कम्युनिस्टले प्रेमगीत धेरै लेख्नुपर्ने



‘कम्युनिस्टले सबैभन्दा धेरै प्रेमगीत लेख्नुपर्छ । अनि गाउनुपर्छ,’ गीतकार राजन राईको मान्यता छ, ‘तर, प्रेमगीत शिष्ट र मर्यादित हुनुपर्छ ।’

मायाले मात्रै संसार जितिन्छ । बन्दुकले होइन । ‘बन्दुकले तर्साएर दुई/चारपटक जितिएला,’ गीतकार राईले थपे, ‘तर, त्यो दीर्घकालीन हुँदैन । तसर्थ, मायाप्रेमका गीत धेरैभन्दा धेरै लेखिनुपर्छ । अनि गाइनुपर्छ ।’

प्रेम गरेर बिहे गर्न हुन्छ । तर, प्रेमगीत लेख्न हुँदैन । गाउन हुँदैन भनियो भने त्यो प्रगतिशील हुँदैन । व्यावहारिक रूपमा प्रयोग गरिराखेको शब्दमै लेख्दा गीत उत्कृष्ट बन्न सक्छ । गीत प्रेमिल भए पनि मर्यादित र शिष्टचाहिँ हुनैपर्छ । उत्ताउलो हुनुभएन । विभेदरहित हुनुपर्छ ।

अधिकांश श्रोताले गम्भीरभन्दा जीवन भोगाइका गीत बुझ्न, प्रेमगीत सुन्न लोभिन्छन् । उनले प्रेमिलमात्रै होइन, जनवादी र राष्ट्रिय गीतसमेत लेखेका छन् । रेकर्ड पनि भए । तर, त्यति चलेन । त्यसैले अरूलाई थाहा नहुन सक्छ । एमालेमा रहँदा झलनाथ खनाल, वामदेव गौतम, प्रदीप ज्ञवाली, ईश्वर पोखरेल, भीम रावल, मुकुन्द न्यौपाने र उनी स्वयम्को शब्द रहेको ‘सूर्य’ गीतिएल्बम सार्वजनिक भएको थुप्रै भयो ।

गीत लेखिसकेपछि श्रीमतीलाई सुनाउँछन् । ‘गीत अलि उत्साहितखालको लेख्नू,’ श्रीमतीको सल्लाह सुनाउँदै उनले प्रसंग जोडे, ‘हाम्रो जीवनजस्तै गीत नलेख्नू ।’ श्रीमतीले दुःखी, गरिबका मात्रै गीत नलेख्नू है भने पनि उनले लेख्न छाडेका छैनन् ।

गीत लेखिसकेपछि आनन्द लाग्ने नै भयो । सर्वप्रथम श्रीमतीलाई सुनाउँछन् । दुःखी, गरिबका गीत हो भने श्रीमतीले खासै मन पराउँदैनन् । तर पनि उनी गीतिलेखनमै रमाइरहेका छन् । उनको भनाइ छ, ‘गीत लेख्न सजिलो लाग्छ । त्यसैले पनि होला ।’ तर, कतिपय अवस्थामा लेख्दालेख्दैका गीत पूरा गर्न कठिन हुन्छ । ‘कुनै–कुनै स्थायी लेखेको महिनौंपछि पनि पूरा गर्न सकेको छैन । अन्तरा नफुरेर १५/१६ गीत पूरा गर्न बाँकी छन् ।’

सामान्यतया गीतकार राजन राईभन्दा राजनीतिक नेता राजन राई कान्छो हुन् । राजनीतिक नेताभन्दा कलामा रुचि राख्ने राजन राई जेठो रहेको उनले सगौरव सुनाए । नौ वर्ष टेक्दै गर्दा उनले लेख्न थाले । ०३६ सालमा जनमतसंग्रह हुँदा उनले लेख्न थालिसकेका थिए ।

पातलै भए पनि लेखनले निरन्तरता पाएकै थियो । नेपाली साहित्यमै उच्च शिक्षा हासिल गरेकाले साहित्य लेख्न सघाउ पुग्यो । ०५०/५५ देखि गीत राम्रो लेख्नुपर्छ भन्ने लाग्यो । ०६०/६१ देखि लेखन बाक्लियो । लेखन माझियो । ६५ भन्दा बढी गीत लेखिसकेका उनको २२ गीत रेकर्ड भइसकेका छन् । ‘किनकिन’, ‘ऐठन’, ‘अक्षर र आवाज’ नामक गीतिएल्बम सार्वजनिक भइसकेका छन् ।

गीतकार राजन राईले लेखेका गीत राजेश पायल राई, अञ्जु पन्तले अलि धेरै गाएका छन् । लेखेका सबै गीत रेकर्ड गर्न सजिलो छैन । एकताका साथीभाइ र आफन्तलाई सहयोग मागेरसमेत गीत रेकर्ड गरेको सुनाउन गीतकार राईले धक मानेनन् । ‘पुस सेल’ गर्दासमेत गीतिएल्बमको लगानी कहिल्यै उठेन । कहिलेकाहीं खर्चिलो विधामा लागिएछ भन्ने लााग्छ ।

कहिलेकाहीं गायक–गायिकाले गीत माग्छन् । थोरै भए पनि पारिश्रमिक दिनुपर्छ भन्ने भावना विकास भएकाले शिर उभ्याउनी पनि राखिदिन्छन् । रोयल्टी र रिङ व्याकटोनबाट थोरै शुभलाभ हुँदा पनि खुसीले तीत हात उफ्रिहाल्छन् ।

गीतमात्रै होइन, कविता, कथा पनि लेख्छन् । कथा लेख्न असाध्यै मन पर्छ । विभिन्न पत्रपत्रिकामा गीत, कविता र कथा प्रकाशित छन् ।

बुवा पनि लाहुरे । बाजे पनि लाहुरे । तर, राजन राई भने राजनीतिमा डोरिए । कोसी प्रदेशको सामाजिक विकासमन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका पूर्वमन्त्री राई नेकपा (एकीकृत समाजवादी)का पोलिटव्युरो सदस्यसमेत हुन् । ‘बाल्यकालमा अग्रजले राजनीति गर्नुहुँदोरहेछ । मलाई थाहा हुँदैनथ्यो,’ उनको भनाइ छ, ‘मलाई सांस्कृतिक कार्यक्रममा नाच्न मन लाग्थ्यो । तर, राजनीतिक रुचिभन्दा मैले थालेको कला यात्रा अघिको हो । कलाकारितामा रुचि भएकाले राजनीतिमा डोरिएँ भन्ने लाग्छ ।’

हिजोआज गीतकार, कवि, कथाकार, पूर्वमन्त्री राजन राईले राजनीतिसम्बन्धी किताब लेखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्