पर्यटन प्रवद्र्धन गर्न मयुर संरक्षण



मयुर बिस्तारै देखापर्न छाडेका छन् । गाउँको नजिकसम्म आएर नाच्ने मयुर बिस्तारै विस्थापित हुँदै गएपछि ताप्लेजुङको मेरिङदेन गाउँपालिका मयुर संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जुटेको छ ।

विगतमा गाउँघरका नजिक–नजिकका जंगलमा प्रशस्त देखापर्ने मयुर अहिले देखापर्न छाडेको आठराई त्रिवेणी गाउँपालिका–४ का स्थानीय प्रजिन लिम्बूले बताए । मयुर एक आकर्षक पन्छी हो । हिजोआज बिस्तारै मयुर लोप हुँदै गएको उनले बताए ।

केही वर्षअगाडि गाउँघरनजिकैका जंगलमा देखापर्ने मयुर हिजोआज विस्थापित हुन पुगेको पाथीभरा याङवरक गाउँपालिका—५ का स्थानीय ठाकुरसिंह लिम्बूले बताए । स्थानीय सरकार आएपछि गाउँगाउँमा नयाँ सडक विस्तार गर्ने र भौतिक निर्माणले गर्दा पहिला प्रशस्त देखापर्ने मयुर अहिले विस्थापित हुँदै आएका सिदिङवा गाउँपालिका–४ की अनिता लिम्बूले सुनाइन् । दुर्लभ पन्छी मयुर विस्थापित हुँदै गए पनि संरक्षणका लागि कुनै स्थानीय सरकार तथा सरोकारवालले चासो नदिएको उनले बताए ।

भौतिक विकास निर्माणसँगै भिन्न मानवीय गतिविधि बढेकाले मयुर विस्थापित हुँदै गएपछि मेरिङदेनले मयुर संरक्षणमा लागेको गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताए । गाउँपालिकाले चालु आर्थिक वर्षमा मयुर संरक्षण बजेटसमेत विनियोजन गरेर संरक्षण गर्न लागेको हो । मयुर संरक्षणका लागि गाउँपालिकाले एकजना कर्मचारी करारमा नियुक्ति गरेको छ ।

मयुरको आहारा दिने, पानी दिने र रेखदेख गर्नका लागि कर्मचारी नियुक्त गरिएको गाउँपालिकाले जनाएको छ । दुई वर्षदेखि गाउँपालिकाले संरक्षण गर्न थालेपछि जंगलमा दैनिक रूपमा मयुर देखापर्न थालेका मेरिङदेन–२ का पूर्णहाङ लिम्बूले बताए ।

चालु आवमा मयुरको आहारा व्यवस्थापन गर्न गउँपालिकाले तीन लाख रकम विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता बराइलीले बताए । मयुर संरक्षण गर्न कर्मचारीको तलबका लागि दुई लाख गाउँपालिकाले विनियोजन गरेको जनाइएको छ । मेरिङदेन–५ र २ क्षेत्रलाई मयुर संरक्षण क्षेत्र घोषणा गरेर संरक्षण गरिएको प्रवक्ता बराइलीले बताए । मकै, धानजस्ता विभिन्न खाद्यान्न दैनिक आहाराका रूपमा मयुरलाई दिइँदै आएको छ ।

विगतमा ताप्लेजुङका धेरै क्षेत्रमा मयुर प्रशस्त पाइए पनि अहिले देखापर्न छाडेपछि सो गाउँपालिकाले संरक्षणका लागि पहलको सुरुवात गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले बताए । दिनप्रतिदिन मानवीय गतिविधि र भौतिक निर्माणका काम बढिरहेकाले मयुर विस्थापित हुँदै जाने भएकाले संरक्षण आवश्यकता भएको उनले सुनाए ।

मयुरलाई संरक्षण गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको प्रवद्र्धन गर्न सकिने गाउँपालिकाका प्रवक्ता बराइलीले बताए । मयुर संरक्षण क्षेत्रमा होडिङ बोर्ड राखेर मयुरको महत्व र विशेषताबारे प्रचार–प्रसार गरिँदै आएको गाउँपालिकाले जनाएको छ ।

आगामी वर्षमा मयुरको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड दिन योजना निर्माण गर्ने गाउँपालिको लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत आङदेम्बेले बताए । गत वर्षदेखि गाउँपालिकाले योेजना बनाएर संरक्षण गर्न थालेसँगै मयुरको संख्यासमेत वृद्धि भएको स्थानीय देउमान लङवाले बताए ।

प्रतिक्रिया दिनुहोस्