फोहोर अनुहारमा भए पनि ऐना पुछ्नुपर्ने बाध्यता



‘सरकारी कर्मचारी, शिक्षक र राजनीतिकदलसम्बद्ध नेताका सन्ततिलाई सरकारी स्कुलमा अनिवार्य पढाउने प्रावधान बनाइनुपर्छ,’ देउराली माध्यमिक विद्यालय डुम्रेकोट, खोटाङको प्रधानाध्यापक किशोर केसीको भनाइ छ, ‘हुनेखाने र हुँदाखानेले पढ्ने प्रावधना भएपछि नागरिकलाई दुई कित्तामा विभाजन गर्ने यो प्रणाली आफैंमा अव्यावहारिक छ ।’

अभिभावकको निष्क्रियता र स्वयम् विद्यार्थीबाट भइरहेको प्रविधिको चरम दुरुपयोग पनि समस्या बन्दै गएको छ । यसको अन्त्यका लागि जिम्मेवार निकाय गम्भीर हुन जरुरी रहेको जिकिर गर्ने प्रधानाध्यापक किशोर केसीसँग तुवाचुङ साप्ताहिकका लागि सोनाम सज्जन किरातीले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंको दृष्टिकोणमा शिक्षा र राजनीतिलाई व्यावहारिक बनाउन के–के उपाय बताउन चाहनुहुन्छ ?

नेपालमा दुईखाले शिक्षा प्रणाली छ– हुनेखाने र हुँदाखानेले पढ्ने । नागरिकलाई दुई कित्तामा विभाजन गर्ने यो प्रणाली आफैंमा अव्यावहारिक छ । शिक्षासम्बन्धी संविधानको धारा ३१ मा उल्लिखित पाँचवटै उपधाराको धज्जी उडाउने काम स्वयम् सरकारले गरेको छ । बन्न लागेको नयाँ शिक्षा ऐनमा समेत सरकारद्वारा यो व्यवस्थालाई यथावत् राखिनु हास्यास्पद र निन्दनीय छ । सरकारको अनुहारमा फोहोर छ । तर, ऊ ऐना पुछिरहेको छ ।

अर्को हो– सैद्धान्तिक शिक्षा । शिक्षा समयानुकूल विश्व बजारको मागअनुरूप प्राविधिक सीपमूलक प्रयोगात्मक र व्यावहारिक हुनै सकेन अर्थात् बनाइएन । शिक्षालाई जीवन, वातावरण र श्रमसँग नजोडेसम्म अर्थहीन र अनुत्पादक बन्छ । नीति निर्माता र राज्य सञ्चालकको रवैया अमिलो रोपेर गुलियोको अपेक्षा गर्नेखालको रहुन्जेल स्थिति यथास्थितिमै रहने निश्चित छ ।

शिक्षामा अब्बल जनशक्ति भित्र्याउने सरकारको नीति पखेटा कुँज्याएर उडान भर्न आदेश दिनेखालको छ । न आकर्षक सुविधा न सुन्दर भविष्यको आशा । निराशाबाट राम्रोको आशा गर्नु नै निरर्थक छ । धेरै शिक्षकको मनोबल खस्केको छ । मनोबल खस्केको योद्धाबाट युद्धमा जितको आशा गर्नु व्यर्थ छ । दर्जनौंप्रकारका शिक्षकको सेवा धरापमा छ । त्यसको उचित व्यवस्थापन नहुन्जेल उपलब्धि आकाशको फल रहिरहनेछ ।

लाग्छ– राजनीतिक कुरा थप गरिरहनु आवश्यक छैन । किनकि माथि जे–जे भनियो, ती सबैमा मूलतः राजनीति जिम्मेवार छ । यी सबै कुरा सत्ता सञ्चालकको इच्छाशक्तिमा निर्भर रहन्छ । परिवर्तन सम्भव छ । तर, तत्काल आशा गर्ने ठाउँ देखिँदैन ।

तपाईं किशोर केसी ‘बन्दी’ शिक्षक र कवि दुवै हटाएको व्यक्तिको कल्पना गर्दा कस्तो होला ? वा आफूले के गर्दा सफल भइन्थ्यो लागेको छ ?

मानिस स्वभावतः कहिल्यै सफल वा सन्तुष्ट हुँदैन । सन्तुष्टिले मानिसलाई निष्क्रिय तुल्याउँछ । जंगली गुफादेखि आजको अवस्थासम्मको यात्रा मानिसको असन्तुष्टिकै परिणाम हो । हरेक खोज, अनुसन्धान र विज्ञान विकासमा यही नियम लागू हुन्छ । के कुराचाहिँ सत्य हो भने यसको सकारात्मक विकासका लागि रुचिको क्षेत्र अनिवार्य सर्त हो । दुर्भाग्य यो छ कि हामी आजसम्म आइपुग्दा पनि आफ्नो रुचिको क्षेत्र रोजेर सीप विकास गर्ने वा सोहीबमोजिम रोजगारी अपनाउने अवसरबाट वञ्चित छौं । मेरो हकमा पनि यही लागू हुन्छ । के बन्नेभन्दा पनि परिस्थितिले के बनाउँछ भन्ने भगवान् भरोसामै बाँचिरहेका छौं । अवसर हुन्थ्यो र पाइन्थ्यो भने मेरो रुचिको क्षेत्र साहित्य र संगीतै हो । कला साहित्यको क्षेत्रमा सफलता र सन्तुष्टि दुवै पाउँथें कि जस्तो लाग्छ । महत्व र प्राथमिकताका आधारमा भने कृषि सबैभन्दा महान् पेसा हो ।

तपाईं साहित्य पनि लेख्नुहुन्छ बजार साहित्यमा कि साहित्य बजारमा रम्नुपर्छ जस्तो लाग्छ ? साहित्यसम्बन्धी पाठकलाई के सुझाव दिनुहुन्छ कि ?

यो विषय समकालीन समय, सत्ता र चेतना स्तरको सापेक्षतामा निर्भर हुन्छ । कतिपय अवस्थामा विज्ञापनको असर देखिन सक्छ । उद्देश्य पनि अर्को तत्व हो, जसले यसमा असर पार्न सक्छ । महावीर पुनको किताब कस्तो छ भन्दा पनि उद्देश्य के छ भन्ने आधारमा बिकिरहेको छ । साहित्य यस्तो सागर हो, जहाँ प्रत्येक मानिस पौरिन, तैरिन र डुबुल्की मार्न चाहन्छन् । त्यसैले मानवीय भावनासँग साक्षात्कार गर्न सक्ने साहित्यै सफल मानिन्छन् । लेख्नेहरू सबै सफल नहुनुका कारण बजारमा सम्पूर्ण साहित्य स्वीकृत नहुनु नै हो । बजारमा विविध धारमा लेखिएका साहित्यिक कृति बग्रेल्ती पाइन्छन् । त्यसमा सफल हुने शौभाग्य केहीले मात्र प्राप्त गर्छन् । त्यसैले साहित्यिक रचना स्वीकृत वा अस्वीकृत हुने भन्ने विषय पाठकमै निर्भर रहन्छ ।

बच्चा, विद्यार्थीका लागि वयस्क वा वृद्धका लागि उमेर र अवस्थाअनुसार फरक–फरक साहित्यिक रचना उपयोगी हुन्छन् । सोहीअनुसार विद्यालय तथा पुस्तकालयले पुस्तक व्यवस्थापन गर्दा ध्यान पुर्याउनु जरुरी हुन्छ ।

तपाईं शिक्षण पेसामा कहिले प्रवेश गर्नुभयो ? तपाईं संलग्न पेसागत समस्या कस्तो हो जस्तो लाग्छ ?

एसएलसी पास गरेपछि २०४५ मा छेस्काम माध्यमिक विद्यालय छेस्काम सोलुखुम्बुमा ६ महिना प्राथमिक विद्यालय अस्थायी शिक्षक भएर काम गरे पनि स्थायी शिक्षकका रूपमा बौद्ध प्रावि बहाने राखा खोटाङमा प्रावि शिक्षकमा सिफारिस भएसँगै ०४८ देखि शिक्षण पेसामा आबद्ध छु । ०५२ को शिक्षा आयोग जो पछि ०५७ मा अन्तर्वार्ता र नियुक्ति ०६० मा भयो । त्यसबेलादेखि नै हाल कार्यरत देउराली माविको माध्यमिक शिक्षकका रूपमा कार्यरत छु । ०६९ मा २५ प्रतिशत आन्तरिकतर्फबाट मावि द्वितीय श्रेणीमा बढुवा भई ०८१ को २५ प्रतिशत आन्तरिकतर्फ भने प्रथम श्रेणीमा वैकल्पिक उम्मेदवारका रूपमा चित्त बुझाउन बाध्य छु ।

समस्या प्रशस्तै छन् । सरकारी स्कुललाई हेर्ने सरकारको सौतेनी दृष्टिकोणमा सुधार्नु जरुरी छ । संस्थागतसँग सामुदायिकलाई तुलना गरेर तेजोवध गर्ने प्रवृत्ति हट्नुपर्छ । सर्वप्रथम शिक्षकै जिम्मेवार बन्नुपर्छ । अन्य सरोकारवालालाई पनि उत्तिकै जिम्मेवार बनाउँदै लैजानुपर्छ । सरकारी कर्मचारी, शिक्षक र राजनीतिकदलसम्बद्ध नेताका सन्ततिलाई अनिवार्य सरकारी स्कुलमा पढ्ने प्रावधान बनाइनुपर्छ । दण्ड र पुरस्कारको उचित व्यवस्थान नहुनु पनि अर्को समस्या हो । सत्तानिकट र राजनीतिमा सक्रिय शिक्षकले मात्र पुरस्कार पाउने परिपाटी अन्त्य गरिनुपर्छ । अभिभावकको निष्क्रियता र स्वयम् विद्यार्थीबाट भइरहेको प्रविधिको चरम दुरुपयोग थप समस्या हुन् । जसको अन्त्यका लागि जिम्मेवार निकाय गम्भीर हुन जरुरी छ ।

निकट भविष्यमा पुस्तक लेखन, प्रकाशन गर्ने योजना भए वा प्रकाशित भएको भए जानकारी पाउँ न ?

योजना छ । तर, यकिन छैन । पुस्तकाकार प्रकाशित छैनन् ।

नेपालको शैक्षिक जगत् बिग्रँदै जानुका कारण के लाग्छ ?

नीतिहरूमा प्रधान नीति राजनीति हो । यो शुद्ध भए शिक्षा क्षेत्र धेरै सुधार हुन्थ्यो । अर्को ओइलाउँदै गएको सरोकारवालाको सक्रियता हो, जसलाई जगाउन जरुरी छ । शिक्षा क्षेत्रमाथिको चरम राजनीति अर्को कारण हो । शिक्षकलाई दलका झोला बोकाएर दास बनाइएको छ । जसबाट निस्केर स्वतन्त्र बन्ने हैसियत शिक्षकले राख्नुपर्छ । विद्यार्थीका रुचिलाई नजरअन्दाज गरिएको छ । व्यावहारिक व्यावसायिक र जीवनोमुखी शिक्षा पद्धति अवलम्वनमा ढिलाइ भइसकेको छ । भूमण्डलीकरणको यो युगमा विश्वबजारलाई ध्यानमा राखेर दक्ष जनशक्ति निर्माणमा अघि बढ्नुको विकल्प छैन । देशमा रोजगारी सिर्जना गरेर शैक्षिक जनशक्ति पलायन हुन रोक्नु आजको टड्कारो आवश्यकता हो ।

तपाईंको एआईसँग सम्बन्ध छ ? छ भने के–कस्तो अनुभूति गरिरहनुभएको छ ? तपाईंलाई विश्वमा मनपर्ने कुनै पाँच साहित्यकारको नाम लिनुपर्दा…

शिक्षक सूचना र प्रविधिसँग अद्याविधक हुनुपर्छ भन्नेमा दुईमत हुनै सक्तैन । त्यो कृत्रिम हो, सकेसम्म म प्राकृतिक समाधान खोज्छु । हामी यो कुरामा पनि उत्तिकै सचेत हुन जरुरी छ कि कतै मेसिनले मानिसलाई विस्थापित नगरोस् । द्वन्द्ववादी विज्ञानले हरेक विषय विचार वस्तु वा घटनाका सकारात्मक र नकारात्मक दुवै पक्षलाई स्वीकार गरेको छ । सचेततापूर्वक सकारात्मक पक्षको सदुपयोग गर्दै उपलब्धि हासिल गर्न अघि बढ्नु सबैको साझा कर्तव्य हो ।

देवकोटा, रिमाल, सम, संग्र्रौला र आहुति मन पर्छन् । विदेशीमा सेक्सपियर, चेखब, रुसो, गोर्की र तसलिमा नसरिन मलाई असाध्यै मन पर्छ ।

प्रतिक्रिया दिनुहोस्