राजनीतिसँगै बट्टाईपालनमा आकर्षित नेता



खजुरा गाउँपालिका­३ मनकामना बाँकेका मानबहादुर भण्डारीको परिवारको आम्दानीको स्रोत भनेको बट्टाईपालन बनेको छ । भण्डारीले व्यावसायिक रूपमा बट्टाई पालन गर्न लागेको धेरै समय भएको छैन तर मेहेनत र लगनले गर्दा छोटो समयमा राम्रो प्रतिफल लिन सफल भएका छन् ।

रक्तिम सांस्कृतिक मञ्च केन्द्रीय उपाध्यक्षसमेत रहेका उनी कुशल कलाकारका साथै प्रखर वक्ताका रूपमा चिनिन्छन् । उनको परिचय त्यतिमा मात्र सीमित छैन । एक व्यावसायिक किसानका रूपमा पनि चिन्न थालिएको छ ।

लामो समयदेखि राजनीतिमा लागेका उनको ध्यान अब आर्थिक उपार्जन गरी समाज परिवर्तनतर्फ सोझिएको छ । राजनीतिमा लाग्नेले पनि उत्पादनमा लाग्नुपर्ने उनको धारणा छ । आफूले कृषिलाई व्यावसायिक बनाएर लैजाँदै गर्दा आफ्नो घरखर्च जुटाउन सकिने र अरूका लागि पनि उदाहरण बन्ने भएकाले पनि आफू बट्टाईपालनतर्फ लागेको उनले बताए । आफ्नै ह्याचरीसहित बट्टाईको चल्ला उत्पादनमा लागेका उनले स्थानीय कुखुरा, हाँस, टर्की, कडकनाथपालन बढाउँदै लैजाने तयारी थालेका छन् ।

पाँच महिनाअघि गाउँघरबाट बट्टाईका माउ र भाले संकलन गरी उनले व्यवसाय सुरुवात गरेका हुन् । सुरुमा ६०० देखि सुरु गरेका उनले पछि ३०० थपेर व्यावसायिक यात्रालाई अघि बढाए । अहिले उनीसँग तीन हजार बढी बट्टाई छन् । दुई चरणमा ५५० वटा बट्टाई त उनले बिक्री गरिसकेका छन् । एक जोडीलाई ३०० मा बिक्री गर्न गरेको उनले बताए । बजार समस्या नभएको उनको भनाइ छ । चल्ला, वयस्कदेखि बट्टाईका अण्डा पनि सहजै बिक्री हुने गरेको छ । उनका अनुसार ग्राहक घरमै आएर किन्ने गर्छन् ।

तीन हजार २४० क्षमता भएको ह्याचरी घरमै रहेकाले चल्ला निकाल्न उनलाई समस्या छैन । बट्टाईपालन तथा ह्याचरी सञ्चालनमा हालसम्म आठ लाखजति लगानी भइसकेको उनी बताउँछन् । बट्टाईका चार जात उनीसँग रहेका छन् । बट्टाईपालन थप बढाउन युवा नेता तथा किसान मानबहादुर भण्डारीले नयाँ योजना बनाइसकेको र छिट्टै विभिन्न जिल्लामा यसको उत्पादन पु¥याउने योजना बनाएका छन् । भण्डारीलाई यो व्यवसायमा परिवारबाट पनि पूर्ण रूपमा सहयोग मिलेको छ । उनी भन्छन्, ‘परिवारको सहयोग नहुने हो भने एक्लो व्यक्रिले चाहँदैमा केही गर्न सकिँदैन ।’

उत्पादन दिनहुँ बढ्दै जाँदा बजारको अभाव हुने हो कि भन्ने डर लागिरहेको छ । छोटो समयमा यति राम्रो व्यवसाय सञ्चालन गर्न सकेकामा उनी निकै खुसी छन् । उनको घरमा फार्म हेर्न र उत्पादित बट्टाई र अण्डा खरिद गर्न टाढाटाढाबाट ग्राहक आउने गरेका छन् । बट्टाईको मासु र अण्डामा प्रोटिनको मात्रा प्रशस्त पाइने भएकाले बिक्री गर्न समस्या नरहेको उनको भनाइ छ ।

बट्टाईपालन सुरु गर्नुअघि नजिकैको ज्ञानोदय नमुना माविमा उनले चमेना गृह सञ्चालन गर्दै आएका थिए । गत वर्ष लामो समय कोरोना कहरका कारण बन्दाबन्दी हुँदा विद्यालय नियमित सञ्चालन नभएपछि उनले कृषि व्यवसाय रोजेको हुन् । ‘पहिलेदेखि नै यस व्यवसायतर्फ मेरो ध्यान गएको थियो तर कोरोनाले गर्दा यसतर्फ लाग्न प्रेरित ग¥यो,’ उनी भन्छन्, ‘कोरोना मेरा लागि व्यवसायमा लाग्ने अवसर बन्यो ।’

थोरै लगानीबाट पनि छोटो अवधिमै आम्दानी गर्न सकिने भएकाले अन्य युवालाई पनि उजी यसतर्फ लाग्न प्रेरित गर्छन् । ‘पालेको डेढ/दुई महिनामै बिक्री सुरु गरें । चल्ला किन्नेहरू घरमै आउँछन्,’ उनले भने, ‘घरमै बसेर पाल्न सकिने हुँदा बट्टाईपालनसँगै खेतिपातीको कामसमेत गर्न भ्याएको छु ।’

 

प्रतिक्रिया दिनुहोस्