८० वर्षअघि यसरी तयार पारिन्थ्यो खाँडी कपडा



दाम्ली (खोटाङ) । त्यतिबेला दाम्लीमा धेरैले कपास खेती गर्थे । ‘मेरा आमाबुवाको समयमा दाम्ली, बाइटार, बलुई, झाप्पा, स्वायोङ, सिरुवान, गोपिटार र बेताको कोसीकिनारमा सप्पैले कपास खेती गर्थे,’ हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवा, दाम्ली खोटाङनिवासी मोहनबहादुर राई (८९) ले सुनाए, ‘मैले थाहा पाउँदासम्म आमाले रातभरि कपास थुनेर पिउरी बनाएर राङ्टा घुमाउँथिन् । म पनि आमालाई सघाउँथें ।’

एकरातमा तीनलरे धागो बाटेको उनलाई हिजैजस्तो लाग्छ । कपास टिपेपछि सेतो भुवा केलाउनुपर्छ । वाइतोमा पिसेर गेडा फाल्नुपर्छ । त्यसपछि लिखिले कपास थुन्नुपर्छ । त्यसरी थुनेपछि रुवा बन्छ । रुवा हातले समाउँदा मुठ्ठीमा अटिन्जेल बोक्न हुनेजति सानो–सानो पिउरी बनाइन्छ । अनि राङ्टामा घुमाउँदै लरेधागो बनाइन्थ्यो । लगत्तै पीठोमा पकाएर धागोमा माड लगाइन्छ । त्यस्तो धागोबाट निर्मित कपडा टिकाउ हुन्थ्यो ।

लरे बनाइएको धागो प्वाल्वाङनेल्वा ठुलो पारेर बाटिन्थ्यो । अनि फिरोङतीमा राख्न हुने बनाइराख्नुपर्छ । तान बुन्दा तान साँचो रास चरा साँचो मुट्का क्रियास्याम्मे चाहिन्छ । त्यो धागो फिरोङतीदेखि लहरै एक÷दुई थान लामो साम्फा राइसिम । साम्फा राइचाम्वाल बनाउन एकजनाले मात्रै सम्भव छैन । तीनदेखि चारजना चाहिन्छ । ‘मेरी आमाले साम्फा बुन्नुहुन्थ्यो । एक तानबाट चार थान खाँडी कपडा तयार हुन्थ्यो,’ राईले थपे, ‘महिनामा १८ थान बुनिसक्नुहुन्थ्यो । तान बुन्न साँचो क्रिचाम एक दिनमा तयार नभए राइचाम धागो सुकेपछि भुइँ उठाउनुपथ्र्यो । त्यसरी खाँडी कपडा बुनिन्थ्यो ।’

तयार पारिएको खाँडी कपडा दुम्जा, सिन्धुलीतिर बेच्न लैजाने प्रचलन थियो । त्यहाँ पुर्याइएपछि काठमाडौंका काँठे नेवारले खाँडी कपडा खरिद गर्थे । त्यतिबेला एकथान खाँडीको कपडाको मूल्य दुईदेखि साँढे दुई रुपैयाँसम्ममा किनबेच हुन्थ्यो । त्यतिबेलाको पैसा एकबिटे र जोरबिटे हुन्थ्यो । नेपाली ढ्याके पैसालाई एकबिटे भनिन्थ्यो भने अंग्र्रेज सरकारको पैसालाई जोरबिटे भनिन्थ्यो । बिक्रेताले खाँडी कपडा बेचेपछि नुन, तेल र चामल किन्थे । घरबाट हिँडेको झन्डै महिना दिनपछि उनीहरू घर फर्कन्थे ।

त्यतिबेलाको समय त्यस्तै थियो । सानोतिनो युद्ध भइरहन्थ्यो । ‘यहाँको सरखार र अर्को देशको सरखारबीच युद्ध चलेको थियोे,’ उनले प्रस्ट्याए, ‘उनीहरूको केही किन्नु हुँदैन । आफ्नो पनि बेच्नु हुँदैन भन्ने हाम्रो सरखारको नीति थियो ।’ आपसमा नाकाबन्दी गरागर गर्थेे । जस्तोसुक अवस्था आइलागे पनि इज्जत ढाक्नैपर्यो । एक आङ कपडा लगाउनैपर्यो । अरूको किन्न प्रतिबन्ध लगाइएपछि दाम्लीवासी आफैं कपास खेती गरेर खाँडी कपडा उत्पादन गर्न थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्