अविवाहितलाई दुई बिहे गरेछौ नि भन्ने बाबाजी



तीस वर्ष पुगेपछि बिहे गर्ने योजनामा थिएँ । बिहे किन नगरेको भन्दा यही उत्तर दिन्थें । राजनीतिक चेतना बढ्दै गएपछि बिहेसम्बन्धी दृष्टिकोणसमेत परिवर्तन भयो । ३० वर्षसम्ममा पुरुषको चेतना वृद्धि, मानसिक रूपमा परिपक्व हुने र क्षमता विकास भइसक्ने भएकाले यस्तो दृष्टिकोण बनाएको थिएँ । यसर्थ ३० वर्ष पुगेपछि बिहे गर्ने योजना बनाएको हुँ ।

प्रेम नम्बर १

मेरो सम्पर्कमा महिला साथी थुप्रै थिए । अनैतिक होइन, नैतिक तरिकाले मसँग खुलेर बिहे गर्न तयार महिलाको नाम लिँदा फरक नपर्ला । थवाङ रोल्पाकी मगर महिला साथीले मसँग चार वर्ष प्रेम गरेकी थिइन् ।

प्रेम नम्बर २

पोखरेली गुरुङसेनी साथी, जो खोटाङमा बस्थिन्को दुईवर्षे प्रेम अनुभूति गर्न पाएँ ।

प्रेम नम्बर ३

मगर र गुरुङपछि खोटाङकै चाम्लिङ राईसँग अप्रत्यक्ष रूपमा प्रेममा थिएँ ।

प्रेम नम्बर ४

जनयुद्धको सशक्त साथी भएकाले एक कमरेडलाई मैले प्रेम प्रस्ताव राख्दा अस्वीकार नगरे पनि सम्मानपूर्वक छुट्टिएको अनुभव ताजै छ । उनले हुनेवाला श्रीमान् लाहुरे वा जागिरे हुनुपर्ने बताएकी थिइन् । म दुवै परिनँ ।

प्रेम नम्बर ५

एक महिला कमरेड क्यान्टोनमेन्ट गइन् । बिहेसम्बन्धी अनौपचारिक कुराकानी चलिरहेको थियो । अन्तिममा तपाईंसँग बिहे गर्दिनँ भनिन् । हिजोआजचाहिँ तपाईंसँग बिहे गर्न तयार थिएँ भन्छिन् । उनले हिजोआज त्यसो भनेर के गर्नु ! म ३० वर्षको हुँदा त्यसो भनिनुपथ्र्यो । उनी आजसम्म अविवाहित छिन् ।

म सामान्य परिवारको मान्छे । मेरो बालसखा राजेन्द्र राई र म असाध्यै मिल्थ्यौं । ‘तिम्रो हुनेवाली बुहारी जन्मेको छ कि छैन हौ ?,’ बालसखा राईले सुझाए, ‘हात हेराउन जाऊँ जेठा ।’ म यस्तो कुरामा विश्वास नगर्ने मनुवा । कर–कर गरेपछि हात देखाउन बाध्य भएँ । देविन्द्र राई (डिकुवा)कै घरमुनि गुफामा तपस्यारत एकनाथ आचार्य बाबासँग दर्शनभेट भयो । त्यहाँ अरू पनि थुप्रै भेटिए । अरूले पनि बाबालाई हात देखाइरहेका थिए । कोही सकेर फर्कंदै थिए । म मौन थिएँ । बाबाले मेरो अनुहार हेर्दै भने, ‘यो बाबुको हेर्नै पर्दैन ।’ त्यसपछि राजेन्द्रले बाबाजीसँग अनुरोध गरे, ‘त्यसरी कहाँ हुन्छ र बाबाजी । भाइ त हात हेराउन पाँचथरबाट आइपुगेका हुन् । हेर्दिनुपर्छ ।’

राजेन्द्रले अनुनय विनय गरेपछि बाबाजीले भने, ‘लु बस्नुहोस् ।’ बाबाजीले राखेकै आसनमा छु । उनले मेरा दुवै हात समात्दै चिनाको नाम सोधे । मैले अर्कै नाम लिएँ । ‘तपाईंको हात एकदम राम्रो छ,’ उनले थपे, ‘भरसक कसैलाई नदेखाउनू ।’

‘तपाईंको हात देखेर मलाई करेन्ट लाग्यो,’ बाबाजीले जानकारी गराए, ‘यस्तो हात पहिलोपटक छोएँ ।’ त्यसो भन्दै बाबाजीले मेरो हातमा ढोगे । त्यसपछि मेरा विगत, वर्तमान र भविष्यबारे बोल्न थाले । उनले भने, ‘बाबु तिम्रो त दुई श्रीमती रहेछन् । कि दुई बिहे गरेको हुनुपर्छ ।’ बाबाले त्यसो भनिरहँदा म अविवाहित थिएँ ।

कवितासंग्र्रह प्रकाशन र आफ्नै खुट्टामा उभिने भएपछि बिहे गर्ने अठोट लिएको थिएँ । यही सोचसाथ खोटाङबाट काठमाडौं पसें । काठमाडौं पसेपछि दुई वर्ष नेकपा–माओवादीको नेवाः प्रदेश कमिटीमा काम थालें । त्यसबखत दुःख–सुख शुभचन्द्र राई (रतन्छा) र उत्रकुमार राई ‘उत्तर’ (दोर्पा)को अभिभावकत्वमा काठमाडौंमा रहें । राईद्वय पनि नेवाः राज्य समिति सदस्य थिए ।

शुभचन्द्र राईले बिहे गर्न सुझाइरहन्थे । प्रत्येक भेटको बसाइमा राईले बिहेबारे प्रसंग जोडिहाल्थे । मैले बिहेसम्बन्धी आफ्नो मान्यता सुनाइसकेको थिएँ । उनले मलाई नजिकबाट चिनेका थिए । उनले नै शान्ता चाम्लिङ राईसँग भेटघाट गराए । कुराकानी गर्ने वातावरण मिलाइदिए । हामी निरन्तर फोनमै कुरा गर्न थाल्यौं । चाम्लिङजी २० र म ३० वर्ष पुगिसकेको थिएँ । अन्ततः २०७३ पुस ११ माओजयन्तीका अवसर पारेर हामीले बिहे गर्यौं । श्रीमती शान्ता बाँझेच्यानडाँडा, धुमाकी दिखुलीमा चाम्लिङ हुन् । म वाम्बुले बिर्वाङ्चा ।

प्रतिक्रिया दिनुहोस्