सामाजिक सहजकर्ताको सकारात्मक सन्देश



त्यतिबेला जातीय र लिंगीय आधारमा काम बाँडफाँड गरिन्थ्यो । पुरुष र महिलाले गर्ने काम छुट्याइएको हुन्थ्यो । सामाजिक सहजकर्ता हरि तिलुङ राईले दुवै प्रकृतिका काम गरिन् । सामाजिक सहजकर्ता राईले विद्यालय उमेर (१८ सम्म)मा गोरु दाउनेदेखि हलो जोत्नेसम्म, घर छाउने, चोया काढ्ने, बारबेर गर्ने र गह्रौं भारीसमेत बोकिन् ।

विद्यालय उमेर (१८ वर्ष)पछि सामाजिक कामका लागि उनले थुप्रै समय खर्चेकी छन् । सामाजिक कार्यअन्तर्गत समाजसँग (बालबालिका, महिला, पुरुष, एलजीबीटीक्युलक्षित वर्ग, सीमान्तकृत, कृषि, स्वास्थ्य, जलवायु, वन, वातावरण, प्रजनन स्वास्थ्य, शिक्षा, गरिबी निवारण, वैदेशिक रोजगारजस्ता सवालमा निरन्तर काम गर्दै आएकी हरि तिलुङ राईसँग तुवाचुङ डटकमका लागि दीपेन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :

मौसमी खानेकुरा स्वादिलो

सबै खानेकुरा उत्तिकै स्वाद मानी–मानी खाने गरेकी छु । मौसमअनुसारका सबै खानेकुरा स्वादिलो लाग्छ । खानकै लागि कहिलेकाहीं होटल तथा रेष्टुरेन्ट पुग्छु । पुगिहाल्दा फलफूल माग्न बिर्सन्न । पकाउनभन्दा पकाएर दिएको खान रुचाउँछु ।

७ देखि १० हजार

सबैप्रकारका पोसाक लगाउँछु । वार्षिक सातदेखि १० हजार खर्च हुन्छ । सेतो, रातो, हल्का हरियो र पहेंलो रङको पोसाक रोजाइमा पर्छन् । ‘रेडिमेड’मात्रै होइन, सिलाएर पनि पोसाक लगाउँछु । सिलाउन परे व्यावसायिक टेलर्स पुग्छु । ब्रान्डमा ‘कन्सस’ छैन । योजनाबद्ध तरिकाले कपडा किन्दिनँ । देख्दा मन पर्यो भने किनिहाल्छु । कहिलेकाहीं ‘क्याप’ पनि लगाउँछु ।

मर्निङवाक नियमित

फिटनेसका लागि बिहान–बिहान केही न केही गर्छु । तर, नियमित छैन । ‘डाइटिङ’ गर्दै आएकी छु । योगा नियमित नगरे पनि मर्निङवाकले निरन्तरता पाएकै छ ।

१० देखि १३ हजारको किताब

पाठ्यक्रमअन्तर्गत स्नातकोत्तर तहको समाजशास्त्र र राजनीतिशास्त्र पढ्दै छु । पाठ्यक्रमबाहिरका किताब पढ्नै पर्यो । पाठ्यक्रमबाहिरका किताबै मेरो विश्वविद्यालय हो । प्रगतिशील किताब पढ्न जाँगर चल्छ । आहुति, कर्ण शाक्य र सरुभक्तको लेखनीमा रमाउँछु । मसँग पाठ्यक्रमबाहिरका सय बढी किताब होलान् । सालिन्दा १० देखि १३ हजारसम्मको किताब किन्ने गरेकी छु ।

एट्लान्टिक ओसन घुम्ने रहर

घुमफिरमा असाध्यै रुचि छ । कोसी र बागमती प्रदेशका ३५ जिल्ला पुगेकी छु । अहिलेसम्म विदेश गएकी छैन । घुमेकामध्ये चितवनको सौराहा मन पर्यो । जीवनमा एकपटक एट्लान्टिक ओसन पुग्ने रहर छ ।

फुर्सद निकाल्ने हो नि !

फुर्सद कसैलाई हुँदैन भन्ने मान्यता राख्छु । फुर्सद निकाल्ने हो । मलाई पनि फुर्सद छैन । सामाजिक सहजकर्ता भएकाले दौडधुप गर्नैपर्यो । तसर्थ, कहिलेकाहीं बिदा लिएरै आराम गर्छु । घरपरिवारसँग टाढा छैन । तर, घरपरिवारलाई चाहेजति समय दिन सकेकी छैन । परिवारसँगै घुम्ने, चलचित्र हेर्ने साइत नजुरे पनि खाना खानसम्म होटल तथा रेष्टुरेन्ट पुगेकी छु ।

भलिबल–प्रेम

सबै खेल उस्तै लाग्छ । तर, भलिबल असाध्यै मन पर्छ । विद्यालय तहमा अध्ययन गर्दा भलिबल खेलेकी थिएँ ।

मिलुन्जेल प्रयोग

सामान्यखालको एन्ड्रोइड मोबाइल प्रयोग गर्दै आएकी छु । प्रयोग गर्न मिलुन्जेल अर्को किन्दिनँ । आवश्यकताका आधारमा मोबाइलका एप्लिकेसन चलाउँछु ।

सोनी–३२

टेलिभिजनमा समाचार र अन्तर्वार्ता प्राथमिकतासाथ हेर्छु/सुन्छु । त्यो पनि अलि बढी समसामयिक घटना घटेको समयमात्रै । घरमा सोनीको ३२ इन्चको टीभी छ ।

अन्य सुविधा प्रयोग नगर्ने

पछिल्लोपटक चलचित्र ‘परान’ हेरेकी थिएँ । कहिलेकाहीं हलसम्मै पुगेर चलचित्र हेर्छु । चलचित्र हेर्ने अरू सुविधा भए पनि प्रयोग गरेकी छैन । हेरेकामध्ये चलचित्र ‘दसगजा’, ‘प्रेमगीत’ र ‘बाहुबली’ हिन्दी चलचित्र असाध्यै मन पर्यो । प्रियंका कार्कीको अभिनय जीवन्त लाग्छ ।

‘नो टेन्सन’

ज्यानलाई सन्चै । अहिलेसम्म दीर्घरोगले समातेको छैन । ‘होलबडी चेकअप’ नियमितजसो गराउँछु । शारीरिक व्यायाम, मानसिक व्यवस्थापन, खानपिन, वंशानुगत र वातावरणीय प्रभावले समेत स्वस्थ रहन सघाउ पुर्याउँछ ।

भाषणअघि तयारी

सामाजिक सहजकर्ता भएकाले कहिलेकाहीं भाषण गर्नुपर्छ । आफ्नो भाषण कला आफैंले मूल्यांकन गर्दा सामान्य लाग्छ । भाषण गर्दा थेगो प्रयोग गरेको सम्झना छैन । बौद्धिक भाषण गर्ने प्रयत्न गर्छु । भाषण गरेकै आधारमा अहिलेसम्म विवादमा तानिएकी छैन । भाषण गर्नअघि तयारी गर्छु ।

चाडबाडमा मापसे

चाडबाडविशेषमा मादक पदार्थ खाने गरेकी छु । विशेषतः तोङ्वा लिन्छु । ‘हार्ड ड्रिङ्क्स’मा रुचि कम छ । घरमा ‘होम बार’ छ । मात लाग्ने गरी मादक पदार्थ खाने बानी छैन ।

नआए नि गुनगुनाउने

गीत–संगीत सुन्न मन पराउँछु । सुशान्त केसी, मेलिना राई र सुजन चापागाईंको आवाज कर्णप्रिय लाग्छ । देशभक्ति गीत सुन्न त्यत्तिकै जाँगर चल्छ । गीत गाउन नआए पनि नियमितजस्तो गुनगुनाउँछु ।

भूल गर्नु मानवीय स्वभाव

जान–अन्जानमा भूल गर्नु मानवीय स्वभाव हो । मैले पनि गरेकी छु । त्यतिबेला आमालाई प्रतिजवाफ फर्काएकोमा पछुतो लाग्छ । विद्यालय तहमा पढ्दा भूल गरेबापत सजाय पाएकी थिएँ । कहिलेकाहीं भूल नगरी पनि सजाय पाउँदा दुःख लाग्नु अस्वाभाविक होइन । आफूले भूल गरेको थाहा पाउनासाथ आत्मालोचना गरिहाल्छु ।

१० लाखको घर

आफू बस्दै आएको घर संवत् २०६८ मा बनाएकी हुँ । आफ्नै कमाइले बनेको घर सामान्य छ । वास्तुशास्त्रै ठीकै छ । त्यतिबेला १० लाखमा घर बनेको थियो ।

अझै अन्यौल

मेरो राशी कर्कट हो । ग्रहदशा सामान्य छ । दुईपटक ग्रहशान्ति गराएकी छु । ग्रह र नक्षत्रको फलप्रति अन्यौलमा छु ।

कपालमा कलर

कपालमा सामान्य कलर गर्छु । ट्रिटमेन्ट क्रिम प्रयोग गर्दै आएकी छु । समय–समयमा फेसियल गर्छु । अनुहारमा सन्स क्रिम लगाउँछु । कहिलेकाहीं स्टीम बाथ लिन्छु ।

उसको याद नआउने

विद्यालय तहमा अध्ययन गर्दा कसैसँग प्रेममा थिएँ । बुझाइमा फरक परेकाले बिहे हुन सकेन । तर पनि पहिलो प्रेमीको सम्झना आउँदैन । अन्ततः मैले प्रेमबिहे नै गरें ।

खाली बस्न नपरोस्

मुलुकमै दक्ष जनशक्ति उत्पादन होस् । उत्पादित जनशक्ति देशमै सदुपयोग गर्न सकियोस् । पदीय सपना देखेकी छैन । तर, खाली बस्न नपरोस् । त्यत्ति भए पुग्छ । खोटाङलाई यस्तै बनाउन पाए हुन्थ्यो भन्ने महत्वाकांक्षी योजना छैन । सबैले आ–आफ्नो कर्तव्य र दायित्व पूरा गर्न सकौं । सरकारी तथा सार्वजनिक संयन्त्र पहुँचयोग्य बनाउने प्रयासमा निरन्तर लागिरहनेछु ।

शाश्वत सत्य

जन्मेपछि मर्नै पर्छ । मृत्यु शाश्वत सत्य हो । शाश्वत सत्य भए पनि मृत्युसँग डर लाग्छ । प्रसव पीडाको समय मृत्युलाई जितेको अनुभूति गरेकी थिएँ । मर्नै नपरे हुन्थ्यो लाग्छ । तर, सम्भव छैन ।

प्रतिक्रिया दिनुहोस्