केन्द्रीय सदस्य सूर्य राई, प्रदेश सदस्य मोहन गुरुङ, जसपा जिल्ला उपाध्यक्ष मणि राई, कोषाध्यक्ष सावित्री राई (पूर्वमन्त्री गोपाल किरातीकी सहोदर बहिनी) र जसपा खोटाङ विद्यार्थीका अध्यक्ष रोशन राईले पनि पार्टी छाडे । यो क्रम जारी छ ।’
जसपा छाडेका मविन्द्र चाम्लिङ राई जुद्ध ढाक्रेले नेतृत्व गर्ने नयाँ पार्टीमा जोडिने भएका छन् । जसपा केन्द्रीय सदस्यबाट राजीनामा दिएर ढाक्रेले राष्ट्रिय समाजवादी पार्टी निर्माण गर्ने पक्कापक्की भएको छ । राईले सोही पार्टीको ‘ढाकर’ बोक्ने जानकारी गराए ।
नेपाली कांग्रेस पृष्ठभूमि भएका नेता राईले दुई वर्ष नेविसंघमा काम गरेका थिए । उनले दुर्छिम माध्यमिक विद्यालय, खोटाङ नेविसंघ इकाइ समिति सचिवको भूमिका निर्वाह गरेका थिए ।



