पूर्वमन्त्रीका नातिद्वारा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी



दुर्छिम (खोटाङ) । देशभक्त स्वतन्त्र नागरिक आवाज अध्यक्ष जयन्द्रकुमार राईले आसन्न प्रतिनिधिसभा तथा प्रदेसभा निर्वाचनका लागि खोटाङबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम खोटाङनिवासी राईले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् ।

‘पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेयता देश र जनताले विभिन्न कालखण्ड र शीर्षकमा हारेको हार्यै छन्,’ उनले प्रस्ट्याए, ‘परिवर्तनका नाममा, फरक–फरक राजनीतिक दलसम्बद्ध विचारका नाममा पनि जनताले हारेमात्रै । पात्र फेरिए, प्रवृत्ति झन् जकडियो । तसर्थ, देश र जनता जिताउन मैले स्वतन्त्र उम्मेदवारी दिने भएको हुँ ।’

सर्वप्रथम जनतालाई अधिकारसम्पन्न बनाउनुपर्छ । अहिले पाएको अधिकार नाङ्गो छ । ‘शिक्षा र स्वास्थ्य पूर्ण रूपमा निःशुल्क हुनुपर्छ । न्याय र अवसर पनि दिनैपर्छ,’ उनले थपे, ‘त्यतिमात्रै होइन, गाँस, बास र कपासका साथै रोजगारीको ग्यारेन्टी गरिनुपर्छ । त्यसो गरियो भनेमात्रै जनता राज्यप्रति उत्तरदायी हुुन्छन् ।’

राज्यले जनतालाई र जनताले पनि राज्यलाई योगदान पुर्याउनुपर्छ । ‘यो प्राकृतिक न्यायको सिद्धान्त हो,’ उनको जिकिर छ, ‘यसलाई किचेर, मिचेर राइँदाइँ गर्नुहुँदैन भन्ने सन्देश प्रवाह गर्न मैले उम्मेदवारी दिन लागेको हुँ ।’

नेपालको स्वाभिमानलाई आदिकालदेखि अनादिकालसम्म कायमै राख्न आफूले उम्मेदवारी दिन बाध्य भएको उनले सुनाए । ‘राजनीतिक नेताले देशभक्तिको मर्म बुझ्नुपर्छ । माटोको महत्व बुझेको हुनुपर्छ,’ उनको निष्कर्ष छ, ‘देश र माटोको रक्षा गर्न आनाकानी गर्ने नेतालाई राजनीतिमा टिकिरहन सजिलो छैन ।’

राजनीतिक नेताले राष्ट्र, राष्ट्रियता र जनतालाई भुलेको उनले आरोप लगाए । ‘देश र जनताका निम्ति आवाज उठाउने कोही भएनन्,’ उनले भने, ‘आवाज उठाउनेले आफ्नो स्वार्थपूर्तिका लागि नौटंकी गरेका हुन् । सत्तामा टिकिरहन उनीहरूले त्यस्तो अभिनय गर्न बाध्य छन् ।’

को हुन् जयन्द्रकुमार राई ?

जयन्द्रकुमार राई संवत् २०४७ जेठ २७ गते नेपाल विद्यार्थी संघ दुर्छिम माध्यमिक विद्यालय दुर्छिम खोटाङ संस्थापक सभापतिमा छानिए । राईले दुई वर्ष नेविसंघमा काम गरे ।

त्यसपछि ?

राष्ट्रिय प्रजातन्त्र पार्टी, जिल्ला कार्यसमिति खोटाङ सदस्यको भूमिका पाए । उनी ०४९ देखि ०५४ सम्म राप्रपामा रहे । ०५४ सालमा राप्रपाबाट दुर्छिम गाउँ विकास समिति अध्यक्षमा उम्मेदवारी दिए । तर, निर्वाचित हुन सकेनन् ।

 

प्रतिक्रिया दिनुहोस्