बहानेपोखरीमा यलम्बरको ‘ड्रिम हाउस’



बहानेपोखरी (राखाबाङ्देल), खोटाङ । सामान्यतः घामपानीबाट ओतिन घर चाहिन्छ । त्यसैका लागि घर बनाइन्छ । अपवादबाहेक गाउँघरमा ढुंगामाटोकै घर बनाउनेको बाहुल्य छ । ढुंगामाटोले ठडिएको घरको छानो खरको हुन्छ । खरकै हुन्थ्यो । पछिल्लो समय खरको छानायुक्त घर पातलिँदै गएको छ ।

ऐंसेलुखर्क गाउँपालिका–१, राखाबाङ्देलका यलम्बर राईले भने फरक प्रकृतिको घर बनाउँदै छन् । राखाबाङ्देलको बहानेपोखरीमा निर्माणाधीन ‘ड्रिम हाउस’ अन्य घरभन्दा पृथक देखिन्छ । र, त्यत्तिकै आकर्षक पनि । नौवटा सिमेन्टेड पिलर ठड्याएर निर्मित ‘ड्रिम हाउस’ दुईतले हुनेछ । ‘एउटा घरभित्र हुने सबै संरचना ‘ड्रिम हाउस’मा हुनेछन्,’ राईले भने, ‘अहिले आफैं बस्नका लागि हो । भविष्यमा जे पनि हुन सक्छ ।’

दुईतले घरको माथिल्लो तलामा बरन्डा हुनेछ । बरन्डाबाट चारैतिरका मनमोहक दृश्य धितमरुन्जेल नियाल्न सकिन्छ । समुद्र सतहबाट २,४०० मिटर उचाइमा रहेको बहानेपोखरीको पश्चिमपट्टि निर्माणाधीन ‘ड्रिम हाउस’मा काठैकाठ प्रयोग गरिएको छ । निर्माणाधीन ‘ड्रिम हाउस’मा पाँच बोट कटुस र एक बोट उत्तिसको काठ प्रयोग भइसकेको छ । ‘काठ अझै चाहिन्छ,’ उनले थपे, ‘स्थानीय सामुदायिक वनमा काठ कटाएको हुँ । काठ कटानका लागि अलि धेरै खर्च लाग्छ ।’

झट्ट हेर्दा व्यापारिक दृष्टिले बनाइएको ‘ड्रिम हाउस’मा जस्तापाताको छाना हालिएको छ । ‘ड्रिम हाउस’लाई पुग्नेगरी ऐंसेलुखर्क बजारबाट ल्याइएको रातो रङको जस्तापातालाई एक लाख र नौवटा पिलरलाई ४० हजार रुपैयाँ लागेको बताइन्छ ।

गाउँ (खोटाङ) र काठमाडौं बराबर बस्दै आएका ३० वर्षीय यलम्बर राईको निर्माणाधीन ‘ड्रिम हाउस’लाई व्यापारिक प्रयोजनमा ल्याए बहानेपोखरी पुगेका आन्तरिक तथा बाह्य पर्यटक लाभान्वित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्