मेरो वास्तविक जिन्दगीको गीत : ‘जिन्दगी’ डायरीदेखि रेकर्डिङसम्म



स्नातकोत्तरको शोधपत्र अन्तिम तयारी गर्दै काठमाडौं शान्तिनगरमा बसिरहेको थिएँ । विद्यार्थी भएकाले पहिलो प्राथमिकता शोधकार्यको मेलो भए पनि साहित्य, गीत–संगीत, खेलकुद वा कलाकारिता मेरो जीवनको तृष्णा हो । यी सबै विधाबाट टाढिएर बस्न नसक्ने भएकाले एक जीवन अनेक यात्रा जहिलेदेखि बुझें र यात्रामा छु, त्यही समयदेखि यी हरेक विधासँग निरन्तर सहयात्री बनेको छु । मेरो तृष्णा जे छ तर औपचारिक शिक्षाको बाटो र लक्ष्य भने फरक छ । अनि मैले सिकेको औपचारिक शिक्षा जीवनोयोगी पनि छैन । मेरा तृष्णाले मैले सिकेको औपचारिक शिक्षालाई बढी व्यावहारिक, प्रभावकारी र जीवनोपयोगी बनाउनमा भने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्नेमा विश्वस्त छु । र नै जीवनका तृष्णा मेटाउन कोसिस गरिरहन्छु । तृष्णा मेटाउनु जीवनको लक्ष्य र उद्देश्य हासिल गर्नु हो । भविष्यको सपना देख्नु हो । सफल जीवन अनुभूत गर्नु हो ।

 

जीवनका तृष्णा मेटाउनेक्रममा मैले वास्तविक भोगेको, बुझेको अनि थोरै परिकल्पना गरेको जिन्दगी गीति भावनाद्वारा खास जिन्दगीको स्वरूप दिन भनी गितारको साथमा एउटा गीत सिर्जनामा बसें । गीतको स्थायी भागसँगै संगीत पनि सिर्जना गरी २०७५ असोज २१ गते आइतबार सामाजिक सञ्जाल फेसबुकमार्पmत सार्वजनिक गरें । सार्वजनिक गरेको पर्सिको दिन असोज २५ गते ‘बस है काठमाण्डू मचैं हिँडें’ स्टाटस लेखेर पूर्वतिर हान्निएँ ।

एउटा सामूहिक कम्पनी दर्ता गरेका थियौं । कम्पनीको पान नम्बर लिन बाँकी थियो । पूर्वाञ्चलको पान नम्बर दिने कार्यालय सिरहाको लहान भएकाले २५ गते सबेरै स्टाटस पोस्ट गरेर काठमाडौं–लहानको मोटरसाइकल यात्रामा निस्कें । दिउँसो २ः३० बजेतिर सकुशल लहान कार्यालय पुगेर कामको प्रक्रिया अघि बढाएँ । लामो यात्रा, सेवाग्राहीको भीड, गर्मी मौसम, सरकारी कामको ढिलासुस्ती । सबैको सम्मलिनले गर्दा काम पूरा नभएकाले लहानको ममता होटल एन्ड लजमा बास भयो ।

नवीन संघर्ष

दसैं–तिहार संघारमै आइसकेकाले गाउँ–गाउँमा दसैं–तिहारविशेष कार्यक्रम आयोजना सुरुवात भइसकेको थियो । नुनथलामा पनि सालिन्दा कुनै न कुनै संस्थाले कुनैै न कुनै प्रतियोगिता आयोजना गर्ने थिति बसेकाले यस वर्ष प्रगतिशील युवा समाज नुनथला–२ धौलाङ खोटाङले कात्तिक १७, १८ र १९ गते साबिक नुनथला गाविसभित्रका वडास्तरीय पुरुष भलिबल र खुला सामूहिक लोकनृत्य प्रतियोगिता आयोजना गर्ने भएकाले गाउँमा साथीहरू खेल अभ्यासमा जुटिरहेका थिए । मेरै पहलमा वैदेशिक रोजगारीमा रहेर पनि गाउँको हरेक सुख, दुःख र विकासमा सदैव चासो र सहयोग गरिरहने गाउँकै युवा सुभन राईले वेदना सहयोगी समाज नुनथला–१ महुरे, खोटाङको नाममा नौ जोर खेल जर्सी पनि प्रायोजन गरिदिएका थिए ।

खेलकुद र नृत्य प्रतियोगितामा आफ्नो गाउँ वा संस्थाबाट कसरी उत्कृष्ट सहभागी जनाउने भन्ने परिकल्पना गर्दै बिस्तारामा पल्टिरहेको थिएँ । गाउँको एउटा राम्रो प्रतिभा जो नाच्न, गाउन, खेल्न, सामूहिक काम सबैमा उत्तिकै अग्रसर भान्जी कोपिलालाई सम्झें । फोनमा कुराकानी हुँदा पर्सि वा २७ गते घर जाने कुरा गरिन् । धरान बसेर दस जोड दुई पढ्दै गरेकी कोपिला बसको यात्रा प्याट्टै सहनु नसक्ने अर्थात् गाडी लाग्ने भएकाले ज्यादै पीरमा थिइन् । यात्रामा कोही साथी थिएनन् । मैले म लहानमा भएको र लहानसम्म भोलि वा २६ गते आए मोटरसाइकलमा जान सकिने कुरा सुनाएपछि क्षायामासँग सल्लाह गरेर खुसी हुँदै लहानसम्म २६ गते बिहानै बसमा आएर मसँगै जाने जाकारी गराइन् । अनि आराम गरियो ।

कोपिलाले २६ गते बिहान ५ः०० बजे बस चढिसकेको एसएमस गरेकी रहिछन् । ७ः०० बजेतिर कल गरेर मलिन स्वरमा बोलिन्, ‘मामा, गाडी लागेर सारो परें, सक्नुहुन्छ भने बीचसम्म लिन आउनू है ।’ बस लाग्दाको नमज्जा र शिथिलता म आफूले पनि जीवनमा धेरै भोगेको छु । १०ः०० बजे कार्यालय समयसम्म म आखिर बस्ने नै हो भनेर भान्जीलाई लिन हिँडें । सम्पर्क गर्दै जाँदा सप्तरीको बरमाझियाको पेडा बजार क्षेत्रमा भेट भयो । बस लागेर थकित उनलाई एकछिन बिहानको चिसो हावाले फ्रेस हुन भनी बरमझिया बजारैको बाजेको पेडा पसल नाम राख्नुको इतिहास खोजें । पेडाको स्वाद चाखेर बिस्तारै पुनः लहानतर्फ लाग्यौं ।

रुपनी बजार छिर्न लागेकाथ्यौं । गति ज्यादै सीमित थियो । आँखामा बिजुली चम्केझैं रातो रङको केही वस्तुको प्रकाश आँखामा चम्केझैं भयो । तर, अनुमान लाउन नपाउँदै, अफसोस विपरीत दिशातिरबाट आइरहेको स१ज ५०७ को रातो म्याजिक भ्यानले हामी सवार मोटरसाइकललाई नमज्जाले ठक्कर दिएछ । कोपिला उछिट्टिइन् । म बाइकसँग एकातिर । त्यहाँ हाम्रो अवस्था कस्तो रह्यो भन्ने अनुमान अब आफैंले पनि गर्न सक्नुहुन्छ ।

म मोटर साइकलकोमुनि । मेरो दाहिने हात र दाहिने खुट्टा नै भाँचिएर चिच्याइरहेको आफैंलाई सम्झना छ । संयोगवश ट्राफिक प्रहरीको भ्यान हाम्रो पछि–पछि आइरहेकाले हामीलाई सम्हाल्न उनीहरू आइपुगे । ट्राफिकले सम्हाल्दै गर्दा कोपिलालाई के भयो होला भनेर हेरें । केही भयो कि भनेर सोधें । कोपिलाले केही नभएको इसारा गरिन् । तर, आँखा नजिक सामान्य ठक्कर लागेको, ओठमा थोरै रगत थोपा बगिरहेकोबाहेक केही पनि नभएको देखेर अचम्मै खुसी लाग्यो । मतलब दुवैको हालत मेरैजस्तो भएको भए । अर्को संयोग, मलाई प्रस्ट चिन्नुहुने खोटाङ, च्यास्मिटार घर भएका प्रहरी जवान धनसिं राई पनि त्यहीं ड्युटीमा खटिरहनुभएको रहेछ । उहाँले पनि ठूलो सहयोग गरी ट्राफिक भ्यानमै स्थानीय युनिक हस्पिटलमा सामान्य चेक–जाँच तथा प्राथमिक उपचार गर्दा कोपिला सामान्य अवस्थामा रहेकाले डिस्चार्ज भइन् । मलाई औपचारिक रूपमा डाक्टरले दायाँ हात, खुट्ट भाँचिएकाले त्यो हस्पिटलमा उपचार हुन नसक्ने जानकारी दिएपछि हेम दाइलाई जानकारी गराएँ । घरपरिवार, सम्पूर्ण अनफन्तजनमा एककिसिमको सन्नाटा छायो । दाइले आफन्तको सुझाव लिएपछि त्यो हस्पिटलबाट रेफर भई धरानस्थित बीपी कोइराला अस्पतालतर्फ एम्बुलेन्समा हान्नियौं ।

धरान अस्पताल पुग्दा आफन्तजनको जमघट भइसकेको थियो । देश–विदेशमा रहनुहुने सम्पूर्ण आफन्तजन, शुभचिन्तकबाट ठूलो अभियान नै चलाएर आर्थिक, भौतिक, मानवीय, आवासीय सहयोगको ओइरो लाग्यो । धरान, इटहरी, तरहरा, मोरङलगायत वरिपरि रहनुहुने आफन्तजनको दैनिक घुइँचो देखेर अस्ताल परिवार छक्क पथ्र्यो । भाँचिएको ठाउँमा बाहेक अन्य ठाउँमा केही चोटपटक नलागेकाले म सबै आफन्तजनसँग सहजै भलाकुशारी गर्न सक्ने भएकाले उनीहरू खुसी फिर्थे । सफल अप्रेसनले अस्पताल बसाइ सार्थक बन्दै गयो । दुर्घटना जानेर हुने कुरा होइन, त्यसैले त्यति धेरै दुःखी बन्नुहुन्न भन्ने सोच्थें । र, बनिन पनि । तर, दुर्घटनाको खबरले मेरी बूढी आमा र दूरदेशमा रहेकी प्यारी जीवनसंगिनीको हालत कस्तो भयो होला ? भन्ने चिन्ता र मेरो कपडा झोलाबाट निकाल्नेक्रममा मैले गाउँको कार्यक्रमका लागि परिकल्पना गरेर बोकेको बाँसुरी, बिनायो, मुर्चुङ्गा देखें । अनि ६ दिन अगाडि लेखेर सार्वजनिक गरेको गीत सम्झें । दुर्घटना भएकै दिन जेब्राभरि खेलाडी जर्सी र नृत्य पोसाक बोकी सुरेश दाइ घरमा पुगेको दुःखद संयोग शय्यामै पल्टेर सम्झँदा साह्रै भावुक वनायो ।

हातखुट्टा भाँचिदा नबगेको आँसु ती भावनाले वगाइदियो । अपुरो गीतको भावनाले पटक–पटक सम्झाउँदै भावुक बनाइरह्यो । जिन्दगीले यो अवस्था खेप्नुपर्ला भन्ने लागेको त थिएन तर गीतको भाव र जिन्दगीको खेपाइको संयोग कस्तो गरी मिलेको ? जिन्दगीे खेपाइको भविष्यवाणी गरी व्यक्त गरेजस्तै भावना । घटना र भावनाले भावुक बनाइरह्यो । १२ दिनको अस्पताल बसाइ अवधिभरि चाडबाड नभनी आफ्नो सम्पूर्ण व्यक्तिगत काम छाडेर अहोरात्र मेरो उपचार व्यवस्थापनमा खट्ने साली कान्छी सुष्मा, प्रिय भाइद्वय शिशिर र सुजनप्रतिको गुन कहिल्यै तिर्न सक्दिनँ । थुप्रै आफन्तजन हुनुहुन्छ, जसले प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुभएको थियो । उहाँहरूको नाम लिनु मन छ तर धेरै लामो सूची बन्छ । त्यसैले उहाँहरूलाई हृदयले सम्झेको छु । यसरी १२ दिनसम्म उपचार गराई काठमाडौं ट्रमा सेन्टरमा नियमित चेक–जाँच गर्ने गरी बीपी कोइराला अस्पताल धरान, सुनसरीबाट डिस्चार्ज भई दाजुभाइ बिराटनगर एयरपोर्ट हुँदै काठमाडौंतर्फ लाग्यौं ।

काठमाडौं शान्तिनगर कोठाबाट ट्रमा सेन्टरको नियमित चेक–जाँचमास्वास्थ्य सुधारिँदै गइरहेको थियो । उठबस, हिँडडुल गर्न सक्ने अवस्था नभएकाले निर्दोष भतिज मसँग साथै थिए । दिनहरू बित्दै गयो । साथै स्वास्थ्यमा सुधार पनि । हिँडडुल गर्न सक्ने भइसकेको थिएँ । घटना र अपुरो गीतको तीतो संयोगले बेलाबेला झस्काइरह्यो । सोच्न थालें– जिन्दगीको यो तीतो अनुभवसँग यथार्थ बनेर जोडिएको भावना पूरा गर्नेछु । काठमाडौं आएपछि पनि राजधानीलगायत देश–विदेशमा रहनुहुने आफन्त, शुभचिन्तकको भेटघाट, आर्थिक, भौतिक, नैतिक, भावनात्मक सबै किसिमको साथ सहयोगको ओइरो लागिरह्यो । नुनथलाभरि आर्थिक सहयोग संकलनको एउटा अभियान नै चल्यो । अघि–पछि यस्तो अभियान नचलेको नै त होइन तर मेरो कारणले व्यापक रूप लियो । थप एकतामा बल पुग्यो । यस्ता कुराले नि मलाई भावुक बनाइरह्यो । समाजप्रतिको मेरो जिम्मेवारी थप वृद्धि भएको अनुभूति भयो ।

हातले थोरै–थोरै कर पाउन थाल्यो । सुयोग भतिजको गितार मसँगै भएकाले अलि–अलि झाङझाङझुङझुङ गर्दै अपुरो गीत पूरा गर्नतर्पm लागें । हातका औंला लगभग जाम भएकाले औंलाको कसरत गरिरहन डाक्टरले सल्लाह दिएकाले हार्मोनियम औंलाको कसरतसँगै गीत गायनका लागि उचित हुने भएकाले साथीसँग अनुरोध गरें । तर, उपलब्ध हुन सकेन । अन्ततः गायक तथा संगीतकार राई नवीनमार्पmत राई किङ राजेशपायल राईले पहिले चलाउनुभएको हार्माेनियम भाइ विक्रमको मध्यस्थतामा प्राप्त गरी गीत पूरा गर्नुका साथै नियमित हात कसरतमा लागिरहें । गीतलाई शब्द लेखनसँगै संगीतबद्ध पनि गरी पुनः सामाजिक सञ्जाल फेसबुकमार्पmत २०७५ पुस १३ गते ४ महिनापछि सार्वजनिक गरें ।

भावनात्मक मेरो उक्त सिर्जना हेरेर मेरा शुभचिन्तकबाट राम्रो भएको प्रतिक्रिया पाएँ । त्यसपछि अब रेकर्डिङ गर्छु भन्ने सोच आउन थाल्यो । समय बित्दै गयो । क्रमिक रूपमा मेरो स्वास्थ्य सुधारिँदै थियो । जिन्दगीको ठक्करहले पछ्याउँदै पछार्दै गयो तर म खेप्दै, उठ्दै गएँ । दुर्घटनाको पीडा नसकिँदै फेरि २०७५ माघ ३ गते एपेन्डिसाइटिसले केएमसी अस्पताल, सिनामंगलको शय्यामा लडायो । फेरि पनि उपत्यकामा बसोवास गर्नुहुने आफन्तलाई हत्ते भयो । काठमाडौं उपचारमा व्यवस्थापनका साथै विभिन्न पक्षमा विक्रम, युवराज र निर्दोषको सहयोग नि अतुलनीय छ भने सबैको साथ सहयोगमा सफल उपचारपश्चात् ५ गते डिस्चार्ज भई कोठा फिरियो ।

 

हातको नियमित कसरत आवश्यकता थियो । यहीबीचमा हात कसरत पनि हुने र सीप पनि सिकिने उद्देश्यसाथ राष्ट्रिय नाचघर जमलमा बाँसुरीको कक्षा लिन थालें । बाँसुरी कक्षा चलेको दुई महिना बित्दै थियो । मेरो प्रिय मित्र शिवराजले फोनमार्पmत काभ्रेपलाञ्चोकस्थित सिर्जनशील जनता माविमा अंग्रेजी र सामाजिक विषय शिक्षकको माग गरिएको जानकारी गराउनुभयो । सल्लाह गरेर उक्त विद्यालय भ्रमणमा लाग्यौं । काठमाडौंबाट चार घण्टा लामो सुमो यात्रापश्चात् विद्यालय पुगियो । विद्यालयमा प्रधानाध्यापकलगायत स्टाफसँग भेटघाट र छलफल गरी दर्खास्तसम्बन्धी रित पूरा गरी उक्त दिन २०७५ वैशाख २९ गते त्यहीं बास बस्यौं । भोलिपल्ट बिहानै सुमो चढी काठमाडौ फर्केनेक्रममा बाहिर निस्केर भित्र पस्दा सुमोको झ्यालबाट चिप्लिएर पछारिँदा दायाँ पाटाको खकाले हाड भाँचियो । दाहिने फिला नमज्जाले ठोकियो । के भएको होला है मलाई ? आफैं अचम्म लाग्छ । आफन्तलाई अचम्म, पीडा, दिक्दारी सबै–सबै किन पटक–पटक पछारिरहेछ ? किन अवरोध गर्न खोजिरहेछ यात्रा र परिस्थितिहरूले……? यस्तै–यस्तै मनोप्रश्न गर्दै अनि त्यही सुमोमा गएर बी एन्ड बी अस्पताल ललितपुरमा पाँच दिनसम्म बसेर उपचार गरें ।

सफल उपचारपश्चात् फर्किएर सिर्जनशील जनता मावि चौरी देउराली गाउँपालिका–७, मादनकुँडारी काभ्रेपाञ्चोकमा म सामाजिक शिक्षक र मित्र शिवराज राई अंग्रेजी शिक्षकका रूपमा सँगै काम गरिरहेका छौं । विद्यालयमा काम गर्दाका छुट्टै मीठा अनुभव र सिकाइ भइरहेका छन् ।

लामो समय बितिसकेकाले म शारिरीक रूपमा पनि तन्दुरुस्त भइसकेको छु । विश्वव्यापी महामारीका रूपमा पैmलिएको कोरोना भाइरसका कारण २०७६ चैतदेखि ०७७ साउन १० गतेसम्म घर बसाइ भयो । त्यसबीचमा पनि केही सिर्जना गर्नेक्रम जारी रह्यो । त्यहीबीचमा बीएड प्रथम वर्षको परीक्षा दिनु जाँदा धनकुटा बहुमुखी क्याम्पस धनकुटामा पहिलो चिनजानको मेरा अनन्य मित्र, चर्चित युवा गायक, संगीतकार, संगीत संयोजक तथा किङ स्टुडियोका मालिक मनोज साङ्सोन राईसँग गीत–संगीतबारे लामो कुराकानीपश्चात् उहाँलाई मेरो उक्त गीत सुझावका लागि पठाएँ । मनोज सर सबै कामको अनुभवी, मेहनती साथै सहयोगी भएकाले उहाँको सल्लाहपश्चात् रेकर्डिङमा सहकार्य गर्ने सहमतिसाथ रेकर्डिङको अन्तिम तयारीमा जुटुन थालें । संगीत संयोजनका लागि गाउँबाटै अहिलेका चर्चित संगीत संयोजक राजु कार्कीलाई डमी गीत पठाएँ ।

चर्चित गायक कृष्णभक्त राईको गायकीको म फ्यान भएका कारण मेरो गीतमा पनि उहाँकै स्वर साह्रै स्वादले खुल्ने भएकाले रेकर्ड गर्नेगरी तयारीसाथ म गाउँबाट २०७७ साउन ११ गते काठमाडौं छिरें । कोरोनाका कारण चार महिना अवधिभरि गाउँ बस्दा सिर्जना गरेका मेरा पाँच रचना र संगीत तथा संगीतसहित उक्त गीतलगायतका गीतमा १२ गते अनामनगरस्थित स्टुडियो किङ पुगेर डमी भोकल हालें ।
साउनको १५ गतेसम्म विद्यालयमा अनिवार्य हाजिर हुन पुग्ने सरकारको उर्दी भएकाले स्कुलतर्फ लागें । कोरोना महामारीका कारण कक्षा सञ्चालन हुन सक्ने अवस्था त थिएन नै तर काठमाडौंमा बढ्दो संक्रमणका कारण फाइनल रेकर्डिङका लागि पुनः काठमाडौं फिर्न सकिनँ । केही समय कुरियो । तर, अवस्थामा सुधार हुने छाँट नदेखिएकाले अन्ततः मेरो उपस्थितिविनै मनोज सरको पूर्ण जिम्मेवारीमा मेरो जिन्दगीको तीतो यथार्थको संग्रहजस्तै बनेको गीत २०७७ भदौ ३ गते सुमधुर आवाजका धनी आदरणीय दाजु कृष्णभक्त राईको स्वरमा सटुडियो किङमा रेकर्ड भयो ।

लगभग दुई वर्षअगाडि सुरुवात गरेको मेरो गीति सिर्जनापछिको जिन्दगीको खेपाइ, भोगाइ पनि गीतिभावनाजस्तै बन्दै जानु नै दुःखद संयोगका रूपमा आत्मसात् गर्दै ती ठक्करलाई सामान्य रूपमा लिँदै जिन्दगीका ती परिस्थितिसँग कति पनि विचलित नभई अगाडि बढि रहेको छु । बढिरहनेछु ।

अन्त्यमा, राजु कार्की, संगीत संयोजक, कृष्णभक्त राई, गायक, मनोज साङ्सोन राई र सुरेश राई, रेकर्डिस्ट, जस्केलो क्रियसन, भिडियो निर्माण र स्टुडियो किङ, युट्युब च्यानलप्रति हार्दिक आभार प्रकट गर्दै स्टुडियो भिडियोमार्फत औपचारिक रूपमा मेरो जिन्दगीको ‘जिन्दगी’ गीत हजुरहरूमाझ सुम्पेको छु । सुनिदिनु होला । र, मेरो भोगाइसँग हजुरहरूको जिन्दगीको भोगाइ कहिल्यै पनि संयोग नबनोस् ।

एकपटक हेर्नैपर्ने ‘जिन्दगी’ शीर्षाकृत गीतको म्युजिक भिडियो

प्रतिक्रिया दिनुहोस्