
दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका नगर कार्यपालिकाको कार्यालय दुर्छिम । निर्वाचित जनप्रतिनिधिको उपस्थिति बढ्दै थियो ।
विभिन्न राजनीतिक दलसम्बद्ध नेताको उपस्थिति त्यत्तिकै रहरलाग्दो । राप्रपा नेपालबाहेक सबै राजनीतिक दलसम्बद्ध नेताको उपस्थिति ।
पालैपालो आसन ग्रहण । आसन ग्रहणपछि राष्ट्रगान बजाइयो । लगत्तै हलेसी तुवाचुङ नगरपालिकाकी नवनिर्वाचित मेयर बिमला राईले उपमेयर रमेश राउत तथा ११ वटै वडाका वडाध्यक्षलगायत निर्वाचित जनप्रतिनिधिलाई सपथ खुवाइन् ।

त्यसपछि ?
निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्यले पदभार ग्रहण तथा पाँचबुँदे निर्णय पढेर सुनाए ।
लगत्तै मेयर बिमला राईले पाँचबुँदे निर्णय सदर गरिन् । निर्णय सदर गर्नबित्तिकै मेयर राईले औपचारिक पदभार ग्रहण गरेको ठहर्छ ।
पदभार ग्रहणपछि चौथो नम्बरको बुँदा तत्काल कार्यान्वयनमा ल्याइन् । उनले हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारकी रमला राई र वडा नम्बर ८ धितुङका दर्जिमान परियारलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड हस्तान्तरण गरिन् । राई ‘ग’ वर्गका शारीरिक रूपमा अशक्त र परियार विधुर हुन् ।

स्वास्थ्य बीमा गरेपछि सालिन्दा बीमा कार्ड नवीकरण गर्नुपर्छ । नवीकरण गर्न ३ हजार ५ सय लाग्छ । शारीरिक रूपमा अशक्त, अभिभावक गुमाएका बालबालिका, एकल महिला तथा पुरुष, विधवा र विधुरको स्वास्थ्य बीमा नवीकरण भने नगरपालिकाले नै गर्दै आएको छ । त्यतिमात्रै होइन, ज्येष्ठ नागरिकलाई नगर अस्पतालमा कार्यरत चिकित्सकले घरमै उपचार गर्ने गराउने प्रयत्न गर्ने भएको छ ।
कार्यक्रमले निरन्तरता पाएकै थियो । अबको पालो मायाको चिनो वितरणको । मेयरले हलेसी तुवाचुङ नगरपालिका एमालेतर्फ मेयरका प्रत्यासी खडेन्द्र राईलगायत विभिन्न राजनीतिक दलसम्बद्ध नेतालाई मायाको चिनो प्रदान गरिन् ।

यतिन्जेलसम्म कार्यक्रममा उपस्थित सबैले ध्यानपूर्वक पाँचबुँदे निर्णय पढे । पढ्दै थिए । पाँचबुँदे निर्णयमा लेखिएको थियो–
(१) नगर योजना आयोग गठन, विज्ञ समूहद्वारा नगरस्तरीय सम्पदा तथा संस्कृति संरक्षण परिषद् गठनसम्बन्धी अवधारणा विकास गर्ने ।
(२) ‘नागरिकमाथि शासनका लागि प्रशासन होइन’ आधुनिक प्रविधि व्यवस्थापन प्रणालीमार्फत सेवा प्रवाहसहित संस्थागत संरचना विकास गर्ने ।
(३) प्राविधिक शिक्षालाई जोड दिँदै केही आधारभूत विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरुवात गर्ने ।
(४) नगरपालिकाभित्रका एकल महिला तथा पुरुष, विधवा, विधुर, अपांगता भएका व्यक्ति र अभिभावक गुमाएका बालबालिकाका निःशुल्क स्वास्थ्य बीमा गरी नगर अस्पतालमार्फत सेवा प्रदान र ज्येष्ठ नागरिकको घरमै स्वास्थोपचार गरिने ।
(५) नगरवासीलाई कृषि, पर्यटनमा संलग्न गराई कपास खेती, पशुपालनलगायतबाट स्वरोजगार बनाइने ।

यसैबीच, मेयर बिमला राई ‘क्लोजिङ स्पीच’ दिइन् । ‘क्लोजिङ स्पीच’लगत्तै कर्मचारीलाई निर्देशन दिएर बाहिरिइन् ।



