व्यक्तिगत लाभका लागि आफूलाई समर्पण नगर्ने पत्रकार



मृत्यु जीवनको अनिवार्य सर्त हो । यद्यपि, कतिपय मृत्यु यस्ता हुन्छन्, जसले परिवारलाई मात्रै होइन सिंगो समाज वा राष्ट्रलाई नै असर गर्छ । मानवताका लागि योगदान गर्ने व्यक्ति नै जनताबाट सम्मानित हुन्छ । यस्तै एकजना युवा पत्रकार युवराज लिम्बूको असामयिक र अकल्पनीय निधनले बहिष्करणमा पारिएका समुदायको होनाहार योद्धा गुमाएको छ ।

उच्च शिक्षा अध्ययनक्रममा २०५७ तिर हुनुपर्छ, हाम्रो भेट काठमाडौंमा भएको । त्यसपछिका दिनमा हामीले नेपाली समाजका विविधता, विभेद र मुक्तिका लागि भएका थुप्रै प्रयत्नबारे बहस र छलफल गर्ने अवसर पायौं । जानेबुझेका कुरा एक–अर्कामा साटासाट गर्यौं । सायद आदिवासी जनजाति र दलित समुदायले भोगेको पीडाको स्रोत एउटै हो भन्ने हाम्रो निष्कर्षले होला, हामीलाई अधिकार प्राप्तिको आन्दोलनमा सधैं जोडिरह्यो ।

पत्रकारिता क्षेत्रमा प्रवेशदेखि नै हामीले नेपाली मिडियाको सीमान्तकृत समुदायप्रतिको दृष्टिकोणबारे विवेचना गथ्र्यौं । सामाजिक रूपान्तरणका लागि मिडियाको भूमिकाको बहस गथ्र्यौं । मूलधारका भनिने मिडियाले आदिवासी जनजातिलगायत सीमान्तकृत समुदायलाई गर्ने बहिष्करणको खरो विरोध गर्ने पत्रकार लिम्बू नेपालका स्थानीय रेडियोले ल्याएको परिवर्तनबाट निकै आशावादी देखिन्थे । भन्थे, ‘नेपालका स्थानीय रेडियोले स्थानीय तहमा एकखाले क्रान्ति नै ल्याएको छ । आफ्नै भाषामा समाचार र कार्यक्रम सुन्न पाएका छन् भने अधिकारबारे अधिकांश जनता सचेत भएका छन् ।’ तर, मूलधारका भनिने नेपाली मिडियाले सीमान्तकृत समुदायमाथि न्याय गर्न नसकेको भने उनी कडा आलोचना गरिरहन्थे ।

पछिल्लो समयमा सक्रिय पत्रकारिताका साथसाथै मिडियाकै पुनःसंरचनाका लागि प्राज्ञिक बहस गर्नुपर्छ भन्ने उनमा जोश बढेको थियो । ०६६ मा उनले नेपाली मिडियाले लोकतन्त्र र संविधानसभाबारे नेपाली मिडियाबारे एउटा राम्रो अध्ययन गरे । जुनबेला हामीले निरन्तर छलफल र बहस गर्ने अवसर पाएका थियौं । उनको अनुसन्धानमूलक लेख तयार पार्नका लागि कुमार यात्रुको हौसला मुख्य रूपमा रहेको थियो । ०६६ मा प्रकाशित ‘राजनीतिक जवाफदेहिता संविधान निर्माण प्रक्रियासम्बन्धी वृहत् सन्दर्भ’ पुस्तकमा अनुसन्धानमूलक लेख प्रकाशित भयो । ‘संविधान निर्माण र छापामाध्यम’ शीर्षकको लेखबाट उनले केही नयाँ तथ्य बाहिर ल्याए । नेपाली मिडियाका मुद्दा राजीतिक सत्ता सबैभन्दा बढी रहने गरेको र संविधानसभाबारे १०.११ प्रतिशत सामग्री प्रकाशित हुने गरेको तथ्य उनले बाहिर ल्याए । उनको अध्ययनले महिला, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम र अल्पसंख्यकबारे जम्माजम्मी ७.३३ प्रतिशत सामग्रीमात्रै प्रकाशित गर्ने तथ्य बाहिर ल्याए । बहुसंख्यक नेपालीलाई नेपाली मिडियाले उपेक्षा गरेको तथ्यले उनलाई मिडियाको रूपान्तरणका लागि थप संघर्ष जरुरी कुरा उनी बारम्बार भनिरहन्थे ।

प्रतिनिधित्वले यथार्थ निर्माण गर्छ भनिन्छ । सायद त्यसैले हुनुपर्छ उनी नेपाली मिडियामा लिम्बू पत्रकारको सशक्त प्रतिनिधित्वको लडाइँकै निरन्तरतास्वरूप लिम्बू पत्रकार संघको अधिवेशन गरी अध्यक्षको भूमिकामा चुनिए । तर, दुःखद कुरा उनले त्यो जिम्मेवार पदमा रहेर ठोस काम गर्न नपाई संसारबाट बिदा हुनुपर्यो ।

उनले सामाजिक सञ्जाल फेसबुकमा उदय मनिला–सोताङको ‘आधी बाटो हिँडेपछि …’ लगायतका गीत सुनेर आनन्दित भएको कुरा लेखे । यो गीतले भनेझैं आधीबाटोमा भेटिनुपर्नेबाट उनी बिदा भएका छन् । मित्र लिम्बूको अल्पायुमै भएको असामयिकको निधनले पत्रकार तथा कवि स्वप्निल स्मृतिले आफूलाई निकै तर्साएको कुरा फेसबुकमा यसरी लेखेका छन्, ‘म धेरै हतारमा छु । पत्रकार युवराज लिम्बूको अल्पायुको निधनले । युवराजजीले धेरै योजना बुनेका थिए, पत्रकारिता, सामाजिक रूपान्तरण, जातीय मुक्ति, स्वायत्त लिम्बुवान, समृद्ध नेपाल आदि–आदि । ओहो ! आज भन्यो, भोलि भन्यो, काम थाती राख्ने म अल्छीलाई बेटुंगोको मृत्युले बेस्सरी तर्साएको छ ।’

साँच्चिकै युवराजले व्यक्तिगत लाभका लागि आफूलाई कहिल्यै समर्पण गरेको देखिएन । नेपाली राजनीतिक सत्ता, शक्ति र स्रोतमाथिको एकाधिकार अन्त्यका लागि, जातीय मुक्ति र सामाजिक रूपान्तरणका लागि निरन्तर खटिरहने योद्धाको असामयिक अवसानले धेरैलाई झस्काएको छ । उनले देखेका धेरै सपना निजी थिएनन्, सामूहिक सपनाका धेरै सहयात्री अहिले उही मैदानमा संघर्ष गरिरहेका छन् । उनले देखेका र थुप्रै सहयात्रीले सामाजिक रूपान्तरणका लागि देखेका सपना थाती राखेर उनी बिदा भएका छन् । कवि स्वप्निलले भनेझैं बाँकी काम हतारमा वा तीव्र गतिमै गर्नुपर्ने अभिभारा हामीमा छ ।

म बैंककमै रहँदा सामाजिक सञ्जालकै माध्यमबाट छलफल गथ्र्यौं । दैनिकीदेखि केही संस्थागत छलफल पनि भए । एथ्निक मिडिया फाउन्डेसन सञ्चालनदेखि नेपाली समाजको रूपान्तरणका विविध आयामबारे छलफल गर्ने हामीले योजना बनाएका थियौं । हामीले लिम्बू पत्रकारको अधिवेशनपछि काठमाडौंमा भेट्ने योजना बनाएका थियौं, अब हामीबीच भौतिक संवादको सम्भावना रहेन ।

२०५७ देखि सुख–दुःखका अन्यन्य मित्र युवराज लिम्बूसँग विगतमा साटिएका अनुभव अनुभूति ताजै छन् । जातीय विभेदबाट मुक्ति र सामाजिक रूपान्तरणका लागि हामीले सँगै देखेका सपना पूरा गर्न हाम्रो अभियान अगाडि बढिरहनेछ । उनको परिवारले एउटा होनाहार सदस्य गुमाएको छ । हामी धेरैले सरल, मिजासिला, जोशिला, सहयात्री युवा पत्रकार गुमाएका छौं । निश्चय नै उनको असामयिक निधनले नेपालको समावेशी लोकतन्त्रप्रति प्रतिबद्ध, आदिवासी जनजाति र बहिष्करणमा पारिएका समुदायको अधिकारका लागि निरन्तर संघर्षमा सामेल जुझारु योद्धा गुमाएको छ । सामाजिक रूपान्तरणका लागि पत्रकारितामार्फत निरन्तर क्रियाशील उनको योगदानलाई हामी उच्च कदर गरिरहनेछौं । समतामूलक समाज प्राप्ति नहुँदासम्म हाम्रो यात्रा जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्