
हलेसी (खोटाङ) । माओवादी खोटाङले हलेसीको डाँडाबजारमा सहिद प्रतीक्षालय निर्माण गरेको थियोे । प्रतीक्षालयवरपर झन्डै डेढ रोपनी जग्गामा तीन सय प्रजातिका फूल रोपिएका थिए ।
त्रिधाम हलेसी आइपुगेका भक्तजनले गुफामा फूल चढाउने गर्छन् । त्यसलाई दृष्टिगत गर्दै फूल खेतीबाट आम्दानी गर्न सकिने उद्देश्यसहित सहिद पार्कमा ‘फ्लावर गार्डेन’समेत सुरु गरिएको थियोे । ‘फ्लावर गार्डेन’ स्थापनार्थ पंक्तिकारले समेत तीन महिना श्रमदान गरेका थिए ।
पंक्तिकार भोजपुर सरुवा भएपछि सहिदको नाममा (महत) उत्पादन सहकारी स्थापना गरिएको थियोे । महतको अर्थ मंलटारका म : मोतीराज थापामगर ‘मिलन’, ह : हविन राई ‘भीम’ (दुर्छिम, छापडाँडा), त : तविन राई ‘ज्वाला’ (दुर्छिम, रातमाटे)का जनमुक्ति सेनाका सेक्सन ‘सी’, सेक्सन ‘भीसी’ र सेक्सन ‘भीसी’ थिए ।
यसैगरी, खोटाङे जनयुद्धका सहिदका नाम ताम्रपत्रमा प्रकाशन गरी सहिद प्रतीक्षालयको जग्गामा सहिद स्तम्भ राखिएको थियोे । सहिदको नामको जग्गामा संवत् २०७० पछि राजनीनिक चलखेल भयो । सो जग्गा हडपियो । टाठाबाठाले त्यसो गरेको टुलुटुलु हेर्नेको बाहुल्य रह्यो ।
सहिदको सम्मान र सम्झनामा निर्मित पार्कको नामोनिशाना छैन भने पार्कको जग्गा क–कसको नाममा पास गरियो होला ? जसको नाममा जसले जग्गा पास गरे, उसलाई सहिदका आँसुले पिरोल्नेछ ।
सहिदको आत्मा रुँदा कसैलाई भलो गर्दै–गर्दैन । यस शीर्षकमा हलेसीका तमासेज्यूहरूलाई सोधिरहनुपर्ने प्रश्न बनिसकेको छ । सहिद पार्क बेच्ने को–को हुन् ? सहिद पार्कको जग्गा हडप्ने को–को हुन ? तिनको करङ सेक्न दिन गन्ती सुरु भइसकेको छ ।



