‘बुवा बनेर कमाएर ल्याएपछि आमा बनेर पकाएर खुवाउँछु’



जवानी फलामे साङ्लो (जन्जिर)मा बाँधिएरै बित्यो । आफ्नै अगाडि बाँधिएका पशुचौपायालाई चराउन बेला–बेलामा खोलिन्छन् । तर, १२ वर्षअघि बाँधिएका सप्तरीको अग्निसाइर कृष्णसवरण–१, घोँघिदाहा भवानीपुरका उमाकान्त चौधरीले त्यस्तो अवसर पाएका छैनन् । घोँघिदाहाकी सुशीलादेवी चौधरीले नै आफ्ना श्रीमान्लाई १२ वर्षदेखि फलामे साङ्लोको हत्कडी लगाएर राखेकी हुन् ।

क्षणभरमै रिसाउने, कराउने, मान्छेलाई देख्नासाथ छोप्ने, कुट्ने, मान्छेमाथि ढुंगा हान्ने, जे भेट्यो त्यसैले हिर्काउन थालेपछि आजित भएर श्रीमतीको आग्रहमा गाउँलेले नै हत्कडी लगाएपछि त्यो नखोलिएको सुशीलाले बताइन् ।

मानसिक रोगबाट पीडित बनेका उमाकान्तले एकपटक आफ्नी आमाको हातै भाँचिदिए । एकपटक घाँस काट्ने हँसियाले खसीको गर्दन रेटे र कान काटेर पोलेर खाए । बाटो हिँड्नेलाई लाठी, ढुंगाले हान्ने, छरछिमेक र परिवारमै समेत दुःख दिने गर्न थालेपछि परिवारले उनलाई संवत् २०६३ मा बन्धक बनाइएको भतिजी ललिता चौधरीले जानकारी दिइन् ।

उमाकान्तलाई राख्न घर अगाडि फोहोर बग्ने नालामाथि टिनको पाताले छाएको सामान्य टाँटीले बेरेको खुला कटेरो बनाइएको छ । हत्कडीमा बाँधिएका उनको शरीरमा जुनसुकै मौसममा पनि एउटा कट्टुबाहेक केही हुँदैन । जाडो मौसममा पनि नाङ्गै शरीरमा रहनुपर्ने उनलाई ओढ्न एउटा मैलो सिरक छ । घरबाहिर एउटा खाट अट्ने खुला सानो कटेरोमा रहेको चिसो खाली खाटमा उनी बस्छन् । सुत्छन् । हत्कडीले गर्दा उभिन भने सक्दैनन् । त्यही छाप्रो उनको संसार हो । दिसा–पिसाब पनि छाप्रोभित्रै गर्छन् । तल बग्ने गरेको फोहोर नाली छिमेकीले बन्द गरिदिएका छन् । कपाल, दाह्री, नङ नकाटेको थुप्रै भइसकेको छ । हातमा लगाइएको हत्कडी पनि १२ वर्षदेखि खोलिएको छैन, जसले गर्दा उनको बायाँ हातमा गहिरो घाउको दाग देखिन्छ ।

कसैले भनेको नमान्ने, बाटोमा हिँड्ने, छरछिमेकी देख्नासाथ पिट्ने, ढुंगामुढा गर्ने, परिवारका सदस्यलाई देख्नै नहुने, जे भेट्यो त्यसैले आक्रमण गर्ने भएपछि १२ वर्ष अघिदेखि उनलाई घरअगाडि कटेरोमा बाँधेर राखिएको हो ।

छाप्रोनजिक रहेको उनको घरमा श्रीमती र तीन छोरी बस्छन् । घोँघिदाहाका टुरन र पल्टीदेवी चौधरीका दुई छोरामा उमाकान्त जेठा हुन् । बुवाआमा छुट्टै घरमा कान्छा रमाकान्तसँग बस्छन् । ठीक हुँदासम्म सगोलमै रहेका उनको मानसिक सन्तुलन गुमेपछि उमाकान्तकै ढिपीले अलग भएका हुन् । खेत रुङ्न बस्दा रातभरि आँखा नझिम्काई जाग्राम बस्ने गरेका उनी बिस्तारै बिरामी पर्दै गएको आमा पल्टीदेवीले बताइन् ।

सुरुका दिन साङ्लो चुँडालेर भाग्ने प्रयत्न असफल भएपछि उनी श्रीमतीलाई बेलाबेला हत्कडी खोली दिन आग्रह गर्छन् । कुनै बेला त खोलिदिउँझैं पनि लाग्छ रे सुशीलालाई तर खोल्नासाथ अप्रिय घटना हुने डर छँदै छ । साङ्लोको डाम देब्रे हातमा मज्जैले गढेर घाउ नै भएको छ । सुशीलाले बिहान–बेलुका भात लगिदिन्छिन् । खान मन नलागे झिँगा भन्किरहेका हेर्छन् । भोक लागे खान्छन् ।

सामाजिक परम्पराअनुसार ०५४ मा विवाह हुनुअगावै उमाकान्त चौधरीमा मानसिक समस्या देखिइसकेको रहेछ । एकहोरो टोलाएर बस्ने, भौंतारिएर हिँड्ने, एक्लै कुरा गर्ने, रिसाउने, कराउने गर्थे । आमाबुवाले थाहा पाएर ‘माइतमै बस, घर जानुु पर्दैन, अर्काे विवाह गरिदिउँला पनि भनेका थिए । तर, सुशीलाले ‘एकपटक जोसँग विवाह भयो उसैसँग जीवन बिताउने आँट गरिन् । सुशीला भन्छिन्, ‘बुवा बनेर कमाएर ल्याउँछु । आमा बनेर पकाएर खुवाउँछु ।’ ज्याला मजदुरी गरेर नै सुशीलाले तीन छोरी हुर्काइन् । तीनै छोरी घरनजिकैको विद्यालयमा पढ्छन् । कान्छी छोरी दीपिकालाई त उनका बुवाले बोक्न पनि पाएका छैनन् । दीपिका जन्मेलगत्तै जन्जिरमा बाँधिएकाले उनले बुवाको माया अनुभव गर्न पाइनन् । कक्षा ३ मा पढ्दादेखि नै उनी पनि आमासँगै जंगलबाट दाउरा बोकेर ल्याई बेच्ने गर्थिन् ।

तीन छोरी हुर्काएकी सुशीलाको घरपरिवारमा पुरुष मान्छे अभिभावक नहुँदा घरपरिवार र व्यवहार धान्न उनलाई समस्यै समस्या छ । ‘छोरीहरूको आमा पनि मै, बुवा पनि मै,’ सुशीला भन्छिन्, ‘मजदुरीका सबै काम पुरुषले झंै गरे पनि ज्याला भने कम पाइन्छ ।’ संघर्षपूर्ण जीवनले सुशीलालाई सबै काम गर्न सिकाएको छ । उनी खेतीको कामदेखि निर्माण मजदुरको कामसमेत गर्छिन् । सबै काम पुरुषले झैं गरे पनि ज्याला भने कमै पाउँछिन् । धान रोप्ने, काट्ने गर्दा दैनिक तीन सय र निर्माण मजदुरी गर्दा चार सय रुपैयाँमात्र पाइने गरेको उनी सुनाउँछिन् । बाँदरले हैरान गरेपछि आफ्नो तीन कठ्ठा खेतमा यसै वर्ष आँपको बिरुवा लगाएकी सुशीलाले शम्भु साहको चार कठ्ठा खेत बटिया (अधिया) गर्छिन् ।

घरपरिवारले उपचार गराए । धामीझाँक्री पनि देखाए । उपचार गर्न लगेको अस्पतालबाटै भाग्ने, डाक्टरको सल्लाहबमोजिम औषधि नखाने र रातभरि सुत्न छाडेपछि उनको मानसिक अवस्था गम्भीर बन्दै गयो । युवावस्थामा बलिया र सुन्दर रहेका उमाकान्त मानसिक रोगी भएपछि पशुझैं जीवन बिताउँछन् । ‘युवा उमेरमा घरखेतको सबै काम गर्ने बलिया र गाउँकै सुन्दर युवक थिए,’ उनका ठूलो बुवा ढोढन दास सम्झन्छन्, ‘उपचार हुन नसकेपछि उमाकान्तको जवानी बन्धनमै बित्यो ।’

‘लामो समय भएकाले उपचारमा निकै खर्च हुन्छ होला,’ वडाध्यक्ष सुशीलकुमार चौधरीले भने, ‘उपचार गराउन आर्थिक समस्याका साथै कहाँ लैजाने, कसले लैजाने भन्ने विषयमा पनि समस्या छ ।’ चार कठ्ठा खेत अधियामा गरी बाँकी समय ज्याला मजदुरी गरिरहेकी सुशीलालाई घरखर्च चलाउनै हम्मे छ । उपचारका लागि आफ्नो सामथ्र्य नभएको उनको भनाइ छ ।

‘आफ्नो त जीवित भएर पनि बुवा नभएझैं छ,’ जेठी छोरी अस्मिताले अनुरोध गरिन्, ‘पशुभन्दा नारकीय जीवन बिताइरहेका बुवाको उपचारका लागि कुनै उपाय भए सहयोग गरिदिनुहोस् ।’

प्रतिक्रिया दिनुहोस्