नौलो ज्योति मासिकको नाममा पिठ्यूँ पिल्सिने गरी दिक्तेल–गाईघाट



डिकुवा (खोटाङ) । नेकपा माओवादीको योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल) खोटाङको एरियास्तरीय संगठनमार्फत उनी दिक्तेल आइपुगेका रहेछन् । म वाईसीएलको जिल्ला कार्यालय सचिवको जिम्मेवारीमा थिएँ । उनी अर्थात् डीएम चाम्लिङको क्षमता पत्रकारिता रहेछ । हामीले लामो सहकार्य गर्यौं ।

खोटाङमा पत्रिका प्रकाशन गर्न प्रेसको समस्या थियोे । तसर्थ, उदयपुरको गाईघाट वा काठमाडौंसम्म पुग्नुपथ्र्यो । पत्रिका प्रकाशन गर्नकै निम्ति काठमाडौं पुग्न त्यति सजिलो थिएन । तर, पत्रिका जसरी पनि प्रकाशन गर्नैपर्ने थियो । हामीले गाईघाट रोज्यौं ।

अखबारीभन्दा अन्य लेखनमा मेरो रुचि थियो । संवत् २०६३ देखि लेखन यात्रामा सरिक थिएँ । तसर्थ, वाईसीएल नेपालले जिल्लाको युवा गतिविधिबारे केन्द्रीय कार्यालयलाई जानकारी पठाउने जिम्मा मलाई दिएको थियोे । त्यसनिम्ति खोटाङबाट प्रतिनिधित्व गरेर तीनदिने आधारभूत पत्रकारिता तालिममा मलाई सहभागी गराइयोे । म नयाँ विभागमा खटिएँ ।

नौलो ज्योति मासिक प्रकाशन हुने पक्कापक्की भएपछि कामको अनुभव बढाउन म स्तम्भकार भएर लेख्न थालें । खोटाङबाट जनयुद्धमा लागेका हजारौं योद्धामध्ये ७२ जनाले सहादत प्राप्त गरेको तथ्य पार्टीमा थियोे । उनीहरूको जीवनी लेख्ने जिम्मा मेरो भागमा परेको थियोे । सहिदका जीवनीसहित प्रत्येक अंकमा मेरो एक कवितासमेत प्रकाशन हुन्थ्यो ।

मैले लेख्न थालेपछि सात अंकसम्म पत्रिका नियमित प्रकाशन भयो । सातपटक म आफैं गाईघाट पुगेर पत्रिका प्रकाशन गरी जिल्ला सदरमुकाम खोटाङसम्म ल्याउँथें । प्रत्येक महिनाको ११ वा १२ गते गाईघाट जानुपर्थ्यो । मानलिनुस् यो पत्रिकाको भारी बोक्ने म गधा थिएँ । मेरो निःस्वार्थ योगदान थियोे । बदलामा सहिद स्तम्भ र एक कविता छापिन्थ्यो । मेरो पारिश्रमिक, तलब जे–जे भने पनि त्यति नै थियो ।

सोनाम सज्जन किराती

त्यतिबेला पत्रिकामा काम गर्दा पारिश्रमिकको व्यवस्था नभए पनि पत्रिकाको टिमवर्कभित्र मेरो नाम समावेश हुनुपथ्र्यो । तर, सम्पादक मण्डलले मलाई सम्झेन । पत्रिकामा मेरो नाम उल्लेख थिएन । मैले अनुरोध पनि गरिनँ । गुरु देवी रिजाल प्रधानसम्पादक थिए । सम्पादक डीएम चाम्लिङ । पत्रिका डिजाइन र सामग्री सम्पादन उनी आफैंले गर्थे । पत्रिका सञ्चालन समितिको अध्यक्षमा दीपक ढकाल थिए । संवाददाता पनि बाक्लै थिए तर मेरो नाम कतै अटाएन । तर पनि पत्रिकामा लेख्न छाडिनँ ।

पत्रिका डिजाइनपछि पेनड्राइभ बोकेर म गाईघाट झर्थें । म दिक्तेलदेखि हिँडेर खानीडाँडा, साप्सु खोलैखोला भएर रेग्मीटार, सुनकोसी भँडारेघाट, रसुवा, छाम्लिङ हुँदै पर…. पूर्वतर्फ अँधेरी अनि माथि खाँबु पुगेपछि बल्ल बस चढेर गाईघाट पुग्थें ।

हिजोआज सदरमुकाम दिक्तेलमा त अफसेट प्रेस भित्रिसकेको छ । त्यसबखत दिक्तेलबाट दुई दिन हिँडेर बल्ल खाँबु पुगिन्थ्यो । कष्टकर बाटो हिँडेर खाँबुबाट बसमा साउने हुँदै बरुवाखोला, बोक्से अनि गाईघाट पुगिन्थ्यो । यसरी म धेरैपटक दिक्तेल–गाईघाट र गाईघाट–दिक्तेल गरेको छु ।

पेन्ड्राइभ पे्रसमा बुझाउनसाथ पत्रिका प्रकाशनका लागि पालो आउँदैनथ्यो । पालो कुर्नुपथ्र्यो । पालो कुर्नेक्रममा गाईघाटआसपास रहेका आफन्त, इष्टमित्रसँग भेटघाट गर्थें । पत्रिका प्रकाशनपछि पत्रिका बोकेर दिक्तेल हान्निन्थें । हिजोआज नौलो ज्योति प्रकाशन हुन्छ, हुँदैन थाहा छैन । तर, म अखबारी लेखनबाट टाढिएको छैन । काम गर्न पद होइन ‘प्लेटफर्म’ पो प्रधान रहेछ ।

प्रतिक्रिया दिनुहोस्