
डिकुवा (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा खोटाङनिवासी गोगनबहादुर बेता बस्थे । भौगोलिक हिसाबले बेता गैह्रामा पर्छ । राईलाई गाउँघरतिर झ्वाम्पे पनि भनेर बोलाइन्छ ।
पदमबहादुर राई (हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम चुमाखु) तमसुक लेख्न नामुद मानिन्थे । साइनोले पदम झ्वाम्पेको भिनाजु हुन् । भिनाजुले सालोलाई तमसुक लेख्न सिकाए । सालोले तमसुक लेख्न जाने । तमसुक लेख्न जान्ने हुँदा झ्वाम्पेलाई संसार जितेजस्तो लाग्नु अस्वाभाविक होइन । आफूले सिकेको सीप व्यवहारमा उतार्न उनले कत्ति पनि अल्छी गरेनन् ।
बेताका गोगनबहादुर राई कामविशेषले साबिक छिमेकी गाउँ पञ्चायत पुगे । गाउँ पञ्चायतका प्रतिष्ठित व्यक्तिको घरवरिपरिका रुख काटिएका थिए । राईले सोचे गाईबस्तुलाई काटेर खुवाइयो होला । खुल्दुली मेट्न उनले सोधे, ‘हजुरले घरवरिपरिका सबै रुख काट्नुभएको रहेछ । घरवरिपरि हरियाली देखिनु राम्रो होइन र ?’
‘हुन त हो । घरवरिपरिका रुखले मेरो मकैका थाँक्रो छल्यो,’ प्रश्नकर्ताको उत्तर दिँदै उनले भने, ‘रुखले छलिएपछि थाँक्रो कसैले देख्न नपाउने भए । त्यसैले काट्न लगाएको हुँ । मेरो थाँक्रो वल्लो, पल्लो, माथिल्लो र तल्लो गाउँका सबैले देख्नुपर्यो नि ।’
प्रतिष्ठित व्यक्तिको उत्तर सुनेपछि गोगन बेताबाट सिसिङा बसाइँ सरे । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र २ नम्बर वडा डिकुवाको सीमामा पर्छ– बेता । उनी बेता छाडेर छाडेर भुम्जुडाँडामुनिको सिसिङामा घर बनाएर सरे । उनी अहिले पनि सिसिङामै बस्दै आएका छन् । ओखलढुंगाबाट समेत सिसिङा प्रस्टै देखिन्छ । चारैतिरबाट मकैको थाँक्रो देखियोस् भन्ने लोभमा बेतावासी उनले सिसिङा रोजे ।
गाउँघरमा धनीमानीले मकैको थाँक्रा देखाउन घरवरिपरिका रुख काट्थे । यो नयाँ प्रचलन होइन । रुख काटेपछि थाँक्रो देख्न र देखाउन सजिलो हुन्थ्यो । गाउँघरतिर जसको थाँक्रो ठूलो या धेरै खोपे हुन्छ, ऊ धनी हो भनेर चिनिन्थ्यो । हिजोआज पनि त्यो मान्यता कायमै छ ।



